
काठमाडौं । प्रदर्शन उग्र भएपछि जेनजी मुभमेन्ट नेपालले सूचना जारी गर्दै आन्दोलनमा घुसपैठ भएको जनाएको छ । आफूहरुको उद्देश्य शान्तिपूर्ण प्रदर्शन गर्ने भए पनि घुसपैठका कारण समस्या निम्तिएको जेनजीको दाबी छ ।
‘आज हाम्रो आन्दोलनले एकदमै दुःखदायी मोड लियो । न्याय, जवाफदेहिता र सुशासनका लागि सुरु गरिएको हाम्रो शान्तिपूर्ण आवाज तोडफोड र संसद् भवनतर्फ जबरजस्ती प्रवेशको प्रयासले प्रभावित भयो । तर स्पष्ट पार्न चाहन्छौं, यो हाम्रो मुल उद्देश्य कहिल्यै थिएन,’ विज्ञप्तिमा भनिएको छ ।
त्यस्तै, जेनजीले शान्तिपूर्ण संघर्ष गर्ने जनाएको छ। ‘जेन-जी को आवाज अझै पनि शान्तिपूर्ण, अनुशासित र कानुनी संघर्ष नै हो । हाम्रो आन्दोलन भवन वा संस्थाविरुद्व होइन । भ्रष्टाचार, जनताको पैसाको दुरुपयोग र विश्वासघात विरुद्ध हो,’ सूचनामा भनिएको छ, ‘सम्पूर्ण नागरिक नागरिक, नेपाल प्रहरी, विश्व समुदायलाई स्पष्ट सन्देश छ । केही व्यक्तिहरुका कार्यलाई यो पुस्ताको आवाज ठान्ने गल्ती नगर्नुहोस् । हाम्रो आवाज चोइटिन सक्दैन । नत अपहरण गरिन सकिन्छ । हामी शान्तिको पक्षमा छौं । हामी न्यायका पक्षमा छौं । हामी भविष्यको पक्षमा छौं ।’








प्रतिक्रिया