
काठमाडौं । नेपाली कांग्रेसभित्र महाधिवेशनको मितिलाई लिएर संस्थापन पक्ष र महामन्त्री गगन थापा पक्षबीच विवाद चर्किएको छ ।
बुधबार बसेको कार्यसम्पादन समितिको बैठकले आगामी वैशाख २८ देखि ३१ गतेसम्म नियमित महाधिवेशन गर्ने प्रस्ताव बहुमतले पारित गरे पनि महामन्त्री थापाले भने विधान अनुसार पुसभित्रै ‘विशेष महाधिवेशन’ हुने दाबी गरेका छन्।
कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै महामन्त्री थापाले पार्टीका कार्यवाहक सभापतिले विधानको धारा ४३ प्रयोग गरी वैशाखमा महाधिवेशन गर्ने प्रस्ताव ल्याएको र सो प्रस्ताव बहुमतले पारित भएको जानकारी दिए । तर, उक्त निर्णयमा आफू लगायत ४–५ जना नेताहरूको ‘फरक मत’ रहेको उनले प्रष्ट पारे ।
‘आजको बैठकमा कार्यवाहक सभापतिले कार्यविधि थप्दै महाधिवेशन वैशाखमा गर्ने प्रस्ताव गर्नुभयो । हामी ४–५ जनाको फरक मत भयो तर, बहुमतले पारित भयो,’ थापाले भने, ‘तर विधानको उल्लङ्घन गर्ने छुट कसैलाई छैन। हामी फरक मत राख्यौँ भनेर घरमा गएर सुत्दैनौँ ।’
महामन्त्री थापाले विधानको धारा १७(२) अनुसार विशेष महाधिवेशनको माग गर्दै पत्र बुझाइएको र सो पत्र बुझाएको तीन महिनाभित्र महाधिवेशन बोलाउनुपर्ने संवैधानिक बाध्यता रहेको स्मरण गराए । उनका अनुसार पुस २८–२९ गते उक्त तीन महिनाको अन्तिम म्याद हो ।
‘कार्यवाहक सभापतिसहित जिम्मेवार नेताले विधानको पालना गर्नुपर्छ। एक–दुई दिनमा बैठक नबोलाए म विधान पालना नभएको कुरा टुलुटुलु हेरेर बस्दिनँ,’ उनले केन्द्रीय समितिको बैठकबाटै निर्णय गराएर भए पनि काठमाडौँमा पुसभित्रै कांग्रेसको विशेष महाधिवेशन हुने दाबी गरे ।








प्रतिक्रिया