गभर्नर डा विश्वनाथ पौडेलले मौद्रिक नीति सार्वजनिक गर्दा जब ‘जय नेपाल’ भने…

5.5k
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ पौडेलले कार्यकाल सम्हालेपछि पहिलो मौद्रिक नीति सार्वजनिक गरे । पौडेलले सजगतापूर्वक लचिलो कार्यदिशा सहितको मौद्रिक नीति सार्वजनिक गरे ।

शुक्रबार नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालयबाट करिब ३० मिनेट आगामी आर्थिक वर्ष २०८२/०८३ को मौद्रिक नीति वाचन गरेका गभर्नर पौडेलले बिदा हुनुअघिको धन्यवाद ज्ञापनपछि ‘जय नेपाल’ भने ।

सामान्यतया नेपालको जय होस् भन्ने अर्थमा ‘जय नेपाल’ को प्रयोग गर्नु सामान्य विषय हो । तर, यो शब्द नेपाली राजनीतिक वृत्तमा नेपाली कांग्रेसले प्रयोग गर्ने ‘ब्राण्ड’ हो ।

नेपाली कांग्रेसका नेताहरुले कुनै पनि भाषणको अन्त्य वा भेटघाटमा सम्बोधनका क्रममा ‘जय नेपाल’ को प्रयोग गर्ने गरेका छन्।

हुन त गभर्नर नियुक्त हुनु केहीअघिसम्म डा विश्वनाथ पौडेल नेपाली कांग्रेसको राजनीतिमा सक्रिय थिए ।

२०७९ को प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसबाट चितवन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाको टिकट पाएपछि योजना आयोगको उपाध्यक्षबाट राजीनामा दिएर उनी चुनाव लड्न गएका थिए । तर, उक्त निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरि ढकाल विजयी भए, पौडेल तेस्रो बने ।

२०७९ को निर्वाचनमा पराजित भएपछि पौडेल सक्रिय प्राध्यापन पेशामा लागेका थिए भने कांग्रेसको राजनीतिबाट अलग भएको उनले बताउँदै आएका छन् ।

तर, शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्दा उनमा राजनीतिक ‘धङधङी’ स्पष्ट देखिएको छ । वामपन्थी दलको कोटामा गभर्नर नियुक्त भएकाले ‘लालसलाम’ र कांग्रेस कोटाबाट बनेकाले ‘जय नेपाल’ भन्दै ती दलहरुको ब्राण्डलाई प्रयोग गर्नु उपर्युक्त होइन।

लामो रस्साकस्सीपछि गभर्नर छनोट समितिबाट राजीनामा दिएर उनी कांग्रेस कोटामा गभर्नर बनेका हुन्, त्यसैले उनमा कांग्रेसप्रति सद्भाव रहनु अस्वभाविक भने होइन । तर, नियामक निकायमा रहेकाले कुनै दल विशेषको पक्षपोण गर्ने यसअघिको घटनाक्रमलाई उनले पछ्याउनु उपुरयुक्त भने होइन ।

क्लिकमान्डुसँग केहीअघिको अन्तर्वार्तामा गभर्नर पौडेलले राष्ट्र बैंकको नीतिमा राजनीतिक रंग देखाउदिनँ भन्ने जवाफ आफूले कामबाट देखाउने बताएका थिए ।

‘राष्ट्र बैंकको नीतिमा राजनीतिक रंग देखाउदिनँ भन्ने जवाफ म कामबाट देखाउनेछु । मैले राजनीति छोडिसकेको हो । प्रोफेसर भएर काम गरेकै दुई वर्ष भइसकेको छ । राजनीति भनेको जन्मिँदै लिएर आएको कुरा होइन, न त समाजले भिराइदिएको जात नै हो । चुनावमा गएको कुरामा त म गर्व गर्छु,’ पौडेलले भनेका थिए,’हरेक मान्छेको सिद्धान्त हुन्छ, विचार हुन्छ । सिद्धान्त नभएको मानिस कोही पनि हुँदैन । सबै मानिस कुनै न कुनै विश्वासमा चलेको हुन्छ । निर्णय तथ्य र तथ्यांकमा आधारित भएर गर्ने हो । विश्वास राख्नु अपराध होइन । मौद्रिक नीतिमा आवश्यकताका कुराहरू मात्र आउँछन्, राजनीतिक कुराहरू आउने छैनन् ।’

Skip This