
एजेन्सी । सन् २०२६ को सुरुवाती सातामा भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोको नाटकीय पक्राउले झन्डै सात दशकअघि सुरु भएको ऐतिहासिक चक्रको हिंसात्मक अन्त्यलाई संकेत गरेको छ ।
भेनेजुएलाले त्यतिखेर आर्थिक विविधीकरणको साटो तेलबाट प्राप्त राजस्वलाई रोजेको थियो । ती ६८ वर्षहरूमा जे भयो त्यो कुनै अचानक भएको पतन थिएन ।
प्राकृतिक स्रोतहरूको उपलब्धता मात्रले सुशासनको विकल्प दिन सक्छ भन्ने घातक विश्वासद्वारा भेनेजुएलाको शासन सञ्चालित थियो । मदुरो युगको अन्त्य गर्ने अमेरिकी हस्तक्षेप भूराजनीतिक धक्का मात्र थिएन । यो भेनेजुएलाको लामो त्रासदीको अन्तिम दृश्य थियो ।
भेनेजुएलाको आधुनिक राजनीतिक इतिहास आशाका साथ सुरु भएको थियो । सन् १९५८ मा सैन्य तानाशाह मार्कोस पेरेज हिमेनेजको पतनपछि देशका प्रमुख राजनीतिक दलहरूले पुन्तोफिहो सम्झौतामा हस्ताक्षर गरेका थिए । सत्ता साझेदारी र चुनावी परिणामहरूको सम्मानमार्फत लोकतान्त्रिक स्थिरता सुनिश्चित गर्न त्यसलाई डिजाइन गरिएको थियो ।
त्यसपछिका चार दशकसम्म भेनेजुएला कू र अधिनायकवादले ग्रस्त क्षेत्रमा एक अपवादको रूपमा उभियो । तेलको आम्दानी ओइरियो । त्यसले व्यापक सार्वजनिक सेवाहरूमा लगानीको अवसर दियो । भेनेजुएलाको उच्चस्तरीय जीवनशैलीका कारण त्यसले दक्षिण अमेरिकाको स्विट्जरल्यान्ड उपनाम पायो ।
काराकासमा उच्च तलब, बलियो मुद्रा र युरोपसम्म कन्कर्ड विमानका उडानहरू उपलब्ध थिए । सन् १९७० को दशकको अन्त्यसम्ममा भेनेजुएलाको प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन दक्षिण अमेरिकामा सबैभन्दा बढी थियो र यसको मध्यमवर्ग दक्षिणी युरोपका देशहरूसँग प्रतिस्पर्धा गर्ने स्तरको थियो ।
तर, यस समृद्धिको भित्र एउटा गम्भीर त्रुटि लुकेको थियो । अर्थतन्त्र पूर्ण रूपमा तेलमा निर्भर थियो । तेलले निर्यात आम्दानीको झन्डै ९० प्रतिशत हिस्सा ओगटेको थियो । उत्पादनमा विविधीकरण गर्ने, संस्थाहरूलाई बलियो बनाउने वा विश्वव्यापी ऊर्जा बजारमा हुने उतारचढावका लागि तयारी गर्ने प्रयासहरू खासै गरिएन ।
सन् १९८० को दशकको आरम्भमा तेलको मूल्य घटेपछि अनन्त धनको भ्रम चकनाचुर भयो । देश गुमेको दशक (लस्ट डिकेड) मा प्रवेश गर्यो । बढ्दो ऋण, घट्दो आम्दानी र बढ्दो सामाजिक निराशा त्यस दशकका पहिचान थिए ।
यसको उत्कर्ष सन् १९८९ मा आयो । वित्तीय संकटको सामना गरिरहेका राष्ट्रपति कार्लोस एन्ड्रेस पेरेजले इन्धनको मूल्य र सार्वजनिक यातायातको भाडामा भारी वृद्धिसहितका मितव्ययिताका उपायहरू लागू गरे । यसको प्रतिक्रिया विस्फोटक भयो ।
काराकाजोको नामले चिनिने उक्त घटनामा काराकास वरपरका पहाडहरूबाट हजारौं गरिब बासिन्दाहरू तल झरे, पसलहरू लुटे र सुरक्षा बलहरूसँग झडप गरे । सेना परिचालन गरियो र त्यसले नागरिकहरूमाथि गोली चलायो । मृतकको संख्या सयौंदेखि हजारौंसम्म भएको अनुमान गरिएको छ । तत्कालीन हिंसाभन्दा बढी काराकाजोले भेनेजुएलाको लोकतन्त्रलाई टिकाएको सामाजिक सम्झौतालाई नै ध्वस्त पारिदियो । समृद्धि र स्थिरता समाजभर साझा हुनेछ भन्ने प्रतिज्ञा अब बाँकी रहेन ।
यही मोहभंगबाट ह्युगो चाभेज नामक अनपेक्षित पात्रको उदय भयो । सन् १९९२ मा असफल कू प्रयासको नेतृत्व गर्ने उनी लेफ्टिनेन्ट कर्नेल थिए । त्यो विद्रोह असफल भएपछि चाभेजलाई राष्ट्रिय टेलिभिजनमा केही समय दिइयो । त्यसक्रममा उनले अहिले प्रसिद्ध भएको वाक्यांश बोले, ‘पोर अहोरा’ अर्थात् अहिलेका लागि हामी असफल भएका छौं ।
त्यो वाक्यांशले राजनीतिक सम्भ्रान्त वर्गबाट धोका पाएको अनुभव गरिरहेको जनताको मनमा गहिरो प्रभाव पार्यो । सन् १९९८ मा चाभेजले राष्ट्रपतिको चुनाव लड्दासम्म परम्परागत दलहरू व्यापक रूपमा घृणित भइसकेका थिए । ‘फोहर सफा गर्न’ दृढ संकल्प बोकेका बाहिरी व्यक्तिको रूपमा प्रचार गर्दै उनले भारी बहुमतका साथ विजय हासिल गरे ।
तेलको आम्दानी बढिरहँदा संरचनात्मक क्षति ओझेलमा परेको थियो । तर, अर्थतन्त्रको जग कमजोर हुँदै गइरहेको थियो
चाभेजले देशलाई नयाँ स्वरूप दिन छिटो कदम चाले । सन् १९९९ मा नयाँ संविधान अपनाइयो । त्यसले राष्ट्रपतिको अधिकार बढायो र भेनेजुएलालाई ‘बोलिभेरियन रिपब्लिक’ को रूपमा पुनः परिभाषित गर्यो । उनको समय एकदम सही देखिन्थ्यो ।
विश्वव्यापी वस्तुको मूल्यमा आएको उछालले तेलको मूल्य प्रतिब्यारल करिब १० डलरबाट १०० डलरभन्दा माथि पुर्यायो ।
नगदप्रवाह बढेपछि चाभेजले मिसियोनेस भनिने व्यापक सामाजिक सुरक्षा कार्यक्रमहरू सुरु गरे । त्यसले स्वास्थ्य सेवामा पहुँच सुधार गर्यो, साक्षरता बढायो र गरिबी घटायो । लाखौं भेनेजुएलालीहरूका लागि क्रान्तिले ठोस उपलब्धिहरू दियो ।
यद्यपि, यस मोडेलको मूल्य चाँडै स्पष्ट भयो । सन् २००३ मा राज्यको स्वामित्वमा रहेको तेल कम्पनी पीडीभीएसएमा भएको हडतालपछि चाभेजले करिब १९ हजार अनुभवी इन्जिनियर र प्रबन्धकहरूलाई बर्खास्त गरे र उनीहरूको ठाउँमा आफ्ना बफादारहरूलाई राखे । प्राविधिक क्षमताले राजनीतिक बफादारीको अगाडि घुँडा टेक्यो ।
तेलको आम्दानी बढिरहँदा संरचनात्मक क्षति ओझेलमा परेको थियो । तर, अर्थतन्त्रको जग कमजोर हुँदै गइरहेको थियो ।
सन् २००० को दशकको मध्यदेखि चाभेज अझ कट्टर बने । उनले खेतबारी, स्टिल प्लान्ट र रिटेल चेनहरूलाई राष्ट्रियकरण गरे । त्यसले निजी लगानीलाई देशबाहिर धकेल्यो । घरेलु खाद्य उत्पादन ध्वस्त भयो र भेनेजुएला तेलको पैसाले किनिएका आयातित सामानहरूमा बढ्दो रूपमा निर्भर हुन थाल्यो ।
अन्तर्राष्ट्रिय स्तरमा चाभेजले क्युबा, बोलिभिया र निकारागुआसँग गठबन्धन बनाउन ऊर्जा कूटनीतिको प्रयोग गरे । त्यससँगै आफूलाई अमेरिकाको कट्टर विरोधीको रूपमा उनले उभ्याए । सन् २००६ मा संयुक्त राष्ट्रसंघमा उनले भाषणका क्रममा अमेरिकाका राष्ट्रपति जर्ज डब्ल्यू बुशलाई शैतान भनेर सम्बोधन गरेका थिए । अमेरिकासँग उनले टकरावपूर्ण अडान लिँदै गए ।
सन् २०१३ मा क्यान्सरका कारण चाभेजको मृत्यु भयो । गहिरो रूपमा ध्रुवीकृत राष्ट्र र तेलको उच्च मूल्यमा खतरनाक रूपमा निर्भर अर्थतन्त्र उनले छोडेर गए । उनका चुनिएका उत्तराधिकारी निकोलस मदुरोले विवादित निर्वाचनमा झिनो मतले जीत हासिल गरे ।
लगत्तै भेनेजुएलाको भाग्यले साथ छोड्यो । विश्वव्यापी तेलको मूल्य प्रतिब्यारल १०० डलरबाट घटेर करिब ३० डलरमा पुग्यो । चाभेजको मोडललाई टिकाएको आम्दानी गायब भयो । तर, ऋण र विकृत अर्थतन्त्र कायमै रह्यो ।
घट्दो आम्दानी र बढ्दो सामाजिक सुरक्षा दायित्वहरूको सामना गर्ने क्रममा मदुरोले खर्च कटौती गर्नुको सट्टा पैसा छाप्ने विकल्प रोजे । यसको परिणाम ऐतिहासिक स्तरको चरम मुद्रास्फीति आयो । प्रत्येक केही सातामा मूल्यहरू दोब्बर हुन थाले । बोलिभर मुद्रा वस्तुतः मूल्यहीन बन्यो र सामान्य आर्थिक गतिविधि ठप्प भयो ।
सन् २०१६ सम्ममा व्यापक खाद्य अभावले गर्दा भेनेजुएलालीहरूले यसलाई मदुरो डाइटको संज्ञा दिए किनकि औसत नागरिकले क्यालोरीको अभावमा उल्लेखनीय रूपमा तौल घटाएका थिए । नगदको साटो वस्तु विनिमय सुरु भयो र आधारभूत औषधिहरू दुर्लभ हुन पुगे ।
जीवनस्तर बिग्रँदै जाँदा मादुरोले सत्तामा आफ्नो पकड थप कठोर बनाए । सन् २०१५ मा भएको आमनिर्वाचनमा विपक्षीहरूले बहुमत ल्याएपछि उनले समानान्तर संविधानसभा बनाएर व्यवस्थापिकालाई प्रभावहीन बनाइदिए । सन् २०१७ मा व्यापक विरोध प्रदर्शनहरू भए जसलाई घातक बल प्रयोग गरेर दबाइयो र सयभन्दा बढी मानिसको मृत्यु भयो ।
त्यसपछि अमेरिकाले भेनेजुएलामाथि वित्तीय प्रतिबन्धहरू लगायो । त्यसले मदुरो शासनलाई थप एक्लो बनायो र ऋण पुनःसंरचनालाई लगभग असम्भव बनायो ।
सन् २०१८ र २०२३ को बीचमा भेनेजुएलाले आधुनिक इतिहासकै सबैभन्दा ठूलो शान्तिकालीन आर्थिक पतनको अनुभव गर्यो । त्यसक्रममा कुल गार्हस्थ्य उत्पादन ८० प्रतिशतले खुम्चिएको अनुमान गरिएको छ । ७७ लाखभन्दा बढी भेनेजुएलालीहरू देश छोडेर भागे जसमध्ये धेरैजसो एन्डिज पर्वतमाला पार गर्दै कोलम्बिया, पेरु र चिली पुगे ।
मदुरोले अवैध सुन खानी, तस्करी सञ्जाल र लागूऔषध तस्करीमा भर परेर सम्भ्रान्त वर्गको वफादारी कायम राख्दै अपराधीकरण गरिएको राज्य चलाएर आफ्नो अस्तित्व जोगाए ।
सन् २०२५ सम्म आइपुग्दा वाशिङटनले मदुरोलाई रोक्ने प्रयास असफल भएको निष्कर्ष निकाल्यो । भेनेजुएलाबाट हुने बसाइँसराइले अमेरिकी सीमामा दबाब दिइरहेको थियो र गुप्तचर रिपोर्टहरूले देशमा रुसी र इरानी पात्रहरूको गतिविधि बढेको देखाएका थिए
सन् २०१९ मा विपक्षी नेता खुआन गुआइदोले आफूलाई अन्तरिम राष्ट्रपति घोषणा गरे र दर्जनौं देशहरूबाट मान्यता पाए । अमेरिकाले भेनेजुएलाको तेल निर्यातमा अधिकतम दबाब दिने गरी प्रतिबन्धहरू लगायो । तैपनि यो प्रयास असफल भयो । भ्रष्टाचारले धनी भएको र भविष्यमा कारबाही हुने डरमा रहेको सैन्य नेतृत्व मदुरोप्रति वफादार रह्यो । विद्रोह असफल भयो र शासन टिकिरह्यो ।
अन्तिम विघटन सन् २०२४ को चुनावबाट सुरु भयो । विपक्षीहरू एकजुट भए र निर्णायक विजय हासिल गरे । मदुरोले मतगणना रोकेर आफूलाई विजयी घोषणा गरे र दमनको लहर चलाउन थाले । हजारौंजनालाई पक्राउ गरियो । अन्तर्राष्ट्रिय समुदायले यस नतिजालाई मान्यता दिन अस्वीकार गर्यो । मदुरो थप एक्लिँदै गए ।
सन् २०२५ सम्म आइपुग्दा वाशिङटनले मदुरोलाई रोक्ने प्रयास असफल भएको निष्कर्ष निकाल्यो । भेनेजुएलाबाट हुने बसाइँसराइले अमेरिकी सीमामा दबाब दिइरहेको थियो र गुप्तचर रिपोर्टहरूले देशमा रुसी र इरानी पात्रहरूको गतिविधि बढेको देखाएका थिए । त्यसपछि मदुरोविरुद्ध नयाँ अभियोगहरू दर्ता गरिए, उनीमाथिको पुरस्कारको रकम बढाइयो र लागूऔषध विरोधी बहानामा क्यारिबियाली क्षेत्रमा अमेरिकी जलसैनिकहरू तैनाथ गरिए ।
३ जनवरी २०२६ मा भेनेजुएलाको संकटको लामो सिलसिला चरमोत्कर्षमा पुग्यो । देशको कमजोर हवाई प्रतिरक्षा प्रणालीको फाइदा उठाउँदै अमेरिकी सेनाले द्रुत कारबाही चलायो । मदुरोलाई पक्राउ गरी बाहिर निकालियो । त्यसले चाभिस्ता युगको अन्त्य जनविद्रोहबाट नभई एक रणनीतिक सैन्य कारबाहीबाट गराइदियो ।
मदुरोको पतनले एउटा अध्याय बन्द गरेको छ । तर, यसले भेनेजुएलाको गहिरो घाउहरूलाई निको पार्दैन ।
भेनेजुएलाको आधुनिक इतिहासको मुख्य पाठ स्पष्ट छः स्रोतसाधनको धनले संस्थाहरूको ठाउँ लिन सक्दैन । तेलले समृद्धि, क्रान्ति र दमनका लागि खर्च जुटायो तर शासन प्रणाली, जवाफदेहिता र आर्थिक सन्तुलनको क्रमिक क्षयीकरणलाई क्षतिपूर्ति दिन सकेन ।








प्रतिक्रिया