
काठमाडौं । सरकारले २३ नयाँ इलाका प्रशासन कार्यालय स्थापना गर्ने प्रक्रिया अघि बढाएको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयको प्रस्ताव स्वीकृत गर्दै उक्त विषयलाई प्रशासन समितिमा पठाएको हो । समितिले आवश्यक छलफलपछि कार्यान्वयनका लागि प्रक्रिया अघि बढाउनेछ ।
गृह मन्त्रालयका अनुसार सेवा प्रवाहलाई सहज र सरल बनाउन, जनसंख्या, भौगोलिक सुगमता तथा पहुँचमा देखिएको असमानतालाई समाधान गर्न र नागरिकलाई जिल्ला प्रशासन कार्यालय धाउनुपर्ने बाध्यता अन्त्य गर्ने उद्देश्यसहित इलाका प्रशासन कार्यालय थप्ने निर्णय गरिएको हो ।
गृहमन्त्री रमेश लेखकले आन्तरिक स्रोत व्यवस्थापनमार्फत तराईदेखि उच्च हिमाली भेगसम्म कार्यालय विस्तार गर्न जोड दिएको मन्त्रालयले जनाएको छ । यसअन्तर्गत नागरिकता प्रमाणपत्र वितरणदेखि विभिन्न प्रशासनिक काम सहज बनाउन कार्यालय स्थापना गरिनेछ।
नयाँ कार्यालय स्थापना सम्बन्धी योजना मन्त्रालयको वार्षिक बजेटमै समावेश गरिएको छ । बजेट कार्यान्वयन प्रक्रियाअन्तर्गत भौतिक संरचना निर्माण र कर्मचारीका लागि दरबन्दी व्यवस्थापन अघि बढाइनेछ। अर्थ मन्त्रालयले आवश्यक बजेट निकासा गरेपछि स्थापना प्रक्रिया कार्यान्वयनमा जानेछ ।
यसका लागि गृह मन्त्रालयले गत पुसमै सचिवस्तरीय निर्णय गरी संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन पेश गर्न कार्यदल गठन गरेको थियो। मन्त्रालयले आगामी दिनमा थप इलाका प्रशासन कार्यालय स्थापना गर्ने दीर्घकालीन योजना पनि बनाएको जनाएको छ।








प्रतिक्रिया