
काठमाडौं । कोटेश्वरमा ४४ अर्बमा बनाउन लागिएको फ्लाइओभर सहितको सुरुङमार्गको वास्तविक खर्च १२ अर्ब मात्रै । २८ अर्ब अनावश्यक खर्च गरिँदै । परामर्श खर्चको नाममा मात्रै साढे ३ अर्ब खन्याइयो ।
कोटेश्वर चोकमा हरेक दिन हुने अत्यधिक ट्राफिक जामको समस्या नभोग्ने सायदै कम होलान् । धुलिखेल, भक्तपुर, पेप्सीकोला र ग्वार्कोतर्फबाट आउने सवारी साधनका कारण जडीबुटीदेखि कोटेश्वर र कोटेश्वरदेखि तीनकुने चोकसम्म अत्यधिक ट्राफिक जाम हुने गर्दछ । त्यस्तै तीनकुनेदेखि ग्वार्को र तीनकुनेदेखि जडीबुटीसम्म सवारी साधनको अत्यधिक जाम हुन्छ ।
पछिल्लो समय त ग्वार्को चोकमा सञ्चालनमा आएको ओभरपासका कारण पहिलेको तुलनामा झनै दोब्बर परिमाणमा कोटेश्वरसहित तीनकुने क्षेत्रमा सवारी साधनको थप जाम बढ्दै गएको छ । यो समस्या दिनप्रतिदिन बिकराल बन्दै गएपछि अहिले चौतर्फी क्षेत्रबाट कोटेश्वर चोकमा सुरुङमार्गसहितको फ्लाईओभरको निर्माण सक्दो चाँडै सुरु गर्नुपर्ने मागका साथै दबाब सरकारप्रति बढ्दै गएको छ ।
यही समस्या समाधान गर्ने उद्देश्यले सरकारले सुरुङमार्गसहितको फ्लाईओभर निर्माण गर्ने प्रक्रिया अघि बढाउन लागेको छ ।
कोटेश्वरको जाम हटाउन तीनकुनेको वागमती पुल नजिकको मुनिभैरव मन्दिर नजिकसम्म ६६४ मिटर लामो फ्लाईओभर, मुनिभैरव मन्दिरदेखि जडिवुटी अकासेपुलसम्म(त्रिभुवन विमानस्थल परिसर भित्र) ७ सय मिटर टनेल र त्रिभुवन विमानस्थलदेखि जडिबुटी हुँदै मनोहरा पुलसम्म अर्को २३८ मिटर लामो फ्लाईओभर निर्माण गर्ने तयारी छ ।
यो योजना निवर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारले स्वीकृत गरेको योजना हो । ओलीको सरकारले गत भदौ पहिलो साता नै जाइकासँग सहुलियतपूर्ण ऋण सहायता स्वीकार गरेर सुरुङमार्ग सहितका फ्लाईओभर निर्माण गर्ने निर्णय गरिसकेको छ । ओली नेतृत्वको सरकारले कोटेश्वर इन्टरसेक्सन सुधार आयोजना कार्यान्वयनका लागि जापान सरकारबाट प्राप्त हुने जापानिज ऐन ३४ अर्ब ४९ करोड (३१ अर्ब ६७ करोड ५५ लाख नेपाली रुपैयाँ) सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको थियो । यसका लागि जाइकाले ४४ अर्ब ६४ करोडमा ३४ अर्ब ४९ जापानिज ऐन (हालको विनिमय दरअनुसार ३१ अर्ब ६७ करोड ५५ लाख नेपाली रुपैयाँ) ऋण सहयोग गर्दैछ । बाँकी अपुग रकम भने नेपाल सरकारले व्यहोर्ने भनेर यो विषय अन्तिम टुङगोमा पुगिसकेको छ । अब निर्माण कार्य सुरु गर्न मात्रै बाँकी छ ।
तर कोटेश्वर चोकको जाम हटाउने नाममा अबौं रुपैयाँ अनावश्यक खर्च गरिन लागेको भनेर आलोचन भएको छ । जापान सरकारको ऋण सहयोगमा बनाउन लागिएको यो सुरुङमार्गसहितको फ्लाईओभरको लागत कम्तिमा ४४ अर्ब ६४ करोड रुपैयाँ लागत लाग्ने बताइएको छ । तर विज्ञहरुले भने सुरुङमार्गसहितको फ्लाईओभर अधिकतम १२ अर्बमै बन्ने खुलासा गरेका छन् ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका पूर्व सचिव तुलसी सिटौलाका अनुसार जाइकाले प्रस्तावित गरेको ४४ अर्ब रुपैयाँ लागत खर्च निक्कै महँगो हो । जाइकाले प्रस्ताव गरेको डिजाइन र प्रविधियुक्त सुरुङमार्गसहितको फ्लाईओभर जम्मा १० अर्ब नेपाली रुपैयाँको लागतमै निर्माण गर्न सकिन्छ । जाइकाले दिएको प्रतिवेदन र उनीहरुको मापदण्ड र प्रारम्भिक डिजाइनअनुसार अत्याधुनिक प्रविधिको निक्कै छेलोखेलो गरी निर्माण गरेपनि अधिकतम भनेको १२ अर्ब नेपाली रुपैयाँ मात्रै खर्च हुन सक्ने अवस्था छ, कुनै पनि सर्तमा त्योभन्दा बढी लगानी चाहिंदैन । तर जाइकाले भने यसको लागत लागत खर्च ४४ अर्ब लाग्ने खाका तयार गरेको छ ।
यो लागत खर्चको खाका जाइकाले सन् २०२३ को सेप्टेम्बरमा तयार पारेको थियो । खाकामा सुरुङमार्गसहितको फ्लाईओभरको निर्माण निर्माण गर्दा कहाँ कहाँ कति लागत खर्च राखिएको छ ? यसबारे बुझौं ।
जाइकाले तयार पारेको खाका अनुसार (तत्कालीन बिनिमय दरको आधारमा) मुख्य निर्माण तथा पूर्वाधार निर्माण खर्चतर्फ २४ अर्ब नेपाली रुपैयाँ लाग्ने भनेर उल्लेख गरिएको छ । यस्तै मूल्यवृद्धिबाट हुने अतिरिक्त लागत ६ अर्ब ९२ करोड, आकस्मिक भौतिक खर्च ३ अर्ब १३ करोड, डिजाइन, परामर्श र सुपरभिजन खर्चत ३ अर्ब ३९ करोड, ऋणको ब्याज खर्च ३९ करोड, जग्गा खरिद तथा मुआब्जा खर्च ९६ करोड, कार्यालय र व्यवस्थापन खर्चतर्फ २६ करोड र भ्याट, भन्सार र अन्य करहरुसहित जम्मा ४४ अर्ब ६४ करोड रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरिएको छ ।
तत्कालीन समयमा जाइकाले गरेको पूर्व सम्भाव्यता अध्ययनको प्रतिवेदनले तीन प्रकारको प्राविधिक विकल्पसहितको सुझाव सरकारलाई दिएको थियो । सरकारले तेस्रो विकल्पको रुपमा तीनकुनेदेखि कोटेश्वरको जडिबुटीसम्मको टनेलसहितको फ्लाईओभर योजनालाई छनौट गरेको हो ।
४४ अर्ब नेपाली रुपैयाँ खर्च लागत सहित तेस्रो विकल्प छनोट गरियो । तर विज्ञहरुले दिएको प्रतिक्रियाले हामीलाई झस्काएको छ । विज्ञहरुका अनुसार ऋण सहयोग लिएर यति महँगो लागत पर्ने गरी परियोजना निर्माण गर्नु हुन्न ।
के यो फ्लाईओभर र सुरुङमार्ग निर्माणको लागि यो अत्यधिक खर्च आवश्यक छ ? आखिर त्यो ऋणको ब्याज त हामीले नै तिर्ने होला नि ! भन्ने आजको प्रश्न बनेको छ ।
स्क्रिप्टः राजेश बर्मा, प्रस्तोताः सृष्टी गुरागाईँ







प्रतिक्रिया