अमेरिकी सैनिक विमान दुर्घटनामा ४ जनाको मृत्यु

308
Shares

एजेन्सी । अमेरिकाको सेन्ट्रल कमान्डले शुक्रबार जनाएअनुसार बिहीबार पश्चिमी इराकमा दुर्घटनाग्रस्त भएको अमेरिकी सैन्य इन्धन भर्ने विमानमा सवार ६ जना चालक दलका सदस्यमध्ये चारजनाको मृत्यु पुष्टि भएको छ ।

दुर्घटनाको परिस्थितिबारे अझै अनुसन्धान भइरहेको भए पनि अमेरिकी सेन्ट्रल कमाण्डले यो दुर्घटना शत्रुको आक्रमण वा आफ्नै सेनाको भूलवश प्रहारबाट नभएको स्पष्ट पारेको छ ।

मृतकका परिवारलाई जानकारी गराउन बाँकी रहेकाले हाल उनीहरूको परिचय गोप्य राखिएको सेन्ट्रल कमान्डले बताएको छ ।

गत फेब्रुअरी २८ देखि अमेरिका र इजरायलले इरानविरुद्ध आक्रमण सुरु गरेयता क्षति भएको यो चौथो अमेरिकी विमान हो ।

यसै महिनाको सुरुमा कुवेतको हवाई रक्षा प्रणालीले भूलवश प्रहार गर्दा अमेरिकी वायुसेनाका तीनवटा लडाकु विमानहरू खसेका थिए । ती विमानका सबै चालक दलका सदस्यहरू सुरक्षित रूपमा बाहिर निस्कन सफल भएका थिए ।

यस द्वन्द्वमा हालसम्म सात अमेरिकी सैनिक मारिएका छन् भने करिब १५० जना घाइते भएका छन् । संयुक्त राष्ट्रसंघका लागि इरानका राजदूतका अनुसार, इरानतर्फ मृत्यु हुनेको संख्या १३ सय नाघिसकेको छ ।

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प र रक्षासचिव पिट हेगसेथ दुवैले इरान युद्ध अन्त्य हुनुअघि अझै धेरै अमेरिकीहरूको ज्यान जान सक्ने चेतावनी दिएका छन् ।