
काठमाडौं । जेनजी आन्दोलनका क्रममा तोडफोड हुँदा आंशिक क्षति भएको बौद्धस्थित तारागाँउ रिजेन्सी होटल (हायात रिजेन्सी काठमाडौं)ले कर्मचारी निकाल्न अनिश्चितकालीन बन्दको बहानाबाजी गरेको आरोप होटलसम्बद्ध मजदुरले लगाएका छन् ।
भदौ २४ को जेनजी आन्दोलपछि २८० कोठाको यो होटलमा ३ देखि ५ प्रतिशतमात्रै क्षति पुगेको दाबी होटल सम्बद्ध कर्मचारीको छ । होटलले नियत सफा राख्ने हो र आन्दोनबाट भएको क्षतिलाई बहानाबाजी नगरी काम गर्ने हो भने १५ दिनभित्रै मर्मत गर्न सकिने खालको रहेको होटलका एक कर्मचारीले क्लिकमान्डुलाई जानकारी दिए ।
‘आन्दोलनबाट भएको क्षतिलाई बाहना नबनाउने र होटलले नियत सफा राख्ने हो भने भने १५ दिनभित्रै मर्मत गर्न सकिन्छ,’ उनले भने, ‘तर कर्मचारी निकाल्न होटलले अनिश्चितकालीन बन्दको बहाना बनाएको छ ।’
यो होटलले जेनजी अन्दोलन अगाडि भदौ पहिलो साता रिनोभेसन गर्ने र आधा क्षमतामा मात्रै सञ्चालन गर्ने सूचना निकालेको थियो । होटलले निकालेको सूचना अनुसार २४० वटा कोठा पहिलो चरणमा रिनोभेसन गर्ने र बाँकीमा पर्यटक राख्ने भन्ने थियो । दोस्रो चरणमा बाँकी कोठा मर्मत गर्ने भएको पर्यटकको बुकिङ ५० प्रतिशत मात्रै लिने भन्ने थियो ।
रिनोभेसनको समयमा होटलको क्षमतामध्ये आधा मात्रै प्रयोगमा आउने भनेको होटलमा जेनजी आन्दोलनले ८/१० वटा कोठामा क्षति पुगेको विषयलाई होटलले अतिरन्जित गरेर अनिश्चितकालीन बन्द भन्दै मजदुरको रोजगारी खोस्न खोजेको आरोप त्यहाँका कर्मचारीले लगाएका छन् । हायात होटलमा हाल १४७ स्थायी र अरु २ सय जना जति करारका कर्मचारी छन् ।
होटलमा कार्यरत अर्का एक कर्मचारीका अनुसार आधा क्षमता बन्द गरेर रिनोभेसन गर्ने तयारी भइरहेको होटलमा आंशिक क्षति हुँदैमा पूरै बन्द गर्नपर्ने अवस्थामा छैन । २५ वर्षदेखि सेवा दिइरहेका कर्मचारीलाई निकाल्ने बहानामा होटलले बन्दको र कर्मचारीलाई नआउनु भन्ने सूचना निकालेको उनको दाबी छ ।
कर्मचारीले आपत्ति जनाएर २ दिन अगाडि मात्रै होटलकी एक सञ्चालक समिति सदस्य रानी बाङलाई दबाब दिएपछि सूचना सच्चाएर अर्को निल्काल्ने आश्वासन दिएका होटलका कर्मचारी बताउँछन् ।
बाहिरबाट हेर्द २/४ वटा कोठाको ढोका फोडिएको देखिन्छ भने ४० वटा जति कोठाको बाहिरको पेटीमा धुँवा लागेको होटल स्रोतको भनाइ छ । ‘अहिले नै होटल चलाउन त मिल्दैन । तर पेन्ट गरेर, क्षति भएका कोठाको ढोका मर्मत गर्ने र १५ दिनको समयमा लवी मर्मत गर्ने हो भने सञ्चालनमा आउन सक्ने अवस्था देखिन्छ,’ उनले भने ।
धुँवा देखिएका कोठाका सबै सामान सुरक्षित छन् । त्यसका बेडलाई कर्मचारीहरुले नै व्याङ्क्वैट हलमा लगेर सुरक्षित राखेको ती कर्मचारीले क्लिकमान्डुलाई जानकारी दिए ।
होटल परिसरको क्यासिनोमा भने शत प्रतिशत क्षति भएको छ । क्यासिनोमा ५ सय भन्दा बढी कर्मचारी थिए । क्यासिनो तत्काल सञ्चालनमा आउन सक्ने अवस्था नभए पनि होटलमा भने ठूलो क्षति नभएकोले व्यवस्थापनले कर्मचारीकै सहयोगमा होटल खोल्नुपर्ने सुझाव उनीहरुको छ ।

यो होटलका कर्मचारी भदौ २४ पछि नियमित काममा गइरहेका थिए । होटल सञ्चालनमा नआएको भए पनि कर्मचारीलाई लक्ष्मीपूजाको अघिल्लो दिनसम्म खाना खाने व्यवस्था होटलले गरेको थियो । तिहारपछि भने एक्कासी कर्मचारीलाई नआउनु भनेर होटल प्रवेश गर्न दिइएको छैन ।
सोमबारदेखि होटलका कर्मचारी बाहिर चौरमा धर्ना दिएर बसका छन् । उनीहरुले होटलले कि रोजगारी दिनुपर्ने अन्यथा श्रम ऐन अनुसारको सेवा सुविधा दिएर पठाउनुपर्ने माग गरेका छन् ।
होटलका प्रवन्ध निर्देशक सुरेशलाल श्रेष्ठले भने क्षतिग्रस्त भवनबाट सेवा दिन नसक्ने भएकोले मजुदरलाई कानून अनुसार सेवा सुविधा दिने र चित्त बुझाएरै पठाउने बताए ।
‘जेनजी आन्दोलनपछि यो होटलको ७० वटा कोठा र लबीमा क्षति पुगेको छ । यसको पुनर्निर्माण गर्न केही समय लाग्छ । होटलले पुनर्निर्माणका लागि रिडिजाइन गर्ने, ड्यामेजको अध्ययन गर्ने सहितको काम गरिरहेकोले एक वर्षभित्र पुनर्निर्माणगरेर सञ्चालनमा ल्याउने लक्ष्य राखेको छ,’ उनले क्लिकमान्डुसँग भने ।
उनले कानूनले तोके अनुसारको सेवा सुविधा कर्मचारीलाई दिने बताए । यसका लागि कर्मचारीसँग छलफल भइरहेको उनको दाबी छ ।
‘कर्मचारीलाई कानूनले जति राहतको व्यवस्था गरेको छ, त्यो अनुसार दिन तयार छौं । यसका लागि कर्मचारीसँग बसेर छलफल गर्दै छौं,’ उनले भने, ‘होटलका कर्मचारीले कानूनअनुसार पाउनुपर्ने सेवा सुविधा पाउँछन् । कर्मचारी पनि होटल व्यस्थापनलाई सहयोग गर्न तयार भएकोले दुबै पक्षलाई राम्रो हुने गरी काम गर्छौं ।’
होटलमा पुगेकाे क्षतिकाे केही तस्बिरहरु










प्रतिक्रिया