खडेरीको पीडामा मधेश, रोपेको ठाउँमा धाँजा फाट्यो, रोप्न नपाएको बिउ सुक्यो (तस्बिरहरू)

98
Shares

देशभर मनसुनी प्रणाली सक्रिय भएको लगभग दुई महिना जस्तो भए पनि मधेश प्रदेशका आठ जिल्लाहरूमा वर्षा हुन सकेको छैन ।

समयमै वर्षा नभएपछि यहाँका किसानहरूले चरम खडेरी र सुक्खा झेल्नु परेको छ ।
धान रोपाइँका लागि वर्षाको पानीको भर पर्नु पर्ने यहाँका किसानहरूले पानीको अभावका कारण साउनको पहिले हप्तासम्म पनि रोपाइँ गर्न पाएका छैनन् ।

सुक्खा र खडेरीका कारण असार २६ गते मधेश प्रदेश सरकारले मधेशका आठ जिल्लालाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको थियो भने साउन ७ गते बसेको नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले पनि मधेश प्रदेशलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ ।

मधेश प्रदेशका विभिन्न जिल्लाहरुमा पानीको अभावका कारण समयमै रोपाइँ हुन सकेका छैनन् भने रोपाइँ गरी सकेका खेतहरू पनि धाँजा फाट्ने, धानका बीउ सुक्ने जस्ता समस्या किसानहरूले झेली रहनु परेको छ । त्यसो त हरेक वर्ष मलखादको अभाव झेल्नु परेको मधेशका किसानहरूले यो वर्ष भने सुक्खा र खडेरीका सामना गर्नु परेको छ।

धनुषाको लक्ष्मीनीयाँ गाउँपालिका सोहनीसिनुरजोडा किसान बहादुर कवाडीका अनुसार पहिलेको वर्ष यो समयसम्म धान रोपाइँ सक्किसक्ने गरेकोमा यसपटक पानी नपर्दा धानको बीउ सुकेको छ ।

‘पहिले पहिले अहिलेसम्म रोपाइँ सकिइसकथ्यो,’ उनले भने, ‘ तर अहिले बिउ सुकिसक्यो, पम्प मोटर हुनेहरूले रोपाइँ गरे पनि धेरै गर्मीका कारण पम्प मोटरले खेतमा पानी हाल्दा पनि छिट्टै सुक्छ ।’

स्थानीय सरकार र प्रदेश सरकारले यहाँका किसान र कृषिका लागि ध्यान नदिएको उनले बताए ।

सोही गाउँका अर्का किसान विन्देश्वर रविदासले आफ्नो खेतमा भएको पम्पबाट पानी आउने अवस्था पनि नभएको देखाउँदै भने, ‘यो पम्प सुक्यो, पानी परेको छैन त्यसैले खेती समयमै गर्न पाइएन ।’

सो क्षेत्रमा सिचाइँका लागि कमला सिचाइँ आयोजना रहे पनि त्यो त्यति प्रभावकारी भने देखिएको छैन ।

सिँचाइ आयोजनाबाट धनुषा र सिरहाका २५ हजार हेक्टर कृषियोग्य जमिनमा सतह सिँचाइ (नहरमार्फत) सुविधा सहित त्यहाँका ४० हजार घरपरिवार लाभान्वित भने उद्देश्य रहे पनि अहिले यो आयोजनाका अधिकांस पम्प सञ्चालनमा छैनन् ।

लोहारपट्टी नगरपालिका महोत्तरीका किसान श्रावण कुमार चौरासिया सुक्खा खेतमा रोपाइँ गरे पनि मल पाउने अवस्था नभएको, पम्पसेट पनि वितरण नगरिएको गुनासो गरे ।

नगरपालिकाले पम्पसेट वितरण गर्दा पनि सामान्य किसानले पाउन नसकेको उनले बताए। पैसा र पहुँच हुनेले मात्र पम्पसेट पाएको उनको भनाइ छ ।

सिँचाइ आयोजनाबाट धनुषा र सिरहाका २५ हजार हेक्टर कृषियोग्य जमिनमा सतह सिँचाइ (नहरमार्फत) सुविधा सहित त्यहाँका ४० हजार घरपरिवार लाभान्वित भने उद्देश्य रहेपनि अहिले यो आयोजनाका अधिकांस पम्प सञ्चालनमा छैनन् ।

तस्बिर: प्रकाशचन्द्र तिमिल्सेना/ नेपाल फोटो लाइब्रेरी