च्वाइस ब्रान्डको तेल बेच्ने कम्पनीले ६ महिनामा गर्‍यो साढे १ अर्ब रुपैयाँको कारोबार


काठमाडौं । च्वाइस ब्रान्डको विभिन्न तेल बेच्ने एभरेष्ट सोल्भेन्टले ६ महिनामा करिब साढे १ अर्ब रुपैयाँको कारोबार गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको ६ महिनामा १ अर्ब ४४ करोड ४० लाख रुपैयाँ व्यापार गरेको हो ।

सन् २०२५ मा २ अर्ब ३३ करोड ९० लाख रुपैयाँको कारोबार गरेको कम्पनीले सन् २०२४ मा १ अर्ब ३३ करोड ८० लाख रुपैयाँ, सन् २०२३ मा २ अर्ब ११ करोड ५० लाख रुपैयाँ र सन् २०२२ मा ३ अर्ब २८ करोड ९० लाख रुपैयाँको व्यापार गरेको थियो ।

बोहरा ग्रुपद्वारा सञ्चालित कम्पनीको चालु आवको ६ महिनाको अवधिमा निर्यातमा वृद्धि हुँदा व्यापार उल्लेख्य भएको जनाएको छ ।

सन् १९८४ मा स्थापना भएको कम्पनीले सनफ्लावर तेल, भटमासको तेल, राइस ब्रान आयल र पाम आयल प्रशोधन गरी चोइस ब्रान्डमा बिक्री वितरण गर्दै आएको छ । कम्पनीले वार्षिक ६६ हजार मेट्रिक टन विभिन्न प्रकारका तेल र १२ हजार ९ सय ६० मेट्रिक टन क्षमतामा सोयाबिन र राइस ब्रान आयल प्रशोधन गर्दै आएको छ ।

कम्पनीमा ७ जनाको स्वामित्व छ । अविनास बोहराको ७३ प्रतिशत स्वामित्व रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि २ अर्ब ८३ करोड ७० लाख रुपैयाँको रेटिङ गराएको छ ।

कम्पनीले दीर्घकालीन कर्जाका लागि ९४ करोड २० लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि १ अर्ब ८९ करोड ५० लाख रुपैयाँको रेटिङ गराएको हो ।