
काठमाडौं । अन्तर्राष्ट्रिय चेन होटल हिल्टनका सबैजसो मजदुर विदेशी चेनमा सिफ्ट भएका छन् । भदौ २४ गतेको जेनजी आन्दोलनबाट आगजनीमा परेको यो होटल बन्द भएपछि होटलमा काम गर्ने सबै मजदुर विदेशी चेनका होटलमा सिफ्ट भएका हुन् ।
जेनजी आन्दोलनपछि पूर्ण क्षति भएको यो होटलमा २३५ मजदुर कार्यरत थिए । होटल बन्द भएपछि हिल्टनले आफ्ना कर्मचारीलाई अन्य एशिया-प्यासिफिक क्षेत्रमा रहेका शाखामा अस्थायीरूपमा स्थानान्तरण गरेको हो । हिल्टनले मजदुरको रोजगारी जोगादिएको छ भने काठमाडौंको होटल पुनर्निमार्ण भएर सञ्चालन भएपछि नेपाल नै फर्कने गरी बाहिर पठाएको उल्लेख छ ।
हिल्टनका एक उच्च तहका कर्मचारीका अनुसार अधिकांश कर्मचारीलाई अन्तर्राष्ट्रिय चेनमा सिफ्ट गरिएको छ । अन्तर्राष्ट्रिय चेन होटल भएकोले नाम उल्लेख गर्न नमिल्ने सर्तमा ती कर्मचारीले भने ‘काठमाडौंको हिल्टन जलेका कारण रोजगारी गुमाउनु पर्ला भनेर चिन्ता लागेको थिय तर होटलले नै बाहिर लगेर काम गर्ने अवसर दिएको छ । दुई महिनादेखि आफू नेपाल बाहिरको चेन होटलमा काम गरिरहेको ती कर्मचारीले क्लिकमान्डुलाई जानकारी दिए ।’
हिल्टन होटलका प्रमुख नेपाली लगानीकर्ता शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवालका अनुसार अन्तर्राष्ट्रिय चेन होटल भएकाले उसले नै सबै कर्मचारीको व्यवस्थापन गरेको हो । होटलमा रहेका कति कर्मचारीलाई वाहिरको चेनमा रोजगारी दियो र अझै कतिले अवसर पाउँछन् भन्ने विषय आफूलाई जानकारी नभएको अग्रवालले बताए । चेन होटल भएकोले सबै व्यवस्थापन हिल्टनले नै गरिरहेको पनि उनले बताए ।
होटलमा रहेका कर्मचारीमध्ये करिब १५० सयलाई चेनले व्यवस्थापन गरेको उल्लेख छ । होटलमा १८३ मजदुर प्रत्यक्ष काम गर्ने र ५३ जना अप्रत्यक्ष रुपमा होटलसँग जोडिएका थिए ।
नक्सालमा रहेको यो होटल गत वर्ष २०८१ साउन १८ देखि मात्रै सञ्चालनमा आएको थियो । १० रोपनी क्षेत्रफलमा फैलिएको होटलमा १७ तला छन् । होटलमा एउटा प्रेसिडेन्सियल सुइट, दुईवटा लक्जरी सुइट र अन्य १० वटा सुइटसहित १७२ कोठा थिए।
जेनजी आन्दोलनपछि होटलमा पुगेको क्षति पर्यटन क्षेत्रमा परेकोमध्ये सबैभन्दा ठूलो हो । नक्सालमा रहेको यो अन्तर्राष्ट्रिय चेन होटल पूर्णरुपमा क्षति हुँदा यसले ७ देखि ८ अर्ब रुपैयाँको नोक्सानी व्यहारेको उल्लेख छ । नेपालमा भएका होटलमध्ये पाँचतारे डिलक्समा यो होटल स्तरीकरण भएको थियो ।
हिल्टनको मेसिनरी, सञ्चालन उपकरण र चल सम्पत्तिसमेत क्षतिग्रस्त भएको कारण भदौ २४ पछि पूर्णरूपमा बन्द हुन पुगेको नेपाल पर्यटन बोर्डले गरेको एक अध्ययन प्रतिवेदनमा उल्लेख छ ।
उक्त प्रतिवेदनले हिल्टन होटलमा जेनजी आन्दोलनले ठूलो क्षतिसँगै दैनिक रुपमा गर्ने २५ लाख रुपैयाँ आम्दानीसमेत गुमेको औंल्याएको छ । क्लिकमान्डुलाई प्राप्त उक्त प्रतिवेदनका अनुसार सबैभन्दा बढी क्षति पर्यटन क्षेत्रमै ठूलो र पहिलो हिल्टनले व्यहोरेको उल्लेख छ ।








प्रतिक्रिया