भेनेजुएलासँग नेपालले कतिको गर्छ व्यापार ?

काजुदेखि नटबोल्ट ल्याउँदा, नेपालले पठाउँछ औषधीदेखि अगरबत्ती


काठमाडौं । अमेरिकाले अप्रत्याशित आक्रमण गरे भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई नियन्त्रणमा लिएको छ । शुक्रबार मध्यरातमा अमेरिकी कमान्डोले मदुरोको निवासमा पुगेर पत्नीसहित नियन्त्रणमा लिएको थियो ।

उनीहरूलाई अहिले अमेरिका पुर्‍याइएको छ । भेनेजुएलामाथि अमेरिकी आक्रमणको अन्तर्राष्ट्रियरुपमा आलोचना भइरहेको छ । मदुरोलाई लागुऔषध तस्करी र नार्को-आतंकवादको गम्भीर मुद्दा अघि बढाउने अमेरिकाले जनाएको छ ।

विश्वकै सबैभन्दा ठूलो प्रमाणित तेल भण्डार भएको मुलुक भेनेजुएलासँग नेपालले पनि व्यापार गर्ने गरेको छ । तर नेपाल र भेनेजुएलाबीचको द्विपक्षीय वैदेशिक व्यापार खासै नभएको पाइएको छ ।

भेनेजुएलासँग नेपालको द्विपक्षीय वैदेशिक व्यापार करिब डेढ करोड रुपैयाँ बराबरको छ । यसमा आयात र निर्यात दुवै अंश जोडिएको छ ।

भन्सार विभागको तथ्यांकअनुसार चालुआर्थिक वर्ष २०८२/८३ को पाँच महिनाको अवधिमा नेपाल र भेनेजुएलाबीच ७० लाख ८८ हजार रुपैयाँबराबरको द्विपक्षीय वैदेशिक व्यापार भएको छ ।

यसमध्ये नेपालले भेनेजुएलाबाट ३९ लाख २९ हजार रुपैयाँबराबरको आयात गरेको छ । यस्तै ३१ लाख ५९ हजार रुपैयाँबराबरका विभिन्न सामान भेनेजुएलामा निर्यात गरेको छ ।

चालुआर्थिक वर्षमा नेपालले भेनेजुएलाबाट ३९ लाख २२ हजार रुपैयाँबराबरको ५ हजार १४८ किलो काजु आयात गरेको छ । यस्तै ७ हजार रुपैयाँबराबरको सवारीसाधनको सिट र खाद्यान्न परिकार आयात गरेको छ ।

यो अवधिमा नेपालले भेनेजुएलामा ३१ लाख ५९ हजार रुपैयाँबराबरको ३६२ किलो खुद्रामा बिक्री गर्नका लागि विभिन्न प्रकारका एन्टिबायोटिक औषधि निर्यात गरेको छ । चालुआर्थिक वर्षमा भेनेजुएलासँग द्विपक्षीय वैदेशिक व्यापार गर्दा ७ लाख ७० हजार रुपैयाँबराबरको वैदेशिक व्यापार घाटा बेहोरेको छ ।

यस्तै गत आर्थिक वर्ष २०८२/८३ मा नेपालले भेनेजुएलासँग १ करोड ३४ लाख ७१ हजार रुपैयाँबराबरको द्विपक्षीय वैदेशिक व्यापार गरेको थियो । यसमध्ये ७६ लाख २२ हजार रुपैयाँबराबरको भेनेजुएलाबाट आयात र ५८ लाख ४९ हजार रुपैयाँबराबरको नेपालबाट निर्यात भएको थियो ।

भन्सार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्षमा नेपालले भेनेजुएलाबाट ५३ लाख ३६ हजार रुपैयाँबराबरको ५० हजार किलो गेडागुडी, ११ लाख ४३ हजार रुपैयाँबराबरको १०० थान स्क्यानर, ४ लाख ६९ हजार रुपैयाँबराबरको ४ थान प्रिन्टर मेसिन आयात भएको थियो।

यसबाहेक बम्पर, रबर गास्केट, सवारीसाधनको ग्लास र ऐना, इन्जिनको एयर फिल्टर र नटबोल्ट आयात भएको थियो ।

यस्तै नेपालबाट ५७ लाख ४१ हजार रुपैयाँबराबरको ६६९ किलो खुद्रामा बिक्री गर्नका लागि विभिन्न प्रकारका एन्टिबायोटिक औषधि भेनेजुएलामा निर्यात भएको थियो । यसबाहेक १ लाख रुपैयाँबराबरको ६५ किलो अगरबत्ती पनि निर्यात भएको थियो ।

त्यो वर्षमा नेपालले भेनेजुएलासँग द्विपक्षीय वैदेशिक व्यापारमा १७ लाख ७३ हजार रुपैयाँबराबरको व्यापार घाटा बेहोरेको थियो।