![](https://clickmandu.com/wp-content/uploads/2025/02/mountain-energey-768x385.jpg)
काठमाडौं । गत जेठमा बाढीको कारण भएको क्षतिको बीमा रकम प्राप्त हुँदा माउन्टेन इनर्जी नेपाल लिमिटेडको नाफा उल्लेख्य बढेको छ ।
बाढीले क्षति पुर्याउँदा २०८१ जेठ १५ देखि २०८१ सम्म साउन २० गतेसम्म आयोजनाको विद्युत उत्पादन बन्द भएको थियो । सोही अवधिको विद्युतको बीमा दाबी वापतको ८ करोड ६ लाख ३० हजार रुपैयाँ प्राप्त गर्दा कम्पनीको नाफा चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा उल्लेख्य रुपमा बढेको छ ।
कम्पनीले प्रकाशित गरेको चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण अनुसार खुद नाफा ४६.३ प्रतिशतले बढेको छ ।
दोस्रो त्रैमासको अवधिमा कम्पनीले ५१ करोड २० लाख ६१ हजार रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्ष २०८०/८१ को सोही अवधिमा कम्पनीको खुद नाफा ३५ करोड ६३ हजार रुपैयाँ थियो ।
यस अवधिमा कम्पनीले विद्युत बिक्रीबाट ७९ करोड ८१ लाख ६ हजार रुपैयाँ आम्दानी गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा ८.५४ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको विद्युत बिक्रीको आम्दानी ७३ करोड ५२ लाख ९२ हजार रुपैयाँ थियो ।
बीमा दाबी र विद्युत बिक्रीबाट प्राप्त हुने आम्दानीसँगै कुल आम्दानीमा भएको वृद्धि र ब्याजदर घटेसँगै खर्च घट्दा कम्पनीको नाफा उल्लेख्य रुपमा बढेको हो । कम्पनीको ब्याज खर्च १३ करोड ५९ लाखबाट घटेर १२ करोड ४० लाख कायम भएको छ।
यस अवधिमा कम्पनीको चुक्ता पुँजी २ अर्ब ६० करोड २७ लाख रहेको छ । कम्पनीले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट १५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो । सो पछि कम्पनीको चुक्ता पुँजी २ अर्ब ६० करोड २७ लाख पुगेको हो ।
यस अवधिमा कम्पनीको सञ्चित मुनाफा १ अर्ब २४ करोड रहेको छ। कम्पनीको वार्षिकीकरण गरिएको प्रतिसेयर आम्दानी ३९.३४ रुपैयाँ हुन आउँछ। कम्पनीको प्रति शेयर नेटवर्थ १४७ रुपैयाँ ६६ पैसा छ ।
माउण्टेन इनर्जीले निर्माण सम्पन्न गरेका ४२ मेगावाटको मिस्ट्रीखोला हाइड्रो र ५ मेगावाटको ताँदीखोला हाइड्रो परियोजना हाल सञ्चालन भइरहेका छन् ।
कम्पनीले ४२ मेगावाटको मिस्ट्रीखोला हाइड्रो परियोजना प्रतिमेगावाट साढे १३ करोड हाराहारीको लागतमा निर्माण सम्पन्न गरेको थियो । माउण्टेन इनर्जीले १२ मेगावाट क्षमताको मिस्ट्रीखोला–२ जलविद्युत आयोजनाको पनि विद्युत उत्पादन अनुमतिपत्र प्राप्त गरिसकेको छ ।
कम्पनीले हालै मात्र दूधखोला जलविद्युत आयोजनामा लगानी गर्ने सम्झौता पनि गरेको छ। कम्पनीले मनाङको दूधखोलामा सीता हाइड्रोले प्रबर्दन गरेको ६५ मेगावाट क्षमताको उक्त आयोजनामा लगानी गर्ने भएको हो । सोही आयोजनामा लगानी गर्न कम्पनीले ५० प्रतिशत हकप्रद निष्काशन गर्ने तयारी पनि गरेको छ ।
प्रतिक्रिया