दुर्घटनामा परेको हेलिकप्टरका घाइतेको उद्धार


काठमाडौं । खोटाङमा दुर्घटनामा परेको एयर डाइनेष्टीको हेलिकोप्टरमा घाइते भएकाहरूको उद्धार गरिएको छ । आज बिहान काठमाडौँ अन्तरराष्ट्रिय विमानस्थलबाट उडेको ‘नाइन एन-एएफक्यु’ होलिकोप्टर खोटाङको केपिलासगढी गाउँपालिका–२ खार्ताम्छाको बालबेसीस्थित अवतरणका क्रममा बिहान करिब ११:५५ बजे असन्तुलित भई दुर्घटनामा परेको नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए ।

भुलका अनुसार दुर्घटनामा परी पाइलटसहित छ जना सामान्य घाइते भएका छन् । घाइतेलाई काठमाडौंबाट गएको अर्को हेलिकप्टरबाट उद्धार गरी ल्याइएको उनले जानकारी दिए ।

खोटाङको खानीडाँडाबाट करिब १७ किलोमिटर उत्तर-पूर्वमा पर्ने बालवेशीमा अवतरणका क्रममा सन्तुलन गुमाई हेलिकप्टर दुर्घटनामा परेको हो ।

हेलिकप्टर बिहान ११:०९ बजे काठमाडौं विमानस्थलबाट उडेको थियो । हेलिकप्टर अवतरण गर्ने क्रममा जमिनमा पल्टिएको थियो ।

उक्त हेलिकप्टरमा ५ जना यात्रु र १ जना पाइलट गरी कुल ६ जना सवार थिए । घाइते यात्रु र पाइलट दुवैलाई अर्को हेलिकप्टरमार्फत उद्धार गरी थप उपचारका लागि काठमाडौंस्थित ह्याम्स अस्पताल ल्याइएको छ । उनीहरूलाई दिउँसो १२:४२ बजे अस्पताल पुर्‍याइएको प्राधिकरणले जनाएको छ ।