४० दिने तेस्रो कार्यकालका लागि एनएमबि बैंकको सिइओमा केसीको पुन:नियुक्ति, त्यसपछि घिमिरे

3k
Shares

काठमाडौं । एनएमबि बैंकले प्रमुख कार्यकारी अधिकृतमा सुनिल केसीलाई ९ वैशाख २०८२ सम्मका लागि नियुक्ति दिएको छ । बैंकको सञ्चालक समिति वैठकले केसीलाई तेस्रो कार्यकालका लागि नियुक्त गरेको हो ।

गत शुक्रबार बसेको बैंक सञ्चालक समितिले २ कार्यकाल पुरा गरेपछि पनि केसीको कार्यकाल करिब ४० दिन थप गर्ने निर्णय गरेको हो ।

फागुन मसान्तमा दोस्रो कार्यकाल सकिन लागेको केसीलाई बैंक तथा वित्तीय संस्थासम्बन्धि ऐन (बाफिया) कार्यान्वयनको मितिले ८ वर्षसम्म हुने गरी तेस्रो कार्यकालको लागि केसीको कार्यकाल थप भएको हो । बाफिया २०७४ वैशाख १० गते बाट कार्यान्वयनमा आएको थियो ।

बाफियामा प्रमुख कार्यकारी अधिकृतको कार्यकाल बढीमा ४ वर्षको हुनुपर्ने र अर्को एक कार्यकालको लागि मात्रै पुनःनियुक्त हुन सक्ने व्यवस्था छ । यस आधारमा केहीको २ कार्यकाल पुरा भएसँगै बैंकबाट बिदा हुनुपर्ने थियो । तर, बाफियामा नै बढीमा २ कार्यकालको व्यवस्था ऐन कार्यन्वयनमा आएको मितिबाट लागु हुने उल्लेख छ । जसअनुसार फागुन मसान्तमा दोस्रो कार्यकाल पुरा हुन लागेको केसीलाई बैंक सञ्चालक समितिले ९ वैशाख २०८२ सम्मको लागि कार्यकाल थप गरेको छ ।

नयाँ प्रमुख कार्यकारी अधिकृतलाई कार्यभार हस्तान्तरण गर्नको लागि पनि सिइओको कार्यकाल थप गरेको बैंकको दाबी छ ।

पाटन उच्च अदालतले वाफिया कार्यान्वयनको मितिले २ कार्यकाल अर्थात् ८ वर्ष प्रमुख कार्यकारी अधिकृतमा काम गर्न पाउने व्याख्या गर्दै प्रमुख कार्यकारी अधिकृतको कार्यकालबारे निर्णय गर्ने अधिकार केन्द्रिय बैंकको रहेको बताएको थियो ।

९ वैशाखसम्म २०८२ सम्म केसीले नै सीईओको रुपमा काम गर्नेछन् । १० वैशाखबाट गोविन्द घिमिरेले उक्त पद सम्हाल्नेछ्न् । १० वैशाखबाट नै बैंकको बरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतमा सुदेश उपाध्याय सीईओमा बढुवा हुने भएका छन् । घिमिरे र उपाध्याय हाल नायब प्रमुख कार्यकारी अधिकृतमा कार्यरत छन् ।