सुशीला कार्कीको सपथ राति ९ बजे

56
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका छन् ।

कार्कीलाई आजै राति ९ बजे प्रधानमन्त्री पदको सपथ समेत खुवाउने तयारी भएको राष्ट्रपति कार्यालयले जनाएको छ।

शुक्रबार बिहानदेखि राष्ट्रपति कार्यालय शितल निवासमा भएको लगातार छलफलपछि प्रतिनिधिसभा विघटन गरी पूर्वप्रधानन्यायाधीश कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गर्ने सहमति भएको थियो ।

आन्दोलनरत जेन-जी पुस्ताको मागअनुसार सुरूमै संसद विघटन गरेर कार्कीलाई प्रधानमन्त्री बनाउने विषयमा सहमति जुटेको थियो ।

यसअघि राष्ट्रपति रामचन्द्र पौडेल र जेन-जीतर्फबाट प्रधानमन्त्रीका लागि प्रस्तावित कार्कीबीच संसद विघटन कसको सिफारिसमा गर्ने भन्ने विषयमा मतभेद देखिएको थियो ।

राष्ट्रपति पौडेलले कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेर पहिलो मन्त्रिपरिषद् बैठकमै संसद विघटन र निर्वाचन मिति घोषणा गर्ने सुझाव दिएका थिए। तर, जेन-जीका प्रतिनिधिहरू भने संसद विघटन भएपछि मात्र अन्तरिम सरकार गठन गर्ने अडानमा रहे।

यही विवादका कारण वार्ता लम्बिएको भए पनि अन्ततः जेन-जीको मागलाई स्वीकार गर्दै संसद विघटनपछि कार्कीलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गरेका हुन् ।