
एजेन्सी । गोल्डन डोम मिसाइल डिफेन्स सिल्डको मूल्य १८५ अर्ब डलर पुगेको छ ।
अन्तरिक्षमा आधारित क्षमताहरूलाई तीव्र पार्नका लागि यसको मूल्य १० अर्ब डलरले बढेको हो ।
यस कार्यक्रमका निर्देशकले मंगलबार यसको जानकारी दिँदै लकहीड मार्टिन, आरटीएक्स र नर्थरोप ग्रुम्यान मुख्य ठेकेदारका रूपमा सामेल भएको बताए ।
गोल्डन डोमले इन्टरसेप्टर मिसाइल, सेन्सर र कमान्ड–एन्ड–कन्ट्रोल प्रणाली जस्ता जमिनमा आधारित सुरक्षाको विस्तार गर्ने परिकल्पना गरेको छ । साथै, कक्षबाट आउने खतराहरू पत्ता लगाउन, ट्य्राक गर्न र सम्भावित रूपमा प्रतिकार गर्न अन्तरिक्षमा आधारित तत्त्वहरू थप्ने लक्ष्य राखेको छ । यसमा उन्नत उपग्रह नेटवर्कहरू र कक्षमा रहेका अझै विवादित हतियारहरू समावेश हुनेछन् ।
‘हामीलाई केही अन्तरिक्ष क्षमताहरूलाई तीव्र पार्न भनिएको थियो,’ गोल्डन डोमका प्रबन्धक स्पेस फोर्सका जनरल माइकल गुटलिनले भर्जिनियाको आर्लिंगटनमा आयोजित म्याकलिज डिफेन्स प्रोग्राम्स कन्फरेन्समा बताए ।
उनले थप कोषबाट लाभान्वित हुने तीनवटा कार्यक्रमहरू पहिचान गरे– एडभान्स्ड मिसाइल ट्र्याकिङ इनिसिएटिभ, स्पेस डेटा नेटवर्क र हाइपरसोनिक एन्ड ब्यालिस्टिक ट्य्राकिङ स्पेस सेन्सर जसलाई एचबीटीएसएस भनिन्छ ।
एचबीटीएसएस अन्तरिक्षमा आधारित सेन्सर प्रणाली हो जुन हाइपरसोनिक र ब्यालिस्टिक मिसाइल खतराहरू पत्ता लगाउन र ट्य्राक गर्न डिजाइन गरिएको हो । यसलाई द्रुत कोष प्याकेजमा समावेश गरी विपक्षीहरूले आफ्ना हाइपरसोनिक हतियारहरू विस्तार गर्दै जाँदा पेन्टागनले एक निरन्तर ओभरहेड ट्य्राकिङ क्षमता परिचालन गर्न देखाएको तत्परतालाई संकेत गर्छ ।
१८५ बिलियन डलरको अंकले गुटलिनले अब्जेक्टिभ आर्किटेक्चर भनेको कुरालाई समेट्छ जुन अर्को दशकमा हस्तान्तरण गरिने पूर्ण–क्षमताको प्रणाली हो ।
गुटलिनले बाह्य अनुमानहरूलाई अस्वीकार गरे जसले कार्यक्रमको सम्भावित लागत १ ट्रिलियन डलरभन्दा माथि राखेका थिए ।
ती तथ्यांकहरू विदेशमा हुने लडाइँका लागि डिजाइन गरिएका महँगा र आत्मनिर्भर रणभूमि प्रणालीहरूलाई स्वदेश रक्षा मिसनमा लागू गर्ने आधारमा निकालिएका हुन् जबकि यसका लागि मौलिक रूपमा फरक र सस्तो दृष्टिकोण आवश्यक पर्छ ।
‘मैले के निर्माण गर्दैछु भन्ने उनीहरूले अनुमान गरिरहेका छैनन्,’ गुटलिनले भने ।
गुटलिनले कमान्ड–एन्ड–कन्ट्रोल प्रणालीलाई गोल्डन डोमको सिक्रेट सस (विशेष मुख्य तत्त्व) को रूपमा वर्णन गरे । उनले नौवटा कम्पनीको कन्सोर्टियमको बारेमा बताए जुन सुरुमा ६ वटा फर्महरूको स्वगठित समूहको रूपमा सुरु भएको थियो । पछि लकहीड मार्टिन, आरटीएक्स र नर्थरोप ग्रुम्यान मुख्य साझेदारको रूपमा सामेल भए ।
कन्सोर्टियमले हरेक बिहीबार साँझ गुटलिनलाई ब्रिफिङ गर्छ र कमजोर प्रदर्शन गर्ने सदस्यहरूलाई समूहबाट मतदानद्वारा हटाउन सक्छ ।
जनरलले अन्तरिक्षमा आधारित इन्टरसेप्टरहरूलाई कार्यक्रमको सबैभन्दा उच्च जोखिमपूर्ण तत्त्वको रूपमा पहिचान गरे र स्केलेबिलिटी (विस्तार योग्यता) र किफायतीपनलाई मुख्य चुनौतीका रूपमा उल्लेख गरे ।
उनले निर्देशित ऊर्जा हतियार र अर्को पुस्ताको आर्टिफिसियल इन्टेलिजेन्सलाई प्रति–प्रहार लागत घटाउन र हतियार भण्डारण क्षमता बढाउनका लागि सबैभन्दा आशाजनक प्रविधिको रूपमा वर्णन गरे ।







प्रतिक्रिया