
एजेन्सी । हर्मुज जलयोजकमा इरानको नियन्त्रणले विश्वभरि इन्धन अभावको त्रास पैदा गरेको छ तर भारतमा भने यसको असर अलि फरक क्षेत्रमा देखिएको छ ।
देशका केही भागमा समोसाहरू मेनुबाट हराउन थालेका छन् भने लोकप्रिय चियामा पहिलेको जस्तो सुगन्ध आउन छाडेको छ ।
विश्वको सबैभन्दा तीव्र गतिमा बढिरहेको प्रमुख अर्थतन्त्र भारतले आफ्नो कुल उपभोगको करिब ८५ प्रतिशत तरल पेट्रोलियम ग्यास (एलएनजी) पश्चिम एसियाबाट आयात गर्छ जसको ठूलो हिस्सा १.४ अर्ब जनसंख्याको भान्सामा प्रयोग हुन्छ ।
इरानसँग अमेरिका–इजरायलको युद्धका कारण आपूर्ति प्रभावित भएपछि भारत सरकारले औद्योगिक प्रयोगकर्ताहरू क्यान्टिन, होटल र रेस्टुरेन्टहरूमा जाने बहुमूल्य इन्धन कटौती गरी घरायसी चुल्हो बाल्नका लागि प्राथमिकता दिन थालेको छ ।
आफ्नो भान्सा चलाइराख्न केही सेफहरूले विकल्पहरू खोजिरहेका छन् वा केही विशेष मेनुहरू कटौती गरिरहेका छन् ।
कतिपयले इन्डक्सन चुल्हो प्रयोग गर्न थालेका छन् तर समस्या के छ भने परम्परागत भारतीय खाना र इलेक्ट्रोम्याग्नेटिक क्वाइल (इन्डक्सन) बीचको तालमेल पूर्ण रूपमा मिल्दैन ।
भारतीय खाना पकाउने शैली उच्च ताप, फलामको भारी भाँडो र खुला ज्वाला (आगो) को एक प्रकारको जादुमय मिश्रण हो । ग्यासको आगोबिना करीमा हुनुपर्ने गहिराइ आउँदैन, तन्दुरीले पाउनुपर्ने खास स्वरूप पाउँदैन र सबैको प्रिय समोसा, जुन उम्लिरहेको तेलको तीव्र तापमा पकाइन्छ, त्यो फिक्का देखिन्छ ।
उत्तर–पश्चिमी सहर जयपुरको प्रसिद्ध रेस्टुरेन्ट गुलाबजी चियाका मालिक चेतन सिंहले एलपीजी अभावका कारण आफ्ना बन बटर र समोसा जस्ता मुख्य परिकार मेनुबाट हटाउनुपरेको बताए । ‘मानिसहरू सामान्यतया यहाँ यसैका लागि लाइन लाग्ने गर्थे,’ उनले भने, ‘त्यसैले मानिसहरू निराश छन् किनभने जयपुर आउने मानिसहरूका लागि यो एक प्रमुख गन्तव्य हो ।’
उनीहरूले आफ्नो प्रसिद्ध मसला चिया बनाउने तरिकामा पनि सम्झौता गर्नुपरेको छ । ‘हामी इन्डक्सनमा चिया उमालिरहेका छौं तर यो पहिलेको जस्तो छैन । यसमा त्यो स्वाद आइरहेको छैन,’ सिंहले भने, ‘हामीले मेनु सीमित गरेका छौं तर कुनै पनि कुराको स्वाद पहिले जस्तो छैन किनभने ग्यासको चुल्होबाट मात्र प्राप्त हुने निश्चित ताप र स्वाद अरूमा पाइँदैन ।’
यस अभावलाई सम्बोधन गर्न रिफाइनरीहरूबाट आन्तरिक एलपीजी उत्पादन करिब ३८ प्रतिशतले बढाइएको भारत सरकारले मंगलबार एक विज्ञप्तिमार्फत जनाएको छ । ‘देशभर एलपीजीको सामान थुपार्ने काम र कालोबजारी रोक्न कदम चालिएको छ,’ र छापा मार्ने क्रममा १५ हजारभन्दा बढी सिलिन्डर जफत गरिएको विज्ञप्तिमा भनिएको छ ।
तर, यस अनिश्चितताले भारतीय स्ट्रीट फूड र द्रुत सेवा दिने रेस्टुरेन्टहरूको गतिलाई प्रभावित पारेको छ । दिल्ली र मुम्बईमा बेन्ने डोसा रेस्टुरेन्ट चलाउने अखिल अय्यरले आफ्नो भान्सा चलाउन केही परिवर्तनहरू गर्नुपरेको बताए ।
‘हामीले इडली र सबै फ्राइड (तेलमा तारिने) आइटमका लागि इन्डक्सन प्रयोग गर्न थालेका छौं,’ उनले भने, ‘जुन कुरा ग्यास बिना पकाउन सकिन्छ, ती सबैका लागि विकल्प खोजेका छौं ।’
तर, स्टिम गर्ने वा डिप–फ्राई गर्ने कुराहरू विद्युतीय तापमा सम्भव भए पनि अय्यरको मेनुको मुख्य आकर्षण डोसाका लागि भने यो सम्भव भएन । ‘हामीले डोसाका लागि इन्डक्सनमा परीक्षण गर्यौं तर गुणस्तर राम्रो पाएनौं,’ उनले भने, ‘यसलाई ज्वाला चाहिन्छ, ग्यास चाहिन्छ, आगो चाहिन्छ । हामी फलामको तावामा पकाउँछौं । यसलाई खरो बनाउन र हामीले चाहेको गुणस्तर दिन उच्च ताप चाहिन्छ ।’
आर्थिक केन्द्र मुम्बईमा रहेको अय्यरको एउटा शाखामा डोसा बेच्न बन्द गरिएको छ किनभने उनीहरूसँग अन्तिम एउटा सिलिन्डर मात्र बाँकी छ ।
गत साता धेरै शहरहरूमा मानिसहरू ग्यास वितरण केन्द्र बाहिर घण्टौंसम्म लाइनमा बसेको देखियो । केही त आफ्नो घरका लागि एक सिलिन्डर सुरक्षित गर्न बिहान ३ बजे नै पुगेका थिए ।
यसैबीच ९२ हजार ७ सय १२ मेट्रिक टन एलपीजी बोकेका दुईवटा भारतीय जहाजले हर्मुज जलयोजक पार गरेका छन् जुन क्षेत्र अमेरिका र इजरायलले इरानमाथि आक्रमण सुरु गरेदेखि लगभग बन्द जस्तै छ ।
ऊर्जा संकटको डरले मानिसहरूमा सामान थुपार्ने प्रवृत्ति बढेको छ । गत साता रोयटर्सले अमेजन इन्डियामा इन्डक्सन चुल्होको बिक्री ३० गुणाभन्दा बढीले बढेको रिपोर्ट गरेको थियो ।
बेन्ने डोसाका अय्यरले यो प्रभाव लम्बियो भने आफ्नो टोलीले थप सिर्जनात्मक हुनुपर्ने बताए । ‘हामी फलामको तावा तताउने अन्य तरिकाहरू खोजिरहेका छौं जसमा दाउरा जस्ता परम्परागत माध्यमहरू पनि पर्न सक्छन्,’ उनले भने ।
यद्यपि, उनी वातावरणमा पर्ने असरप्रति पनि सचेत छन् । ‘हामी प्रदूषण फैलाउन चाहँदैनौं,’ उनले भने ।
अनेकौं बाधाहरूका बाबजुद अय्यर एउटा कुरामा दृढ छन् । उनी आफ्नो मेनुबाट डोसालाई सधैंका लागि हटाउने छैनन् ।
‘हामीले बेन्ने सुरु गर्नुको कारण नै राम्रो डोसा खुवाउन खोजेकाले हो,’ उनले भने ।







प्रतिक्रिया