
काठमाडौं । अमेरिकाले शनिबार (३ जनवरी) भेनेजुएलामा आक्रमण गरी त्यहाँका राष्ट्रपति निकोलस मदुरो र उनकी पत्नीलाई पक्राउ गरी न्युयोर्क लगेको छ । न्युयोर्कमा मदुरोका विरुद्ध लागूऔषध र हातहतियार तस्करीको मुद्दा चलाइनेछ ।
लामो समयदेखि अमेरिकाको ट्रम्प प्रशासनले भेनेजुएलामाथि दबाब बढाइरहेको थियो । भेनेजुएलाले अमेरिकातर्फ खतरनाक लागूऔषधहरू आपूर्ति गरिरहेको र मदुरो स्वयं पनि कार्तेल दे लोस सोल्स नामक तस्करहरूको संगठनको नाइके भएको आरोप अमेरिकीहरूले लगाउँदै आएका थिए । त्यसैलाई रोक्नका लागि भन्दै अमेरिकी सेनाले भेनेजुएलाको तटनजिक क्यारिबियाली सागरमा लागूऔषध तस्करहरूको डुंगामा एक दर्जनभन्दा बढीपटक आक्रमण गरेको थियो ।
तर, लागूऔषध तस्करी त अमेरिकाको बहाना मात्र साबित भएको छ । वास्तवमा भेनेजुएलामा रहेको ३०३ अर्ब ब्यारल कच्चा तेल (जुन विश्वको कुल तेल भण्डारको १७ प्रतिशत हुन आउँछ) माथिको नियन्त्रण नै अमेरिकाको खास अभीष्ट हो । त्यो कुरा अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले समेत स्वीकार गरेका छन् । मदुरोलाई अमेरिकी सेनाले नियन्त्रणमा लिएपश्चात् आयोजना गरेको पत्रकार सम्मेलनमा ट्रम्पले भेनेजुएलाको विशाल तेल भण्डारको दोहन गरेर प्रशोधित तेल विभिन्न मुलुकहरूलाई बिक्री गरिने उद्घोष गरेका छन् ।
आफूसँग नै विशाल तेल भण्डार भएर बिक्री पनि गरिरहेको अमेरिकालाई अर्को देशको तेल किन आवश्यक परेको हो ? पहिलो कुरा त, भेनेजुएलाको कच्चा तेल भारी र अमिलो किसिमको छ । त्यसलाई प्रशोधन गरेर पेट्रोलियम पदार्थ बनाउनका लागि विशिष्ट प्रशोधन केन्द्रहरू आवश्यक पर्छन् । त्यस्ता केन्द्र अमेरिकामा छन् । अमेरिकामा भएको तेल चाहिँ हलुका र मीठो खालको छ । भेनेजुएलाको तेलमा नियन्त्रण कायम गर्दा अमेरिकी प्रशोधकहरूलाई लाभ हुन्छ ।
ओपेक मुलुकहरू र रुसले तेल बजारमा कायम गरेको आधिपत्यलाई तोड्ने ट्रम्प प्रशासनको मनसुबा देखिन्छ । पश्चिममा हुने तेल आपूर्तिको उद्गम केन्द्रलाई पश्चिमी गोलार्ध (दक्षिण अमेरिका) मा ल्याउने र ऊर्जा सार्वभौमसत्ता कायम गर्ने अमेरिकाको अभीष्ट हो
कोभिड–१९ को समयमा र पूर्ववर्ती बाइडन प्रशासनले लगाएको प्रतिबन्धका कारण भेनेजुएलाको तेल विश्व बजारमा पुग्न सकेको थिएन । त्यसले गर्दा तेल निर्यातक राष्ट्रहरूको संगठन ओपेकमाथि विश्वको निर्भरता व्यापक बढ्न पुगेको थियो । ओपेक प्लसमा जोडिएको रुसलाई यसबाट फाइदा भएको थियो । रुसले युक्रेनमाथि आक्रमण गरेपछि पश्चिमले रुसविरुद्ध लगाएको आर्थिक प्रतिबन्धले विश्व बजारमा तेलको भाउ आकाशिने भएपछि बाइडन प्रशासनले भेनेजुएलामाथि लगाएको प्रतिबन्ध खुकुलो बनाएको थियो ।
ओपेक मुलुकहरू र रुसले तेल बजारमा कायम गरेको आधिपत्यलाई तोड्ने ट्रम्प प्रशासनको मनसुबा देखिन्छ । पश्चिममा हुने तेल आपूर्तिको उद्गम केन्द्रलाई पश्चिमी गोलार्ध (दक्षिण अमेरिका) मा ल्याउने र ऊर्जा सार्वभौमसत्ता कायम गर्ने अमेरिकाको अभीष्ट हो । आफ्नो राष्ट्रिय सुरक्षा रणनीतिमा पश्चिमी गोलार्धलाई प्रभावक्षेत्रको रूपमा वर्णन गरेको अमेरिकाले त्यहाँ अन्य शक्तिको प्रभाव त के, उपस्थिति पनि नसहने भनिसकेको छ । मदुरोलाई नियन्त्रणमा लिएर अमेरिकाले दक्षिण अमेरिकामा चीनसँग नजिकिएको र अमेरिकाको विरोध गर्ने प्रमुख शक्तिलाई निस्तेज बनाइदिएको छ । त्यससँगै भेनेजुएलाको तेल र दुर्लभ खनिज पदार्थमा पहुँच प्राप्त गर्ने ढोका खोलेको छ ।
मदुरोलाई नियन्त्रण लिएर अमेरिकाले अन्य दक्षिण अमेरिकी मुलुकहरूलाई कठोर सन्देश दिएको छ । चीन वा रुससँग उनीहरूकै मुद्रामा कारोबार गरेमा मदुरोको जस्तै नियति भोग्नुपर्ने भनी ट्रम्प प्रशासनले चेतावनी दिएको हो । दक्षिण अमेरिकालाई आफ्नो करेसाबारी (ब्याकयार्ड) मान्ने मोनरो डक्ट्रिनलाई ट्रम्प प्रशासनले जगाएको हो । हुन पनि राष्ट्रिय सुरक्षा रणनीतिमा ट्रम्प कोरोलेरी टु द मोनरो डक्ट्रिन (अनौपचारिक रूपमा डोनरो डक्ट्रिन) को स्पष्ट उल्लेख छ ।
आफ्नो ब्याकयार्डमा युआन र रुबलमा हुने तेलको कारोबारलाई अमेरिकाले कुनै पनि हालतमा नसहने सन्देश दिएको छ । ब्रिक्स मुलुकहरूले अमेरिकी डलरलाई विस्थापित गर्नका लागि प्रयास बढाइरहेको सन्दर्भमा डलरको वर्चस्व अक्षुण्ण राख्न अमेरिकाले हरम्भव प्रयास गरिरहेको छ । ट्रम्पले ब्रिक्सलाई बारम्बार गैरडलरीकरणको बाटोमा नहिँड्न चेतावनी दिँदै आएका छन् ।
सन् १९७४ मा अमेरिकाले साउदी अरबसँग पेट्रोडलरको सम्झौता गरेको थियो । त्यस सम्झौताबमोजिम विश्वभरि हुने तेलको कारोबार अमेरिकी डलरमै हुनुपर्छ । त्यसको बदलामा अमेरिकाले सैन्य संरक्षण उपलब्ध गराउँछ । यस सम्झौताले संसारभरि डलरको माग बढाइदियो । त्यस अवस्थामा अमेरिकाले व्यापक रूपमा डलर छाप्न पायो भने अन्य सबै मुलुकहरू डलर किनेर अमेरिकाको ऋणी हुन पुगे । त्यसैको बलमा अमेरिकाले संसारभरि अनावश्यक युद्ध गर्ने सामर्थ्य हासिल गर्यो ।
विगत ५० वर्षदेखि अमेरिकालाई प्रभुत्वशाली अर्थतन्त्र बनाएको यही पेट्रोडलरले हो । तर, यसलाई कमजोर बनाउन अन्य शक्तिराष्ट्रहरू लागिपरेका छन् । चीन र रुसले आआफ्नै मुद्रामा तेल कारोबार गर्न थालेका छन् । त्यसलाई रोक्न अमेरिकाले सकिरहेको छैन । भारत र रुस पनि त्यसै गर्दैछन् । त्यसैले भारतमाथि अमेरिकाले चर्को भन्सार शुल्कका रूपमा चरम दबाब दिइरहेको छ ।
हुँदाहुँदा आफ्नो ब्याकयार्डमा रहेको भेनेजुएलाले समेत पेट्रोडलरको कारोबार बन्द गरेपछि अमेरिकालाई असह्य भएको हो । भेनेजुएलाले चिनियाँ युआनमा तेल किन्न थालेको थियो । सन् २०१८ मा भेनेजुएलाले डलरबाट मुक्त हुने घोषणा नै गरेको थियो । तेल बेचेर भेनेजुएलाले युआनसँगै युरो, रुबल पनि लिन थालेको थियो । उसले पश्चिमी प्रभुत्वको अन्तर्देशीय भुक्तानी प्रणाली स्विफ्टको साटो चिनियाँ प्रणाली क्रस बोर्डर इन्टरबैंक पेमेन्ट सिस्टममार्फत कारोबार थालेको थियो । ब्रिक्समा जोडिनका लागि उसले निवेदन दिएको थियो ।
अर्बौं ब्यारल तेल भएको मुलुकले यसरी दशकौंसम्म गैरडलरीकरण प्रक्रियामा लगानी गर्न लागेको अमेरिकीहरूले सहनै सक्दैनथिए । उनीहरूले मदुरोलाई हटाएर आफूअनुकूलको व्यक्ति भेनेजुएलामा ल्याउनैपर्ने थियो । यस्तै किसिमको घटना विगतमा पनि भएको छ । सन् २००० मा इराकका तत्कालीन राष्ट्रपति सद्दाम हुसेनले डलरको साटो युरोमा तेलको कारोबार गर्ने घोषणा गरेका थिए । त्यसपछि सन् २००३ मा अमेरिकाले इराकमाथि आक्रमण गरेर सत्तापरिवर्तन गरायो । नयाँ सत्ताले फेरि डलरमै कारोबार अघि बढायो । सन् २००९ मा लिबियाका राष्ट्रपति मुअम्मार गद्दाफीले तेल कारोबारका लागि सुनको समर्थन प्राप्त अफ्रिकी मुद्रा गोल्ड दिनारको प्रस्ताव गरे । त्यसपछि सन् २०११ मा अमेरिकी नेतृत्वको नेटोले लिबियामा बमवर्षा गरेर गद्दाफीलाई सत्ताच्युत गरायो । उनको वीभत्स हत्या भयो । अहिले लिबिया अव्यवस्थाको दुष्चक्रमा रुमल्लिरहेको छ । डलर परित्याग गर्ने मदुरोको नियति पनि हुसेन र गद्दाफीकै जस्तो हुनेछ ।
अमेरिकाको नजरमा भेनेजुएलाको मदुरो सरकार महाभ्रष्ट मात्र नभई शत्रुराष्ट्रहरूको धुरीको एक सदस्य समेत हो । अमेरिकी रणनीतिकारहरूले चीन, रुस, इरान र उत्तर कोरियालाई क्रिन्क अलायन्सको संज्ञा दिँदै शत्रुका रूपमा चित्रित गर्ने गरेका छन् । त्यसमा भेनेजुएला समेत जोडिन्छ । यस सञ्जालले भेनेजुएलाको तेल लिएर हातहतियार, निगरानी प्रणाली र क्रिप्टोकरेन्सीको सम्पत्ति शुद्धीकरण गरिरहेको अमेरिकीहरू आरोप लगाउँछन् । त्यस्तो आपराधिक सञ्जालको एउटा मियोलाई ढाल्दा अरूलाई पनि असहजता आउने कुरा अमेरिकाले बुझेको छ ।
अमेरिकाले अन्तर्राष्ट्रिय कानूनको धज्जी उडाउँदै अर्को देशको निर्वाचित सरकारप्रमुखलाई नियन्त्रणमा लिएर आफ्नो भूमिमा ल्याएको भए पनि चीन र रुस जस्ता शक्तिराष्ट्रले मौखिक निन्दा गर्ने बाहेक अरू केही पनि गर्न नसक्ने स्थिति छ
मदुरोको पक्राउ खासमा आफ्नो समकक्षी प्रतिद्वन्द्वी चीनलाई अमेरिकाले दिन खोजेको कठोर सन्देश पनि हो । पश्चिमी गोलार्धमा चीनको प्रभुत्व निर्माण गतिविधिलाई हतोत्साहित गर्न आफू तयार रहेको भनी अमेरिकाले चीनलाई सन्देश दिएको छ । त्यसका साथै चीनले दुर्लभ खनिज पदार्थलाई हतियार बनाएर अमेरिकालाई झुकाएकोमा आफूले चीनलाई झुकाउन तेललाई हतियार बनाउने सन्देश पनि ट्रम्प प्रशासनले दिएको छ ।
लाल सागरमा अमेरिकाको साझेदार इजरायलले अरबीहरूसँग मिलेर प्रभुत्व कायम गर्न खोज्नु पनि इरानबाट सस्तो मूल्यमा चीन पुगिरहेको तेलको प्रवाह रोक्ने प्रयास हो । यसरी भेनेजुएला र इरानको तेलबाट चीनलाई वञ्चित गराएर अमेरिकाले दुर्लभ खनिज पदार्थमा बेइजिङको प्रभुत्वलाई सन्तुलनमा ल्याउने प्रयास गरेको हो ।
अझ त्यसमाथि भेनेजुएलामा तेल मात्र नभई दुर्लभ खनिज पदार्थको भण्डार पनि विशाल नै छ । त्यहाँ कोल्टान र थोरियम प्रशस्त्र मात्रामा रहेको बताइन्छ । ती दुवै पदार्थ उन्नत विद्युतीय सामग्री र भावी पुस्ताको ऊर्जा प्रणालीका लागि आवश्यक छन् । चीनले अन्य शक्तिराष्ट्रलाई अफ्रिकामा रहेको दुर्लभ खनिज पदार्थमा पहुँच घटाएर आफ्नो एकल प्रभुत्व कायम गर्न खोजेको अवस्थामा अमेरिकाले भेनेजुएलालाई पश्चिमी गोलार्धको महत्त्वपूर्ण आपूर्ति शृंखला केन्द्रका रूपमा स्थापित गर्न खोजेको छ ।
अमेरिकाले अन्तर्राष्ट्रिय कानूनको धज्जी उडाउँदै अर्को देशको निर्वाचित सरकारप्रमुखलाई नियन्त्रणमा लिएर आफ्नो भूमिमा ल्याएको भए पनि चीन र रुस जस्ता शक्तिराष्ट्रले मौखिक निन्दा गर्ने बाहेक अरू केही पनि गर्न नसक्ने स्थिति छ । उनीहरूलाई आफ्नै परिधि जोगाउनुपर्ने बाध्यता छ ।
चीन र रुसले भेनेजुएलालाई उपलब्ध गराएको हतियार र सैन्य प्रणालीलाई अमेरिकीहरूले सूक्ष्म अध्ययन गरेर तिनको कमजोरी पनि पत्ता लगाएको सामरिक मामिला विश्लेषकहरू बताउँछन् । यसरी आफ्ना रणनीतिक हतियारको रहस्य अमेरिकीहरूको हातमा पुग्दा चीन र रुस दुवै मदुरोसँग असन्तुष्ट बनेको र उनलाई संरक्षण गर्नका लागि सैन्य परिचालन नगरेको विश्लेषकहरूको निष्कर्ष छ ।
त्यसो त भेनेजुएलाको सेना पनि मदुरोलाई सत्ताच्युत गर्न चाहन्थ्यो जस्तो देखिन्छ । अमेरिकाले जम्मा साढे दुई घन्टाको अवधिमा मदुरो र उनकी पत्नीलाई उनीहरू बसेको सेफहाउसबाट पक्राउ गरेर लग्यो । भेनेजुएलाको सेनाले त्यसको खासै प्रतिकार गरेन।
आफ्नै सेनाप्रति विश्वास नलागेर मदुरोले क्युबालीहरूलाई सुरक्षामा खटाएको बताइन्छ । ट्रम्पले पनि उक्त कारबाहीमा क्युबालीहरूको मृत्यु भएको बताएका छन् । अमेरिकाले मदुरालाई हटाउनका लागि बनाएको योजनामा भेनेजुएला सेनाका बागी अधिकृतहरू सहभागी भएको हुन सक्ने अनुमान गरिएको छ ।
यस प्रकरणले अमेरिका आफ्नो आर्थिक एवं भूराजनीतिक हितका लागि जुनसुकै हदमा जान सक्ने कुरालाई पुनः प्रमाणित गरेको छ । बिग पावर कम्पिटिशनको युगमा आफ्ना प्रतिस्पर्धीहरूभन्दा एक कदम अघि रहनका लागि कमजोर मुलुकको सार्वभौमसत्तामाथि सम्झौता गर्न अमेरिका हिचकिचाउँदैन भन्ने कुरा मदुरोको पक्राउले स्पष्ट पारेको छ
त्यससँगै मदुरो बाहेक भेनेजुएलाको सरकारका अन्य सदस्यहरू साबुतै रहनुले पनि शंका उत्पन्न गरेको छ । विपक्षी दलका मानिसलाई सत्तारोहण गराउन ट्रम्प अनिच्छुक देखिएका छन् । सन् २०२५ को नोबेल शान्ति पुरस्कार विजेता भेनेजुएलाली विपक्षी नेत्री मारिया कोरिनो मचादोले ट्रम्पको समर्थनमा सत्तारोहणको आकांक्षा राखेको भए पनि ट्रम्पले उनी अलोकप्रिय भएकाले तत्काल शासनमा जान नसक्ने बताएका छन् । त्यसको अर्थ हुन्छ, अमेरिका अहिले मदुरो सरकारकै कुनै नेतासँग सहकार्य गर्न तत्पर छ । शायद सेनाले अन्तरिम सरकार चलाउनेछ ।
यस प्रकरणले अमेरिका आफ्नो आर्थिक एवं भूराजनीतिक हितका लागि जुनसुकै हदमा जान सक्ने कुरालाई पुनः प्रमाणित गरेको छ । बिग पावर कम्पिटिशनको युगमा आफ्ना प्रतिस्पर्धीहरूभन्दा एक कदम अघि रहनका लागि कमजोर मुलुकको सार्वभौमसत्तामाथि सम्झौता गर्न अमेरिका हिचकिचाउँदैन भन्ने कुरा मदुरोको पक्राउले स्पष्ट पारेको छ ।








प्रतिक्रिया