केबलकार बन्न नदिनेले तोडफोड र चालकलाई कुटपिट गरेपछि ताप्लेजुङमा आजबाट सवारी साधन बन्द

2.1k
Shares

काठमाडौं । केबलकार बिरोधी समूहले बसका चालकलाई कुटपिट र गाडीमा तोडफोड गरेको बिरोधमा आजबाट ताप्लेजुङमा सवारी साधन बन्द हुने भएको छ।

‘नो केबलकार समूह’ले बिहीबार आन्दोलनका घाइतेको उद्धारका लागि स्वास्थ्यकर्मी लिएर जाँदै गरेको सवारीलाई रोकेर तोडफोड गरेका थिए भने चालकलाई निर्घात कुटपिट गरेका थिए ।

गाडी तोडफोड र चालकमाथि कुटपिटको बिरोधमा ताप्लेजुङ पाथीभरा यातायात सेवा प्रालिले आजबाट ताप्लेजुङमा सवारी साधन सञ्चालन नगर्ने निर्णय गरेको जनाएको छ ।

बिहीबार पाथीभरामा आउने काफ्लेपाटीतर्फ स्वास्थ्यकर्मी लिएर जाने क्रममा केबलकार खारेजी पक्षले साङ्घातिक आक्रमण गरी मे १ ज २५७९ नं को सवारी साधनमाथि नियन्त्रणमा लिई गाडीमा समेत क्षति पुर्याउनुको साथै चालक राजकुमार पौडेललाई समेत मरणासन्न हुनेसम्म कुटपिट गरेको घटना प्रति सवारी चालक मजदुर संघले भर्त्सना गरेको छ ।

आजदेखि मेची राजमार्ग, तमोर करिडोर र धरान-वसन्तपुर- गुफा सडक हुँदै ताप्लेजुङ जिल्ला प्रवेश गर्ने सम्पूर्ण सडक सडक साथै जिल्लाका अन्य शाखा सडकहरूमा समेत चल्ने सम्पूर्ण यातायातका साधन बन्द गरिएको विज्ञप्तिमार्फत जानकारी दिइएको हो ।

नेपाल सरकारलाई २६० प्रतिशतसम्म भन्सार शुल्क बुझाई चर्को मूल्यमा बैंकबाट ऋण लिई खरिद गरी किस्ता तिर्दै आत्मनिर्भर हुन रोजगारी गरिरहेको अवस्थामा जीवनयापनको आधारमै क्षति पुर्याउने जस्ता अमानवीय कार्यप्रति खेद प्रकट गर्दै अपराधीलाई तुरुन्त कानुन बमोजिम कारबाही गर्न ताप्लेजुङ पाथीभरा यातायात सेवा प्रालिले माग गरेको छ ।

बिहीबार आन्दोलनकारी समूहले ढुंगामुढा गर्दा एक दर्जन सुरक्षाकर्मी घाइते भएका थिए भने १ जना आन्दोलनकारी पनि घाइते भएका छन् । केबलकार बन्न नदिने आन्दोलनमा सहभागी हुन राजेन्द्र महतो लगायत यतिबेला ताप्लेजुङमा छन् ।