जेनजी आन्दोलनले १५ होटलमा क्षति: हायातका मजदुर दिनभर धर्नामा, हिल्टनले विदेश पठाउने

सबैभन्दा ठूलो नोक्सानी व्यवहोरेको हिल्टनले गर्थो दैनिक २५ लाख आम्दानी


जेनजी आन्दाेलनपछि सबैभन्दा बढी प्रभाव नेपालमा सञ्चालनमा रहेका अन्तर्राष्ट्रिय चेन हाेटलमा परेको छ । प्रभावित हाेटललाई सबैभन्दा ठूलाे टाउकाे दुखाई मजदुरको व्यवस्थापन गर्नमा भएको छ । हाल मजदुरको व्यवस्थापन गर्न नसकेकाे हायात रिजेन्सीका स्थायी कर्मचारी दिनभर धर्ना दिइरहँदा हिल्टनले भने आफ्ना कर्मचारीलाई एशिया–प्यासिफिक क्षेत्रका हाेटलमा लगेर काम गराउने भएको छ ।

काठमाडौं । भदौ २४ गतेको जेनजी आन्दोलनसँगै भौतिक संरचनामा भएको आक्रमणको निशानामा पर्यटन सेवामा क्रियाशील १५ होटल परेका छन् । नेपाल पर्यटन बोर्डले गराएको एक अध्ययन प्रतिवेदन अनुसार आन्दोलनको निशानामा परेकामध्ये काठमाडौंका चारसहित देशैभरका १५ वटा होटलमा क्षति पुगेको छ ।

होटलमा पुगेको क्षतिमा सबैभन्दा धेरै नोक्सान नक्सालमा रहेको अन्तर्राष्ट्रिय चेन होटल हिल्टनमा परेको छ । हिल्टन होटल पूर्ण रुपमा क्षति हुँदा यसले ७ देखि ८ अर्ब रुपैयाँको नोक्सानी व्यहारेको छ । नक्सालमा रहेको हिल्टन होटल साढे ८ अर्बमा बनेको थियो । २०८१ साउनदेखि मात्रै सञ्चालनमा आएको यो होटलमा १७२ वटा कोठा थियो ।

नेपालमा भएका होटलमध्ये पाँचतारे डिलक्समा यो होटल स्तरीकरण भएको छ । हिल्टनबाहेक नेपालमा पाँचतारे डिलक्स होटल अर्को २ वटा मात्रै छ । बाँकी २८ वटा पाँचतारे होटल छन् ।

हिल्टनको मेसिनरी, सञ्चालन उपकरण र चल सम्पत्तिसमेत क्षतिग्रस्त भएको कारण भदौ २४ पछि पूर्ण रूपमा बन्द छ । यसको बीमा कम्पनी र सर्वेयरले क्षतिको मूल्याङ्कन गरिरहेका छन्।

होटलमा क्षति पुगेर बन्द हुँदासमेत हिल्टनले आफ्ना कर्मचारीलाई अन्य एशिया–प्यासिफिक क्षेत्रमा रहेका शाखामा अस्थायी रूपमा स्थानान्तरण गरी मजदुरको रोजगारी जोगाउने प्रयास गरिरहेको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

हिल्टन होटलमा जेनजी आन्दोलनले ठूलो क्षतिसँगै यसले दैनिक रुपमा गर्ने २५ लाख रुपैयाँ आम्दानीसमेत गुमेको अध्ययन प्रतिवेदनले औंल्याएको छ । क्लिकमान्डुलाई प्राप्त उक्त प्रतिवेदनका अनुसार सबैभन्दा बढी क्षति हुनेमा हिल्टनबाहेक उल्लेख्य आर्थिक नोक्सानी हुनेमा अर्को अन्तर्राष्ट्रिय पाँचतारे चेन होटल हायात रिजेन्सी छ ।

हायात रिजेन्सीमा आगलागी र तोडफोड भएको कारण यसले गत सेप्टेम्बरमा मात्रै १४ करोड रुपैयाँ आम्दानी गुमाएको होटलले जानकारी दिएको प्रतिवेदनमा उल्लेख छ । २४ भदौपछि हायात रिजेन्सी होटल पनि बन्द छ भने मजदुरले रोजगारी खोस्न नहुने होटल व्यवस्थापनलाई दबाब दिँदै आएका छन् ।

हयात होटलले तिहारपछि पूर्ण रुपमा होटल बन्द रहेको सूचना जारी गरेको छ । तिहारपछि होटल बन्द भएकोले होटलका स्थायी कर्मचारीले रोजगारी खोस्न नहुने र श्रम ऐन अनुसारको सेवा सुविधा दिएर कर्मचारीलाई विदामा राख्नुपर्ने माग गर्दै आएका छन । होटलका कर्मचारी तिहारपछि दैनिक रुपमा होटल परिसरको पार्किङमा पुग्ने र दिनभर धर्ना दिएर साँझ फर्कने गरेका छन् ।

काठमाडौंका वर्णवास म्युजियम होटल र होटल अलफ्टमा पनि केही क्षति पुगेको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदन अनुसार काठमाडौं, पोखरा, भैरहवा र झापाका होटलहरूमा जेनजी आन्दोलनले सबैभन्दा बढी प्रभावित भएको देखिएको छ ।

पोखराका होटल सरोवर, बार दीपाल रिसोर्ट, होटल गोडवील, होटल एडमास र होटल वगैंचा रिसोर्टमा आन्दोलनबाट प्रभावित हुन पुगेको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

आन्दोलनबाट प्रभावित हुने होटलमा भैरहवाका ड्रिमल्याण्ड इन्टरनेसन, ड्रिमल्याण्ड, टुलिप, मौर्या र होटल रेडसन रहेको छ । अन्य होटलमा झापा धुलावारीको मेची क्राउन प्लाजासमेत आन्दनेलनबाट प्रभावित हुने होटलमा पर्छ ।

अध्ययन प्रतिवेदनका अनुासर भैरहवाको ड्रीमल्यान्ड होटलमा १ करोड रुपैयाँ भन्दा बढीको क्षति अनुमान भएको छ। होटलमा आन्दोलनका क्रममा तोडफोड, आगलागी र धुवाँजन्य असर पुगेको उल्लेख छ । होटलहरूका ९० प्रतिशत बुकिङ रद्द भएका छन्। आन्दोलनपछि लुम्बिनी आउने पर्यटक संख्या उल्लेखनीय रूपमा घटेको छ, जसले सम्पूर्ण भैरहवा पर्यटन क्षेत्रमा प्रत्यक्ष असर पारेको प्रतिवेदनले औंल्याएको छ ।

जेनजी आन्दोलनका कारण झापाको मेची क्राउनमा पनि क्षति पुगेको छ । पूर्वी नेपालको झापास्थित रहको नेपालकै पहिलो पाँचतारे डिलक्स होटल मेची क्राउनमा जेनजी आन्दोलनपछि भएको तोडफोड र आगलागीले रेष्टुराँ, स्पा र स्वीमिङ पुलमा क्षति पुगेको छ। होटलका करिब १५ कोठामा सिसा फुट्ने र संरचनागत क्षति भएको अध्ययन प्रतिवेदनले औल्याएको छ ।

जेनजी आन्दोलनका कारण पाँचतारे होटल सोल्टीले समेत २० करोड आम्दानी गुमाएको उल्लेख छ । यो बाहेक काठमाडौं म्यारियट र अलोफ्ट होटलले पनि पर्यटकको बुकिङ रद्दका कारण ठूलो आम्दानी गुमाएको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

होटल क्षेत्रमा भएको आक्रमण क्षतिले दीर्घकालीन पर्यटकीय सेवामा प्रभाव परेको जिन्ता होटल व्यवसायीले गरेका छन् । होटल क्षेत्रमा देखिएको यो संकटलाई संरचनागत कमजोरीको संकेतका रूपमा व्याख्या गरिएको पनि व्यवसायीहरुले बताएका छन् । उनीहरूका अनुसार राजनीतिक अस्थिरता, सुरक्षाको अभाव र अव्यवस्थित व्यवस्थापनले यस्तो अवस्था दोहोरिन सक्ने जोखिम बढाएको छ।

होटल व्यवसायीहरूले सरकारसँग पर्यटन र आतिथ्य क्षेत्रमा दीर्घकालीन पुनःस्थापना योजना बनाउन आग्रह गरेका छन्। उनीहरूका अनुसार पर्यटनमा लगानीकर्ताको विश्वास पुनःस्थापना, सुरक्षाको प्रत्याभूति र अन्तर्राष्ट्रिय बजारमा नेपालको छवि सुधार नगरेसम्म पूर्ण पुनरुत्थानमा कठिन हुने पनि उल्लेख गरेका छन् ।