सैनिक मुख्यालयअघि जेनजीबीच नै कुटाकुट (भिडिओ)

336
Shares

काठमाडौं । जेनजी आन्दोलनपछि अन्तरिम सरकार गठनका विषयमा विभिन्न समूहबीच विवाद चर्किंदै गएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामापछि मुलुक सरकारविहीन अवस्थामा पुगेको बेला सैनिक मुख्यालय जंगीअड्डा र सुन्धारा क्षेत्रमा युवाहरूबीच पटक–पटक झडप भएको छ।

नेपाली सेनाले बुधबार जंगीअड्डा गेटमा माइकिङ गर्दै आफ्ना–आफ्ना ‘नेता’ को नाम र सम्पर्क नम्बर बुझाएर बिहीबार बिहान सम्पर्कमा आउन आग्रह गरेको थियो । सेनाको यस आह्वानपछि फरक–फरक समूह सिफारिस बोकेर जंगीअड्डा पुगेका थिए । तर, कसलाई अन्तरिम सरकारको प्रमुख बनाउने भन्ने विषयमा सहमति नजुट्दा उनीहरूबीच कुटाकुटसम्म भएको हो ।

एक समूहले सुशीला कार्कीलाई अघि सारेका थिए भने, अर्काले कुलमान घिसिङ र हर्क साम्पाङको नाम अगाडि सारे । साम्पाङलाई अस्वीकार गर्ने भनाइ आएपछि समर्थकमाझ हातपात भएको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।

सैनिक मुख्यालय परिसर अगाडि भिड बढेपछि सेनाले नियन्त्रण गरेको थियो । त्यसपछि युवाहरू सुन्धारा क्षेत्रमा भेला भएर आ–आफ्नो नेतृत्वको दाबी दोहोर्याइरहेका छन् ।

आन्दोलनकै नाममा लगातार आगजनी, तोडफोड र लुटपाट भइरहेका कारण देश लगभग राज्यविहीन अवस्थामा पुगेको छ । सामाजिक सञ्जालमा समेत जेनजीका विभिन्न समूह फरक–फरक वक्तव्य जारी गरिरहेका छन्, जसले आन्दोलनलाई थप विभाजित बनाएको छ ।

संगठन, संरचना वा आधिकारिक नेतृत्वको स्पष्टता नभएकै कारण यो आन्दोलन बिस्तारै अव्यवस्थित र तमासामा परिणत हुँदै गएको भन्दै आलोचना बढेको छ । सेनाले समेत यस्ता समूहहरूको वैधतामाथि प्रश्न उठाएको छ ।