
काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको राजनीतिक अवस्था यथावत् रहिरहे आफू पुनः प्रधानमन्त्रीमा फर्कने सम्भावना बढ्ने दाबी गरेका छन् । आइतबार सम्पादकहरूसँगको छलफलका क्रममा उनले जनताले अहिलेको अराजकता सहन नसक्ने बताए ।
‘यस्तै हुँदै गयो भने केपी ओली फेरि प्रधानमन्त्रीमा फर्कने सम्भावना बढ्छ,’ उनले भने, ‘जनताले यो कुरा सहँदैनन् । अनि फेरि पनि अरुबाट नहुने रहेछ भन्ने ठहर गर्दै यस्तो अराजकता चल्छ ? भन्ने प्रश्न आउँछ ।’
छलफलका क्रममा ओलीले हलमा उपस्थित सम्पादकहरूलाई समेत अहिले मेसो नपाएको व्यंग्य गर्दै भने, ‘तपाईंहरूले अहिले अलि मेलो पाउनुभएको छैन । तर, केही दिनमै सम्पादकीय लेखेर भन्नुहुन्छ — ल्याऔं केपी ओलीलाई भनेर ।’
ओलीले जेन–जी आन्दोलनलाई आफूले तीन भागमा विभाजन गरेर हेर्ने गरेको बताउँदै आन्दोलनका मागहरू वैध भए पनि त्यसलाई षड्यन्त्रपूर्वक प्रयोग गरिएको दाबी गरे ।
‘जेन–जी आन्दोलनलाई तीन भागमा हेर्छु,’ उनले भने, ‘उनीहरूका तीनवटा मुख्य माग थिए— भ्रष्टाचार अन्त्य, सुशासन कायम, र रोकिएका सामाजिक सञ्जाल खुलाउनुपर्ने । तर जेन–जीलाई धोकामा पारियो, जे गरेर भए पनि विरोध प्रदर्शनका लागि तयार पारियो ।’
उनले जेन–जीहरूले प्रधानमन्त्रीको राजीनामा नमागेको बताउँदै, बरु योजनाबद्ध रूपमा तिनीहरूलाई संसद् भवनतर्फ धकेलियो ।
ओलीले हाल वास्तविक जेन–जी पुस्ता त्रासमा रहेको दाबी पनि गरे । ‘जेन–जीको नाम लिइयो, तर उनीहरू अहिले कस्तो अवस्थामा छन् ? कहाँ बसेका छन् ? के खाँदैछन् ?’ उनले प्रश्न गरे, ‘उनीहरू अहिले त्रसित छन् । ड्र्यागनका ट्याँटु खोपेकाहरूले उनीहरूलाई धम्क्याउने गर्छन् । आन्दोलनमा सहभागी वास्तविक जेन–जीहरू डेरा छोडेर भाग्ने अवस्थामा पुगेका छन् ।’
उनले जेन–जीको नाम भजाएर अहिले गैरसंवैधानिक सरकार निर्माण गरिएको आरोप लगाउँदै भने, ‘जेन–जीको नाम प्रयोग गरेर लोकतान्त्रिक प्रक्रिया नै अपहरण गर्ने प्रयास भइरहेको छ ।’








प्रतिक्रिया