एआई एसोसिएसन नेपाल र टीजेएफबीच सहकार्यको सम्झौता, प्रविधिको प्रयोगलाई प्रवर्द्धन गरिने


काठमाडौं । एआई एसोसिएसन नेपाल र प्रविधि पत्रकार मंच (टीजेएफ)बीच कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी सचेतना, ज्ञान आदानप्रदान र अनुसन्धानलाई प्रवर्द्धन गर्ने उद्देश्यले सहकार्यको समझदारी भएको छ ।

बुधबार एक कार्यक्रमका बीच एआई एसोसिएसन नेपालका अध्यक्ष शैलेन्द्रराज गिरी र टीजेएफका अध्यक्ष पूर्णभक्त दुवालबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

सम्झौता अनुसार दुवै संस्थाले कृत्रिम बुद्धिमत्ता, मेशिन लर्निङ, डाटा साइन्स, अटोमेशन, जेनेरेटिभ प्रविधि, एआई नीतिनियम तथा यसको नैतिक प्रयोग जस्ता विषयमा तालिम, कार्यशाला र ज्ञान आदानप्रदान कार्यक्रम सञ्चालन गर्नेछन् । यसका लागि एआई एसोसिएसन नेपालले टीजेएफका सदस्य पत्रकारलाई लक्षित गर्दै विभिन्न सचेतनामूलक तथा प्राविधिक कार्यक्रम आयोजना गर्ने प्रतिबद्धता जनाएको छ ।

टीजेएफले एआई क्षेत्रका विकास, नवप्रवर्तन, अवसर, चुनौती, जोखिम तथा जिम्मेवार प्रयोगसम्बन्धी विषयमा सामग्री उत्पादन गरी आफ्ना सदस्य सञ्चार माध्यममार्फत व्यापक रूपमा प्रसारण गर्नेछ । दुवै पक्षले आवश्यकताअनुसार गोष्ठी, सम्मेलन, सार्वजनिक संवाद तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्यक्रमहरूमा सहभागिता र अवलोकन भ्रमणका अवसरहरूमा समेत सहकार्य
गर्नेछन् ।

सम्झौतामा प्रत्येक वर्ष कृत्रिम बुद्धिमत्ता तथा प्रविधिसम्बन्धी विषयमा कम्तीमा एक संयुक्त अनुसन्धान परियोजना सञ्चालन गर्ने उल्लेख गरिएको छ । यस्ता कार्यक्रमका लागि आवश्यक आर्थिक व्यवस्थापन आपसी सहमतिमा तय गरिनेछ ।

२ वर्षका लागि मान्य रहने उक्त समझदारी पत्र नेपालका कानुनअनुसार कार्यान्वयन हुनेछ । साथै, दुवै पक्षले आपसी सहमतिमा संशोधन गर्न सक्ने र कुनै विवाद उत्पन्न भएमा आपसी परामर्शमार्फत समाधान गर्ने प्रावधानसमेत राखिएको छ ।