तिब्बतमा ठूलो पानी परेको छैन, हिमताल विस्फोटले रसुवामा बाढी आएको आकलन

1.8k
Shares

काठमाडौं । चीनको तिब्बतमा उत्पत्ति भएको ल्हेन्दे नदीमा अचानक बाढी आउँदा रसुवामा ठूलो क्षति भएको छ । स्थानीयले भोटोकोशी भन्ने उक्त नदीमा आएको बाढीले नेपाल चीनबीचको मितेरी पुलका साथै सुक्खा बन्दरगाह बगाएको छ भने १८ जना वेपत्ता छन् ।

चिनियाँ सञ्चारमाध्यमका अनुसार उसको भूभागबाट पनि ११ जना बेपत्ता छन् ।

जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले चीनको तिब्बतस्थित ल्हेन्दे नदीको जलाधार क्षेत्रमा पछिल्लो २४ घण्टामा उल्लेखनीय वर्षा नदेखिएको जनाएको छ ।

महाशाखाले उक्त बाढी सामान्य वर्षाका कारण नभइ हिमताल विस्फोट (ग्लेसियर लेक आउटबर्स्ट फ्लड) का कारण भएको हुनसक्ने जनाएको छ ।

मंगलबार बिहान करिब ४ बजेतिर तिब्बत क्षेत्रबाट एक्कासि ठूलो बाढी ल्हेन्दे हुँदै रसुवा प्रवेश गरेको थियो ।

महाशाखाकाअनुसार बाढीको मूल कारण भारी वर्षा नभएको देखिएको छ । विश्व मौसम संगठनको ‘फ्ल्याश फ्लड गाइडेन्स सिस्टम’अन्तर्गतको ‘ग्लोबल हाइड्रोएस्टिमेटर स्याटलाइट-बेस्ड प्रिसिपिटेसन एस्टिमेट्स’ प्रणालीले भोटेकोशी जलाधार क्षेत्रमा पछिल्लो २४ घण्टामा उल्लेखनीय वर्षा नभएको देखाएको छ ।

‘तिब्बतको क्षेत्रमा थुप्रै हिमतालहरू अवस्थित छन्, जसका कारण तीमध्ये कुनै एक विस्फोट भएर बाढी आएको हुन सक्छ,’ महाशाखाको भनाइ छ ।

यस बाढीको यकिन कारण पत्ता लगाउन र बाढीले नदी तटीय क्षेत्रमा पुर्याएको असरको आकलन गर्नका लागि महाशाखाले आज बिहान ७ बजे ‘सेन्टिनल एशिया प्ल्याटफर्म’मार्फत तत्कालको भू-उपग्रह तस्बिरको आपतकालीन अवलोकन अनुरोध जारी गरेको छ।

उक्त अनुरोधबाट प्राप्त हुने उपग्रह तस्बिरका आधारमा बाढीको यथार्थ स्रोतबारे थप स्पष्टता आउने विश्वास महाशाखाले व्यक्त गरेको छ।

रसुवामा मंगलबार बिहान आएको भीषण बाढीले नेपाल–चीन सिमानामा रहेको मितेरी पुल बगाउँदा कम्तिमा १८ जना बेपत्ता भएका छन् । रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलका अनुसार बेपत्तामध्ये तीन जना नेपाल प्रहरी, तीन जना सवारी चालक, ६ जना नेपाली कामदार र ६ जना चिनियाँ नागरिक छन् ।

बाढीका कारण रसुवागढी भन्सार कार्यालय वरपर रहेका कन्टेनर र मालवाहक सवारी साधनसमेत बगाएका छन् ।

त्यस्तै रसुवागढी जलविद्युत् आयोजनामा फसेका २० जनालाई सुरक्षित स्थानमा सारिएको छ भने आयोजनाको ड्याममा आंशिक क्षति पुगेको छ।

बाढीपछि उद्धारमा खटिएको सुरक्षाकर्मी टोलीले एक नेपाल प्रहरी, एक सशस्त्र प्रहरीसहित थप सात जनालाई उद्धार गरेको बताइएको छ।

रसुवागढी प्रहरी चौकीका अनुसार बाढी मङ्गलबार बिहान ३ बजे चीनतर्फ परेको वर्षाका कारण आएको हो ।

बाढीले त्यहाँ रहेको विद्युतीय सवारी चार्जिङ स्टेसन र ७–८ वटा गाडी बगाएको छ । साथै, रसुवा भन्सार कार्यालय र रसुवागढी जलविद्युत् आयोजनाको ड्याममा समेत क्षति पुगेको छ।

नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यले बाढीका कारण ४ जलविद्युत् आयोजनामा क्षति पुगेको र २ सय ३० मेगावाट विद्युत् उत्पादन बन्द भएको जानकारी दिए ।

बाढीको असर नुवाकोट जिल्लामा पनि परेको छ । विदुर नगरपालिका–१ मा त्रिशूली नदीको बीच भागमा फसेका एक महिला र एक पुरुषलाई नेपाली सेनाको हेलिकप्टरबाट सफलतापूर्वक उद्धार गरिएको छ ।

नुवाकोटका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेका अनुसार त्रिशूली नदीमा पानीको सतह बढेपछि ती दुईजना रूख चढेर बसेका थिए। तीन घण्टा पछि उनीहरूलाई उद्धार गरिएको हो।

हालसम्म स्थानीय सरकार, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायतका टोली उद्धारमा खटिएका छन्। तर नदीमा पानीको सतह झन् बढ्दै गइरहेकाले अवस्था अझै जटिल बन्दै गएको अधिकारीहरूले बताएका छन् ।

त्रिशूली नदीमा बहाव बढेसँगै धादिङको छुट्टाछुट्टै स्थानमा दुई जनाको शव भेटिएको छ ।

गजुरी गाउँपालिका–६ बेल्खुमा र गल्छी गाउँपालिका–२ केउरेनीमा शव भेटिएका हुन् । दुवै शव पुरुषको रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए ।

बिहानैदेखि त्रिशूली नदीमा पानीको बहाव अत्यधिक बढेको छ । धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ स्थित त्रिशूली किनारमा जलाउँदै गरेको एउटा शव पनि नदीले बगाएको छ । शवदाहको बेला अकस्मात आएको बाढीले चितासहित शव बगाएको स्थानीय कुमार बस्नेतले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालय धादिङ, नुवाकोट र रसुवाले संयुक्त रूपमा जारी गरेको सूचनामा यही असार २३ गते राति भारी वर्षासँगै त्रिशूली नदीको शिर क्षेत्रमा पानीको बहाव उच्च हुँदै गएकाले नदी किनारका बासिन्दालाई विशेष सतर्कता अपनाउन अनुरोध गरिएको छ । सम्भावित बाढी, पहिरो वा अन्य प्राकृतिक विपद्का घटनाबारे नजिकैको सुरक्षा निकायलाई तुरुन्तै जानकारी गराउन पनि अनुरोध गरिएको छ ।