मध्यपूर्वमा रहेका नेपालीको तत्काल उद्धार गर्न श्रमविज्ञ डा. नेपालको आग्रह

70
Shares

काठमाडौँ । श्रमविज्ञ डा. रामेश्वर नेपालले मध्यपूर्वका विभिन्न देशमा रहेका नेपाली श्रमिकहरूलाई सरकारले तत्काल उद्धार गर्नुपर्ने बताएका छन्।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले शुक्रबार आयोजना गरेको कार्यक्रममा उनले त्यस क्षेत्रमा धेरै नेपाली समस्यामा परेको जानकारी दिए। सरकारले तत्काल उद्धार गर्नुपर्ने अवस्था नरहेको भनी दिएको अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै उनले धेरै नेपाली देश फर्किन चाहेको उल्लेख गरे। द्वन्द्व जारी रहेकाले नेपाल फर्किन चाहनेहरूलाई उद्धार गर्न ढिलाइ गर्न नहुनेमा उनले जोड दिए।

हालसम्म झन्डै ७० हजार नेपालीले सरकारको पोर्टलमा आफूहरू असुरक्षित रहेको भन्दै नाम दर्ता गराइसकेको डा. नेपालले बताए। अवैध रूपमा काम गरिरहेका धेरै नेपाली सरकारी रेकर्डमा नभएकाले यो संख्या अझ बढ्न सक्ने उनको भनाइ छ।

अवैध रूपमा काम गर्न गएकाहरू कानुनी झन्झटमा पर्ने डरले पोर्टलमा नाम दर्ता गर्न हिचकिचाइरहेको उनले जानकारी दिए।
डा. नेपालले सरकारको प्रयास सकारात्मक भए पनि उद्धार कार्यमा प्रभावकारी काम हुन नसकेको टिप्पणी गरे।

उनले प्राथमिकताका आधारमा गर्भवती महिला, अवैध बसेका नेपाली र बढी जोखिमपूर्ण क्षेत्रमा रहेकाहरूलाई तत्काल उद्धार गर्नुपर्ने बताए। द्वन्द्वमा सबैभन्दा बढी आप्रवासीहरू मारमा पर्ने गरेको उल्लेख गर्दै उनले सम्बन्धित देशहरूले आफ्ना नागरिकलाई सुरक्षित राख्ने गरे पनि बाह्य देशका नागरिकको सुरक्षामा चासो नदेखाएको बताए।

उनले भने, ‘मान्छेहरू एकदमै त्रसित छन्। संख्या ठूलो नहोला, तर धेरैले उद्धारको माग गरिरहेका छन्। ७० हजारको हाराहारीमा त सूचीकृत नै भइसके, अवैध रूपमा रहेकाहरूको संख्या जोड्दा यो अझै धेरै हुन सक्छ।’

उनले सरकारले सुरक्षासम्बन्धी स्पष्ट र पर्याप्त सूचना प्रवाह गर्न नसकेको समेत बताए। सरकारले ‘सुरक्षित रहनुहोस्’ भनेर मात्र सूचना दिइरहेको तर कसरी सुरक्षित हुने र कहाँ के भइरहेको छ भन्नेबारे जानकारी नगराएको उनको आरोप छ। त्यहाँ रहेका नेपालीलाई दैनिक दुई-तीन पटक वस्तुस्थितिको बारेमा यथार्थ जानकारी दिनुपर्नेमा उनले जोड दिए।