विराटनगरमा पहिलो पटक घर निर्माण सम्बन्धी प्रदर्शनी हुँदै


विराटनगर । उद्योग संगठन मोरङले औद्योगिक तथा व्यावसायिक क्षेत्रको आर्थिक गतिशीलता अभिवृद्धि गर्नुका साथै बजार प्रवर्द्धन र निर्माण क्षेत्रसम्बन्धी जनचेतना विस्तार गर्न कोशी प्रदेशमा पहिलो पटक घर निर्माणसम्बन्धी प्रदर्शनी गर्ने भएको छ।

प्रदर्शनी यहाँको जैन भवनमा चैत १२ देखि १६ गतेसम्म सञ्चालन हुनेछ।

यस प्रदर्शनीमार्फत नेपाली निर्माण सामग्री तथा सेवाहरूको प्रवर्द्धन, नवप्रवर्तनलाई प्रोत्साहन, डिजाइन, सामग्री, प्रविधि र सेवाबीच सहकार्यको विकास तथा उपभोक्तामा गुणस्तर, दिगोपन र आधुनिक निर्माण अभ्याससम्बन्धी सचेतना अभिवृद्धि हुने संगठनको विश्वास छ।

प्रदर्शनी अवधिभर निर्माण क्षेत्रसँग सम्बन्धित उद्योगी, व्यवसायी तथा अन्य सरोकारवालाहरूको सहभागितामा दैनिक विषयगत (थिमेटिक) सेसन, बीटुबि तथा बीटुसी नेटवर्किङ बैठकसमेत आयोजना गरिने संगठनका अध्यक्ष नन्दकिशोर राठीले बताए।

प्रदर्शनीमा आवास तथा भवन निर्माण सामग्री, बाथरुम, विद्युतीय सामग्री, फर्निचर, सजावट, इन्टेरियर डिजाइन, निर्माण सेवा, प्रविधि तथा आविष्कार, वित्तीय सहजीकरण तथा बीमा लगायतका क्षेत्रका ७५ भन्दा बढी स्टल रहने बताइएको छ।

निर्माण क्षेत्रसँग सम्बन्धित नेपाली औद्योगिक उत्पादन तथा सेवाहरूको प्रवर्द्धन गर्दै नवप्रवर्तनलाई प्रोत्साहन गर्ने र यस क्षेत्रको समग्र इकोसिस्टमलाई सुदृढ बनाई बजारलाई थप गतिशील बनाउन सहयोग पुर्‍याउने प्रदर्शनीको उद्देश्य रहेको बताइएको छ।