महासंघका अध्यक्ष ढकालको आह्वानः आगामी नेतृत्व सर्वसम्मत रूपमा चयन गरौं


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघको आगामी नेतृत्व सर्वसम्मत रूपमा चयन गर्नुपर्नेमा जोड दिएका छन् ।

ललितपुर उद्योग वाणिज्य महासंघको ५९औं स्थापना दिवसका अवसरमा बुधबार ललितपुरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले महासंघभित्र सहमति र सहकार्यमार्फत नेतृत्व चयन गर्न सके संस्थागत एकताको आधार हुने बताए । उनले निजी क्षेत्रको साझा संस्था भएकाले यसको नेतृत्व पनि साझा सहमतिमै चयन हुँदा महासंघ अझ सशक्त र प्रभावकारी बन्ने धारणा राखे ।

अध्यक्ष ढकालले ललितपुरलाई मौलिक उत्पादनको सहरका रूपमा विकास गर्दै यहाँको उत्पादनको गुणस्तर कायम राख्ने र उत्पादन पनि बढाउनुपर्नेमा जोड दिए । ‘यहाँका परम्परागत सीप, कला र स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न सके निर्यात वृद्धि गर्ने ठूलो सम्भावना छ । तर मौलिक उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्न गुणस्तरसँगै परिमाण पनि बढाउन आवश्यक छ,’ उनले भने ।

उनले उत्पादनमूलक क्षेत्रमा लगानी वृद्धि, प्रविधिको प्रयोग र बजार विस्तारमार्फत निर्यात अभिवृद्धि गर्नुपर्नेमा जोड दिए । साथै, स्थानीय तह, निजी क्षेत्र र सरकारबिच समन्वय गरी उत्पादनदेखि बजारसम्मको शृङ्खलालाई सुदृढ बनाउनुपर्ने धारणा व्यक्त गरे । उनले उद्यमशीलता विकास, रोजगारी सिर्जना तथा समग्र आर्थिक विकासका लागि ललितपुर उद्योग वाणिज्य संघले निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको बताए ।

अध्यक्ष ढकालले देशमा औद्योगिक वातावरण निर्माणका लागि नीतिगत सुधार अपरिहार्य रहेको उल्लेख गर्दै लगानीमैत्री नीति, सरल कर प्रणाली, पूर्वाधार विकास र प्रशासनिक झन्झट कम गर्नु आवश्यक रहेको बताए । उनले निजी क्षेत्रको आवाजलाई राज्यले गम्भीरतापूर्वक सुन्नुपर्ने र नीति निर्माण प्रक्रियामा निजी क्षेत्रको प्रभावकारी सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिँदै त्यसका लागि निजी क्षेत्रको एउटै आवाज हुनुपर्ने धारणा राखे ।

अध्यक्ष ढकालले जिल्ला तथा नगरस्तरबाट उठेका माग र सुझावलाई समेट्दै महासंघको विधान संशोधन गरिएको जानकारी दिए । यसले संगठनलाई थप समावेशी, प्रतिनिधिमूलक र सुदृढ बनाउने विश्वास उनले व्यक्त गरे । संशोधित विधानले जिल्ला, नगर तथा महिला उद्यमीहरूको प्रतिनिधित्व बढ्ने उनले बताए ।