बोनस सेयरमा जोड दिँदै आएका बिमा कम्पनी एकाएक किन नगद लाभांशमा केन्द्रित भए ?

2.7k
Shares

काठमाडौं । गत वर्षसम्म बोनस सेयरमा जोड दिएका बिमा कम्पनीहरुले अहिले भने नगद लाभांश वितरणलाई प्राथमिकता दिएका छन् ।

गत वर्षसम्म आफ्नो वितरणयोग्य मुनाफाबाट लाभांश घोषणा गर्दा बोनस सेयरमा जोड दिएका बिमा कम्पनीहरुले अहिले भने नगद लाभांशलाई जोड दिन थालेका हुन् ।

दुई वर्षअघि अर्थात् आर्थिक वर्ष २०७९/८० मा लाभांश घोषणा गरेका ११ जीवन बिमा कम्पनीमध्ये १० कम्पनीले बोनस सेयर वितरण गरेका थिए भने लाभांश घोषणा गरेका ७ निर्जीवन बिमा कम्पनीमध्ये ५ कम्पनीले बोनस सेयर दिएका थिए ।

उक्त वर्ष जीवन–निर्जीवन दुबै किसिमका बिमा कम्पनीले नगद लाभांशभन्दा पनि बोनस सेयर वितरणलाई बढी प्राथमिकता दिएका थिए ।

यसपछि, अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा पनि बिमा कम्पनीले सोही किसिमको शैली अपाए । आफ्नो वितरणयोग्य मुनाफाबाट लाभांश घोषणा गरेका ११ जीवन बिमा कम्पनी मध्येमा ८ कम्पनीले बोनस सेयर दिँदा लाभांश घोषणा गरेका ११ निर्जीवन बिमा कम्पनीमा ७ कम्पनीले बोनस सेयर दिए ।

आर्थिक वर्ष २०७९/८० मा जस्तै अघिल्लो आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गर्दा पनि जीवन–निर्जीवन दुबै बिमा कम्पनीले नगद लाभांश वितरणमा नै जोड दिए ।

तर, अहिले भने लाभांश घोषणाको उक्त शैली फेरिएको छ । गत आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट हालसम्म लाभांश घोषणा गरेका ११ जीवन बिमा कम्पनी मध्येमा ४ वटाले मात्रै बोनस सेयर वितरण गर्ने भएका छन् ।

यस्तै, गत आवको मुनाफाबाट लाभांश घोषणा गरेका ७ निर्जीवन बिमा कम्पनी मध्येमा २ कम्पनीले मात्रै बोनस सेयर दिने भएका छन् ।

आव २०८०/८१ को मुनाफाबाट लाभांश घोषणा गर्दा २६.९८ प्रतिशतसम्म बोनस सेयर वितरण गरेका जीवन कम्पनीले नगद लाभांश भने २१.०५ प्रतिशतसम्म मात्रै दिएका थिए ।

गत आवको मुनाफाबाट लाभांश घोषणा गर्दा जीवन बिमा कम्पनीले २१.०५ प्रतिशतसम्म नगद लाभांश दिने निर्णय गर्दा बोनस सेयर भने ५ प्रतिशतसम्म मात्रै दिने भएका छन् ।

आव २०८०/८१ को मुनाफाबाट लाभांश वितरण गर्दा निर्जीवन बिमा कम्पनीले १८ प्रतिशतसम्म बोनस सेयर दिएका थिए । यस वर्षको मुनाफाबाट सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ३० प्रतिशत नगद लाभांश दिनुबाहेक अन्यको निकै कम थियो ।

गत आवको नाफाबाट अहिले लाभांश घोषणा गरेका निर्जीवन बिमा कम्पनीले २५ प्रतिशतसम्म नगद लाभांश दिने निर्णय गर्दा बोनस सेयर भने ६ प्रतिशतसम्मको मात्रै छ ।

अर्थात्, गत वर्षसम्म बोनस सेयर वितरण गर्ने बिमा कम्पनीको संख्या बढी रहेकोमा अहिले भने ती कम्पनीले नगद लाभांशलाई नै बढी प्राथमिकता दिएका छन् ।

बोनस सेयरबाट नगद लाभांशमा किन ‘सिफ्ट’ भए बिमक?

पहिला नेपाल बिमा प्राधिकरणले निर्जीवन बिमा कम्पनीको न्यूनतम चुक्ता पुँजी १ अर्ब र जीवन बिमा कम्पनीको २ अर्ब रुपैयाँ तोकेको थियो । तर, २०७८ चैत १० मा निर्देशन जारी गर्दै प्राधिकरणले जीवन बिमाको न्यूनतम चुक्ता पुँजी ५ अर्ब र निर्जीवन बिमाको साढे २ अर्ब रुपैयाँ कायम गर्यो ।

प्राधिकरणले न्यूनतम चुक्ता पुँजीको सीमा १ सय ५० प्रतिशतले बढाएर एक वर्षभित्र कायम गर्न भनेपछि बिमा कम्पनीहरुले मर्जरमा जानेदेखि सार्वजनिक निष्कासन तथा हकप्रद सेयर निष्कासनसम्मको बाटो रोजे ।

त्यसबाट पनि पुँजी पुर्याउन सकस भएपछि धेरै कम्पनीले प्राप्त नाफाबाट सेयरधनीलाई दिने प्रतिफल (बोनस सेयर) पुँजीकरण गरी चुक्ता पुँजी पु¥याउने बाटो रोजेका थिए ।

बोनस सेयर दिँदा कम्पनीले सेयरधनीलाई नगद नदिई थप सेयर दिने गर्दछ जसले गर्दा कम्पनीको सेयरधनीसँग भएको सेयर संख्या वृद्धि हुन पुग्छ । बोनस सेयर दिँदा कम्पनीको नगद बाहिर नजाने र यो पैसा कम्पनीहरूले ऋण तिर्न, नयाँ आयोजना बनाउन, व्यवसाय विस्तार गर्न, नयाँ क्षेत्रमा लगानी र पुँजी पुर्याउन बाटो खुल्छ ।

त्यसैले गत वर्षसम्म बिमा कम्पनीहरुले चुक्ता पुँजीको न्यूनतम सीमा कायम नभएका कारण बोनस सेयरमा बढी जोड दिएका थिए । अर्थात्, प्राधिकरणले चुक्ता पुँजी न्यूनतम सीमा वृद्धि गरेसँगै पुँजी पु¥याउन नाफा रकमबाट बोनस सेयर वितरण गर्ने कार्य बिमा कम्पनीको प्राथमिकतमा परेको थियो ।

तर, अहिले सबैजसो जीवन बिमा कम्पनीको चुक्ता पुँजी प्राधिकरणले तोकेअनुसार पुगिसकेकाले नगद लाभांश वितरण गर्नेमा बढी जोड दिन थालेका हुन् । सोही कारण गत वर्षसम्म बोनस सेयर वितरणलाई प्राथमिकता दिएका बिमा कम्पनी अहिले भने नगद लाभांश वितरणमा केन्द्रीत भएका हुन् ।

नगद लाभांश र बोनस सेयरमा कुन राम्रो?

कम्पनीहरुले आफ्ना सेयरधनीका लागि नगद लाभांश र बोनस सेयर दिने गर्दछन् । हालसम्म गत आर्थिक वर्षको वितरणयोग्य मुनाबाट सय भन्दा बढी सूचीकृत कम्पनीहरुले लाभांश घोषणा गरिसकेका छन् । कम्पनीहरुले लाभांश घोषणा गर्दा नगद लाभांश राम्रो कि बोनस सेयर भन्ने विषय पनि आउने गर्दछ ।

कम्पनीले नगद लाभांश वितरण गर्दा सेयरधनीले कम्पनीको नाफाबाट सिधा नगद रकम प्राप्त गर्दछन् । यो रकमले तुरुन्तै व्यक्तिगत आय बढाउन र तत्कालीन आवश्यक्ता पुरा गर्नसमेत सहयोग गर्छ । नगद लाभांशबाट लगानीकर्तालाई तत्काल रकम प्राप्त हुने भएकाले नियमित आय चाहनेका लागि यो राम्रो मानिन्छ ।

साथै, नगद लाभांशले बजारमा सेयर संख्या परिवर्तन नगर्ने हुँदा सेयर मूल्यमा समायोजन हुँदैन र मूल्य स्थिरतामा मद्दत गर्दछ । अर्कोतर्फ, बोनस सेयरले कम्पनीले कमाएको नाफालाई नगदमा बाँड्नुको सट्टा अतिरिक्त सेयरको रूपमा सेयरधनीलाई थपिदिने काम हुन्छ ।

यसले कम्पनीलाई नगद प्रवाह बचत गर्न मद्दत गर्दछ र कम्पनीले आफ्नो पुँजीलाई व्यापार विस्तार तथा लगानी वृद्धिमा सहयोग गर्न सक्छ । बोनस सेयरले लगानीकर्ताको कुल सेयर स्वामित्व बढाउँछ । तर बोनस सेयर वितरणपछि सेयर संख्या वृद्धि हुने भएकाले बजार मूल्य समायोजन भएर प्रतिकित्ता मूल्य घट्न जान्छ ।

बोनसले कम्पनीको पुँजी वृद्धि गर्छ भने लामो समयपछि सेयरको मूल्य वृद्धि हुने सम्भावना पनि बढाउँछ । सेयर मूल्य उचाइमा राख्न मात्रै बोनस सेयरमा जोड दिने कम्पनी कालान्तरमा पुँजीको भारीले थलिने अवस्थामा पुग्न पनि सक्छन् ।

पुँजी बढे अनुसार व्यवसाय विस्तार भएन र नाफाको वृद्धिदर सोही अनुपातमा भएन भने पहिले दिएकै दरमा लाभांश दिन कम्पनीहरूलाई हम्मे पर्न सक्छ । त्यसैले समग्रमा कम्पनीले बोनस सेयर र नगद लाभांश दुवै मिलाएर दिएमा राम्रो मानिन्छ ।
जीवन बिमा कम्पनीको लाभांश

आर्थिक वर्ष २०८१/८२ को लागि हालसम्म ११ वटा जीवन बिमा कम्पनीले लाभांश घोषणा गरेका छन् । सञ्चालनमा रहेका १४ जीवन बिमा कम्पनीमध्ये ३ वटा जीवन बिमा कम्पनीले भने लाभांश घोषणा गरेका छैनन् । लाभांश घोषणा गरेका जीवन बीमा कम्पनीहरूमध्ये अधिकांशले नगद लाभांश दिएका छन् ।

नेपाल लाइफ इन्स्योरेन्स र लाइफ इन्स्योरेन्स कर्पोरेसनले सबैभन्दा धेरै २१ प्रतिशत लाभांश घोषणा गरेका छन् । लाइफ इन्स्यारेन्स कर्पोरेशनले गत आवको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजीको २१.०५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको छ ।

सिटिजन लाइफ इन्स्योरेन्सले कायम चुक्ता पुँजीको २० प्रतिशत (करसहित) नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । यसअघि कम्पनीले २६.९८ प्रतिशत बोनससहित २८.४० प्रतिशत लाभांश दिएको थियो ।

नेपाल लाइफ इन्स्योरेन्सले सेयरधनीका लागि २१.०५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ । जसअनुसार कम्पनीले सेयरधनीहरूलाई ५ प्रतिशत बोनस सेयर र १६.०५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको छ ।
सन नेपाल लाइफले गत आर्थिक वर्षको नाफाबाट २०.२६ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । जसमा जसमा १५.२६३२ प्रतिशत नगद लाभांश र ५ प्रतिशत सेयर बोनस छ ।

सूर्यज्योति लाइफ इन्स्योरेन्सले आफ्ना सेयरधनीलाई १३ प्रतिशत नगद लाभांश दिने घोषणा गर्दा रिलायबल नेपालले १२ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले ८.४२ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेकामा ४ प्रतिशत बोनस सेयर रहेको छ भने ४.४२१ प्रतिशत नगद लाभांश (करसहित) रहेको छ ।

यस्तै, आईएमई लाइफले १०.५३ प्रतिशत, सानिमा रिलायन्सले १०.१७, नेशनल लाइफले ८.५ प्रतिशत र हिमालयन एभरेष्टले ८ प्रतिशत नगद लाभांश दिने घोषणा गरेका छन् ।

निर्जीवन बिमा कम्पनीको लाभांश

निर्जीवन बिमा कम्पनीमा हालसम्म सिद्धार्थ प्रिमियम इन्स्योरेन्सले सबैभन्दा बढी २५ प्रतिशत नगद लाभांश घोषणा गरेको छ ।

गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट एनएलजी इन्स्योरेन्सले ४ प्रतिशत बोनस सेयर र ३.३७ प्रतिशत नगद लाभांश (करसहित), शिखर इन्स्योरेन्सले ६ प्रतिशत बोनस सेयर र ०.३१ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गर्दा अन्यले नगद लाभांश दिने घोषणा गरेका छन् ।

हालसम्म सगरमाथा लुम्बिनी इन्स्योरेन्सले १५ प्रतिशत नगद लाभांश(करसहित), नेपाल इन्स्योरेन्सले ६.३४ प्रतिशत नगद लाभांश (करसहित), हिमालयन एभरेष्टले ८ प्रतिशत नगद लाभांश (करसहित) र आईजीआई प्रुडेन्सियलले ५ प्रतिशत नगद लाभांश (करसहित) दिने निर्णय गरेको छ ।

कम्पनीहरूले घोषणा गरेको लाभांश नेपाल बिमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीमा वितरण हुने गर्दछ ।