
एजेन्सी । अमेरिकाले भेनेजुएलामाथि भीषण आक्रमण गर्दै राष्ट्रपति निकोलस मदुरोलाई पक्राउ गरेसँगै विश्व वित्तीय बजारमा ठूलो हलचल पैदा भएको छ।
दक्षिण अमेरिकी उर्जा केन्द्रमा आएको यो भूकम्पीय परिवर्तनले गर्दा विश्वव्यापी ऊर्जा आपूर्ति र वित्तीय स्थिरतामा गम्भीर प्रश्न उठेपछि लगानीकर्ताहरू त्रसित बनेका छन् ।
‘फाइनान्सियल टाइम्स’ का अनुसार, भेनेजुएलामा अमेरिकी सैन्य कारबाही सुरु भएलगत्तै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा १० प्रतिशतभन्दा बढीको आकस्मिक वृद्धि देखिएको छ ।
आइतबार कारोबार खुल्नेबित्तिकै ब्रेन्ट क्रुडको मूल्य प्रति ब्यारेल ११० डलर नाघेर ऐतिहासिक उचाइतर्फ अघि बढेको छ।
विश्वकै सबैभन्दा ठूलो प्रमाणित तेल भण्डार भएको मुलुकमा उत्पन्न युद्धको अवस्थाले ऊर्जा आपूर्ति शृङ्खला ठप्प हुने डरले बजारमा ‘प्यानिक बाइङ’ सुरु भएको ऊर्जा विज्ञहरूको विश्लेषण छ ।
यता, तेलको मूल्यमा भएको यो वृद्धिको प्रत्यक्ष असर विश्वभरका सेयर बजारमा देखिएको छ । ‘इकोनोमिक टाइम्स’ को रिपोर्ट अनुसार, वाल स्ट्रिटदेखि एसियाली बजारसम्म लगानीकर्ताहरूले सेयर बिक्री गरिरहेका छन् ।
भारतको सेन्सेक्स र निफ्टीमा भारी गिरावट आएको छ भने अमेरिकी बजारका प्रमुख सूचकांकहरू एस एण्ड पी ५०० र नास्डाक सुरुवाती सत्रमै ओरालो लागेका छन् ।
युद्ध चर्कने त्रासले लगानीकर्ताहरू जोखिमपूर्ण मानिने इक्विटी बजारबाट बाहिरिएर सुरक्षित मानिने सुन र अमेरिकी डलरमा लगानी सार्न थालेका छन्।
आर्थिक विश्लेषकहरूले यो संकटले विश्वभर मुद्रास्फीति (महँगी) को नयाँ लहर ल्याउन सक्ने चेतावनी दिएका छन् ।
क्यारिबियन समुद्री क्षेत्रमा बढेको सैन्य सक्रियताका कारण विश्वव्यापी ढुवानी मार्गहरू प्रभावित हुँदा ढुवानी खर्चमा समेत उल्लेख्य वृद्धि भएको छ । यसले गर्दा इन्धन मात्र नभई दैनिक उपभोग्य वस्तुहरूको मूल्य समेत बढ्ने निश्चित देखिएको छ ।
यदि यो तनाव केही दिनमै मत्थर भएन र भेनेजुएलाको तेल खानीहरूबाट उत्पादन सुचारु भएन भने विश्व अर्थतन्त्र फेरि एकपटक लामो मन्दीको चपेटामा पर्न सक्ने चिन्ता बजार विश्लेषकहरूको छ ।
अहिले विश्वभरका लगानीकर्ता र नीति निर्माताहरूको नजर वासिङ्टन र काराकासको अर्को कदममा टिकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।








प्रतिक्रिया