पाथीभरमा केबुलकार बिरोधको नेतृत्व गरेका मादेन पक्राउ, गृहमन्त्रीले ३ सांसदसँग छलफल गर्दै

5.1k
Shares

काठमाडौं । ताप्लेजुङको पाथीभरा क्षेत्रमा निर्माण गर्न लागिएको केबलकार परियोजना विरुद्ध आन्दोलनमा उत्रिएकालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले केबलकार परियोजनाविरुद्धको बिरोधको नेतृत्व गरिरहेका प्रदीप मादेनलाई प्रहरीले पक्राउ गरेको हो ।

आन्दोलनकारीले मेची राजमार्ग र तमोर करिडोरमा अनिश्चितकालीन यातायात बन्दको गरेका छन् । प्रहरीले सदरमुकाम फुङलिङबाट मादेनलाई पक्राउ गरेको हो ।

गत माघ १२ गते प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मालाई टेलिफोनबाट ज्यान मार्ने धम्की दिएको र त्यस दिनको हुलहुज्जतको नेतृत्व गरेको अभियोगमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । मादेन पहिचानवादी मोर्चा ताप्लेजुङको संयोजक पनि हुन् ।

यसैबीच पाथीभरा क्षेत्रमा निर्माण गर्न लागिएको केबलकार र आन्दोलनको विषयमा छलफल गर्न गृहमन्त्री रमेश लेखकले मंगलबार साँझ ताप्लेजुङबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने तीन जना सांसदलाई गृह मन्त्रालय बोलाएका छन् । प्रतिनिधिसभाका सांसद योगेश भट्टराई, लीलादेवी बोखिम र उर्मिला थेबेलाई मन्त्री लेखकले बोलाएका हुन् ।

उनीहरूले जिल्लाको अवस्था गृहमन्त्रीलाई जानकारी गराउने र आन्दोलनरत समूहलाई वार्तामा बोलाउन गृहमन्त्रीलाई अनुरोध गर्ने छन् ।

ताप्लेजुङमा रहेको प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभरा देवी मन्दिरसम्म पुग्ने पाथीभरा देवी मुकुम्लुङ दर्शन केबलकार परियोजना निर्माण कार्य सुरु भएसँगै अबरोध भएको हो ।