पाथीभरामा केबलकार निर्माण रोक्न परेकाे रिटमा अन्तरिम आदेश दिन अस्वीकार

1.8k
Shares

काठमाडौं । सर्वोच्च अदालतले पाथीभरामा केबलकार निर्माण रोक्न परेको रीटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार चुडाल र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासले बिहीबार पाथीभरामा केबलबार निर्माण रोक्न माग गर्दै दायर रिटको सुनुवाई गर्दै निर्माण रोक्न माग गरिएकाे विषयमा आन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

आईन्द्र कुमार लिम्बुले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, ताप्लेजुङको फुङलिङ नगरपालिका कार्यालय, जिल्ला वन डिभिजन कार्यालय ताप्लेजुङ, तथा पाथीभरा क्षेत्र विकास समितिलाई विपक्षी बनाउँदै अन्तरिम आदेश मागसहित रिट दिएका थिए ।

यस सम्बन्धी दुई वटा रिट निवेदन गत पुस १८ र माघ ३ गते सर्वोच्च अदालतमा दर्ता भएका थिए । अदालतले दुबै मुद्दा लगाउमा राखेर पेश गर्न आदेश दिएकाे छ ।

माघ ८ गते पाथीभरा केबलकारको निर्माण सुरु भए पछि केहीले त्यसको बिरोध गर्दै आएका छन् । नो केबलकार समूहले आफूहरुको पहिचान र संस्कृतिमाथि क्षति पुग्ने भन्दै केबलकार बनाउन नहुने भन्दै आन्दोलन गर्दै आएका छन् ।