
काठमाडौं । नेपाल बिमा प्राधिकरणले एक पुनर्बिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) र सात कम्पनीलाई कारबाही गरेको छ ।
प्राधिकरणले बिमा ऐनमा भएको विभिन्न व्यवस्था पालना नगरेको भन्दै एशियन लाइफ इन्स्योरेन्स, हिमालयन लाइफ, दि ओरियन्टल इन्स्योरेन्स, हिमालयन रि–इन्स्योरेन्स, एलियन्ट इन्स्योरेन्स ब्रोकर्स, नेको इन्स्योरेन्स र नेपाल लाइफ इन्स्योरेन्सलाई कारबाही गरेको हो ।
यस्तै, प्राधिकरणले नेपाल पुनर्बिमा कम्पनीका सीईओ सुरेन्द्र थापालाई पनि कारबाही गरेको छ । प्राधिकरणले ऐनमा भएको व्यवस्था बमोजिम लाइसेन्स निलम्बनदेखि दुई लाखसम्मको जरिवाना र सचेतना/चेतावनीसम्मको कारबाही गरेको छ ।
अध्यक्षमा चन्द्रकला पौडेल आएपछि प्राधिकरणले यहि चैत ३ गते निर्णय गरेर उल्लेखित कम्पनीहरुलाई कारबाही गरेको हो ।
एशियन लाइफ इन्स्योरेन्स
कानून मिचेर स्वार्थ बाझिनेगरी सिटी होटल (ह्यात सेन्ट्रिक) को सेयर खरिद गर्ने एशियन लाइफको निर्णयलाई नियामक नेपाल बिमा प्राधिकरणले २ लाख रुपैयाँ जरिवाना गरेको छ । बिमा प्राधिकरणले बिमा ऐन, २०७९ को दफा ६७ मा साझेदारीमा व्यवसाय गर्न वा सम्पत्ति जोड्न नहुने व्यवस्थालाई उल्लघंन गर्ने निर्णय गरेको भन्दै दुई लाख रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको हो ।
बिमा ऐन, २०७९ को दफा ६७ मा ‘साझेदारीमा व्यवसाय गर्न वा सम्पत्ति जोड्न नहुनेः (१) बीमकले आफ्नो सञ्चालक, सञ्चालकको एकाघरको परिवार, आधारभूत सेयरधनी, वित्तीय स्वार्थ भएको व्यक्ति, बीमक वा त्यसको सञ्चालक मेनेजिङ एजेण्ट भएको वा हिस्सेदार भएको कुनै पनि फर्म, कम्पनी वा संस्था वा कार्यकारी प्रमुखसँग साझेदारीमा कुनै व्यवसाय गर्न वा सम्पत्ति जोड्न हुँदैन,’ भन्ने व्यवस्था छ ।

यसका अलावा, यो ऐन प्रारम्भ हुनु अघि बिमकले आफ्नो सञ्चालक, सञ्चालकको एकाघरको परिवार, आधारभूत सेयरधनी, वित्तीय स्वार्थ भएको व्यक्ति, बिमक वा त्यसको सञ्चालक मेनेजिङ एजेण्ट भएको वा हिस्सेदार भएको कुनै पनि फर्म, कम्पनी वा संस्था वा कार्यकारी प्रमुखसँग साझेदारीमा कुनै व्यवसाय गरेको वा कुनै सम्पत्ति जोडेको रहेछ भने यो ऐन प्रारम्भ भएको छ महिनाभित्र त्यस्तो व्यवसाय वा सम्पत्तिबाट आफ्नो व्यवसाय वा सम्पत्ति अलग गर्नु पर्नेछ,’ समेत लेखिएको छ ।
यस व्यवस्था विपरीत एशियन लाइफले भने यस व्यवस्थाबिपरीत सिटी होटलको सेयर किन्ने निर्णय गर्दै बोलकबोल गरी निर्णय गरेको थियो । यहि विषयमा प्राधिकरणले बिमा ऐन २०७९ को दफा १३८ को उपदफा ४ को खण्ड ‘क’मा भएको व्यवस्थाबमोजिम एशियन लाइफलाई कारबाही गरेको हो ।

जसमा ‘ऐन वा यस ऐन अन्तर्गत बनेको नियम, विनियम वा निर्देशन वा आदेश विपरीत बीमकले कुनै कार्य गरेमा वा प्राधिकरणले जारी गरेको निर्देशन वा आदेश पालना नगरेमा वा यस ऐन बमोजिमको रित नपु–याई बीमा व्यवसाय गरेमा वा झुट्टा विवरण तयार गरेमा प्राधिकरणले पहिलो पटकको लागि दुई लाख रूपैयाँ जरिवाना गर्नसक्ने व्यवस्था छ ।’
हिमालयन लाइफ इन्स्योरेन्स
बिमा प्राधिकरणले हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीलाई पनि कारबाही गरेको छ । प्राधिकरणले बिमा ऐन २०७९ को दफा ५७ को उपदफा ८ को कानुनी व्यवस्था पालना नगरेको भन्दै कारबाही गरेको हो । जसमा ‘कार्यकारी प्रमुखको पारिश्रमिक सेवाका अन्य शर्त तथा सुविधाहरू प्राधिकरणले समय समयमा जारी गरेको निर्देशनको अधीनमा रही सञ्चालक समितिले निर्धारण गरे बमोजिम हुनेछ र निजलाई नियुक्ति गर्दाका बखत नै निजको सेवाको शर्त तथा सुविधा निर्धारण गर्नु पर्नेछ,’ भन्ने व्यवस्था छ ।

यसका साथै, प्राधिकरणले बिमकको कार्यकारी प्रमुखको तलब, भत्ता तथा अन्य सुविधा सम्बन्धी मार्गदर्शन, २०७४ को उपदफा ३(१), ३(२), दफा ७(२)को व्यवस्था पालना नगरेको भन्दै कारबाही गरेको हो ।
प्राधिकरणले बिमा ऐन, २०७९ को दफा १३४ को उपदाफ १ को खण्ड (क) बमोजिम कारबाही गरेको छ । जसमा, ‘कुनै बिमकले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम, विनियम वा निर्देशन वा आदेश उल्लङ्घन गरेको पाइएमा वा प्राधिकरणमा गलत विवरण वा तथ्याङ्क पेश गरेको देखिएमा त्यस्तो बिमक वा निजको कुनै सञ्चालक, पदाधिकारी, कार्यकारी प्रमुख वा कर्मचारी वा बीमा मध्यस्थकर्ता वा अन्य बीमा सेवा प्रदायकलाई प्राधिकरणले देहाय बमोजिमको कारबाही गर्न सक्नेछ,’ भन्ने छ । यसको खण्ड (क) लिखित रुपमा सचेत गराउने वा चेतावनी दिने प्रावधान छ ।
यसका अतिरिक्त प्राधिकरणले बिमा ऐन २०७९ को दफा १३८ को उपदफा ४ को खण्ड ‘क’मा भएको व्यवस्थाबमोजिम पनि हिमालयन लाइफलाई कारबाही गरेको हो । जसमा ‘ऐन वा यस ऐन अन्तर्गत बनेको नियम, विनियम वा निर्देशन वा आदेश विपरीत बीमकले कुनै कार्य गरेमा वा प्राधिकरणले जारी गरेको निर्देशन वा आदेश पालना नगरेमा वा यस ऐन बमोजिमको रित नपु–याई बीमा व्यवसाय गरेमा वा झुट्टा विवरण तयार गरेमा प्राधिकरणले पहिलो पटकको लागि दुई लाख रूपैयाँ जरिवाना गर्नसक्ने व्यवस्था छ ।’
हिल्टनको पुनर्बिमा विवादमा तीन कम्पनी र एक सीईओमाथि कारबारी
नेपाल बिमा प्राधिकरणले हिल्टन होटलको पुनर्बिमाका विषयमा कानुन विपरीत काम गरेको भन्दै एक पुनर्बिमा कम्पनीका सीईओसहित तीन कम्पनीलाई कारबाही गरेको छ । प्राधिकरणले नेपाल रिका सीईओसहित हिमालयन रि–इन्स्योरेन्स कम्पनी, ओरियण्टल इन्स्योरेन्स कम्पनी र एलियण्ट इन्स्योरेन्स ब्रोकर्स प्रालि (पुनर्बिमा दलाल)लाई कानुन विपरीत काम गरेको भन्दै कारबाही गरेको हो ।
प्राधिकरणले नेपाल पुनर्बिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई बिमा ऐन, २०७९ को बमोजिम कारबाही गरेको छ । यस्तै, हिमालयन रि र ओरियन्टल इन्स्योरेन्सलाई दुई–दुई लाख रुपैयाँ जरिवाना भएको छ भने एलियण्ट पुनर्बिमा ब्रोकरको लाइसेन्स तीन महिना निलम्बन गर्ने निर्णय भएको छ ।

प्राधिकरणले २०८० असार २९ गते नेपाल बिमा प्राधिकरणले पठाएको पत्रबाट जारी गरिएको निर्देशनको पालना नभएको भन्दै कारबाही गरेको हो ।
नेको इन्स्योरेन्स
बिमा प्राधिकरणले नेको इन्स्योरेन्स कम्पनीलाई पनि बिमा ऐन २०७९ को दफा ६३ को खण्ड ४ तथा दफा ६९ को उपदफा १ को ‘ङ’ मा भएको व्यवस्था पालना नगरेको भन्दै कारबाही गरेको हो । यसमा ‘जुनसुकै कुरा लेखिएको भए तापनि बिमालेख जारी भएपछि कुनै बिमितले बदनियतपूर्वक जोखिम सम्बन्धी सारभूत तथ्य लुकाएको वा झुट्टा विवरण दिएको पुष्टि भएमा बीमकले त्यस्तो विवरण सच्याउन बिमितलाई जहिलेसुकै निर्देशन दिन वा बीमितले प्राप्त गर्ने कुनै सुविधा रोक्न सक्नेछ,’ भन्ने छ ।
यस्तै, प्राधिकरणले बिमा ऐन २०७९ को दफा ६९ को उपदफा १ को खण्ड ‘ङ’ को व्यवस्था पालना नगरेको भन्दै पनि कारबाही गरेको छ । यसमा प्राधिकरणले स्वीकृत गरेको बिमालेख बाहेक अन्य कुनै पनि प्रकारको बिमालेख जारी गर्न नहुने भन्ने व्यवस्था छ । उक्त व्यवस्था विपरीत काम गरेको भन्दै नेको इन्स्योरेन्सलाई प्राधिकरणले कारबाही गरेको हो ।
प्राधिकरणले बिमा ऐन २०७९ को दफा १३८ उपदफा ४ को खण्ड ‘क’ र सोही ऐनको दफा १३५ बमोजिम कारबाही गरेको हो । १३८ उपदफा ४ को खण्ड ‘क’ मा ‘ऐन वा यस ऐन अन्तर्गत बनेको नियम, विनियम वा निर्देशन वा आदेश विपरीत बीमकले कुनै कार्य गरेमा वा प्राधिकरणले जारी गरेको निर्देशन वा आदेश पालना नगरेमा वा यस ऐन बमोजिमको रित नपु–याई बीमा व्यवसाय गरेमा वा झुट्टा विवरण तयार गरेमा प्राधिकरणले पहिलो पटकको लागि दुई लाख रूपैयाँ जरिवाना गर्नसक्ने व्यवस्था छ ।’

यस्तै, दफा १३५ बिमा भुक्तानी रोक्का राख्न वा खारेजी गर्न निर्देशन दिन सक्ने प्रावधान छ । यसमा ‘यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि प्राधिकरणले कसैलाई बिमालेख प्रदान नगर्न वा बिमालेख बमोजिम भुक्तानी दिनु पर्ने रकम रोक्का राख वा बिमालेख खारेजी गर्न निर्देशन दिन सक्नेछ,’ भन्ने व्यवस्था छ ।
नेपाल लाइफ इन्स्योरेन्स
बिमा प्राधिकरणले नेपाल लाइफ इन्स्योरेन्सलाई पनि बिमा ऐन २०७९ को दफा १४८ को व्यवस्था पालना नगरेको भन्दै कारबाही गरेको छ । यसमा विवरण माग्ने व्यवस्था छ ।
जसको उपदफा (१) मा ‘यस ऐन बमोजिम नियमन वा कारबाहीको सम्बन्धमा गरिने अनुसन्धान वा जाँचबुझको क्रममा प्राधिकरण वा अनुसन्धान वा जाँचबुझ गर्ने निकायलाई कुनै लिखत, खाताको विवरण, कागजात वा अन्य विवरण प्राप्त गर्न अनुसन्धान वा जाँचबुझ गर्न आवश्यक छ भन्ने लागेमा र त्यस्तो लिखत, खाताको विवरण वा अन्य विवरण कुनै व्यक्ति वा संस्थासँग छ वा सो व्यक्ति वा संस्थाले त्यस्तो विवरण कागजात पेश गर्न सक्छ भन्ने लागेमा प्राधिकरण वा अनुसन्धान वा जाँचबुझ गर्ने निकायले त्यस्तो व्यक्ति वा संस्थालाई त्यस्तो विवरण कागजात पेश गर्न अनुरोध गर्न सक्नेछ,’ भन्ने व्यवस्था छ ।
यस्तै, २ को उपदफा (१) बमोजिम अनुसन्धान वा जाँचबुझ गर्ने निकायले माग गरेको लिखत, खाताको विवरण वा अन्य विवरण उपलब्ध गराउनु वा सहयोग पु–याउनु सम्बन्धित सबै व्यक्ति वा संस्थाको कर्तव्य हुनेछ,’ भन्ने प्रावधान छ । सोही व्यवस्था पालना नगरेको भन्दै प्राधिकरणले नेपाल लाइफलाई कारबाही गरेको हो ।

प्राधिकरणले उक्त नियम पालना नगरेको भन्दै बिमा ऐन २०७९ को दफा १३८ को उपदफा ४ को खण्ड ‘क’ बमोजिम कारबाही गरेको छ ।
जसमा ‘ऐन वा यस ऐन अन्तर्गत बनेको नियम, विनियम वा निर्देशन वा आदेश विपरीत बीमकले कुनै कार्य गरेमा वा प्राधिकरणले जारी गरेको निर्देशन वा आदेश पालना नगरेमा वा यस ऐन बमोजिमको रित नपु–याई बीमा व्यवसाय गरेमा वा झुट्टा विवरण तयार गरेमा प्राधिकरणले पहिलो पटकको लागि दुई लाख रूपैयाँ जरिवाना गर्नसक्ने व्यवस्था छ ।’










प्रतिक्रिया