काठमाडौं । नयाँ स्टक एक्सचेञ्जलाई लाइसेन्स दिने प्रक्रिया अघि बढाउन धितोपत्र बोर्डले मंगलबार साँझ सञ्चालक समितिको बैठक बोलाएको छ ।
गत शुक्रबार अर्थ मन्त्रालयबाट पत्र पाएसँगै धितोपत्र बोर्डले नयाँ स्टकलाई लाइसेन्स दिने प्रक्रिया अघि बढाउने अन्तिम तयारी गरेको हो ।
मंगलबार साँझ बस्ने बैठकले नयाँ स्टकलाई लाइसेन्स दिने प्रक्रिया अघि बढाउने तय भएको स्रोतको भनाइ छ । यस विषयमा बोर्ड अध्यक्ष सन्तोष नारायण श्रेष्ठले केही सञ्चालकसँग बसेर आवश्यक परामर्श समेत गरिसकेको सेबोन स्रोतको भनाइ छ ।
गत पुस ५ गते बसेको मन्त्रिपरिषद बैठकले नयाँ धितोपत्र बजार (स्टक एक्स्चेन्ज) लाई लाइसेन्स दिने प्रक्रिया अघि बढाउन बाटो खोलेको थियो । निर्णयको पत्र अर्थ मन्त्रालय हुँदै सेबोन पुगेको हो । पत्र पुगेसँगै बोर्डले नयाँ स्टकलाई लाइसेन्स दिन आटेको हो।
तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्व सरकारले २०८० वैशाख २८ गते नयाँ स्टकको लाइसेन्समा नीतिगत भ्रष्टाचार भएको भन्दै रोकेको थियो । अहिले नयाँ स्टकको विषय जहाँ रोकिएको थियो, त्यहीँबाट अघि बढाउने निर्णय भएको हो।
बोर्ड स्रोतकाअनुसार गत शुक्रबार अर्थ मन्त्रालयबाट लाहा छापसहितको पत्र प्राप्त भएको छ । पत्रमा मन्त्रिपरिषद्ले गरेको निर्णय विद्यमान प्रचलिन ऐन कानून, भएका अध्ययन अनुसन्धान अनुसार कार्यान्वयन गर्न भनिएको स्रोतको दाबी छ ।
नयाँ स्टकको लाइसेन्स रोकेको सरकारले २०८० माघमा नेपाल राष्ट्र बैंकका पूर्वडेपुटी गभर्नरसमेत रहेका सञ्चालक चिन्तामणि शिवाकोटीको संयोजकत्वमा तीन सदस्यीय अध्ययन समिति बनाएको थियो । समितिले २ विकल्पसहित २०८१ वैशाखमा सरकारलाई प्रतिवेदन बुझाएको थियो ।
प्रतिवेदनमा हाल भएको स्टकलाई पुनर्संरचना गर्ने र नयाँ स्टकलाई लाइसेन्स दिन सुझाव छ । अर्थ मन्त्रालयले बोर्डमा पठाएको पत्रमा उक्त अध्ययन प्रतिवेदनले दिएको सुझावलाई समेत स्मरण गराएको स्रोतको दाबी छ ।
बोर्ड बैठकमा अर्थ मन्त्रालयबाट प्राप्त पत्रको व्यहोरा जानकारी गराउने र नयाँ स्टकको सन्दर्भमा बाँकी प्रक्रिया अघि बढाउने तयारी रहेको छ ।
मन्त्रिपरिषदले पनि ‘प्रक्रिया जहाँ रोकिएको थियो, त्यहीँबाट अघि बढ्नू’ भनेका कारण सेबोनले नयाँ स्टकका लागि आवेदन माग्नुभन्दा पनि यसअघि आवेदन दिएका तीनवटा आवेदनमध्ये योग्यलाई लाइसेन्स दिने सम्भावना छ । यद्यपि यस विषयमा निर्णय भने बोर्ड बैठकबाट हुनेछ ।
बोर्डले इच्छुक कम्पनीबाट प्रस्ताव आह्वान गरी मूल्यांकनको अन्तिम चरणमा पुर्याइसकेको छ ।
नयाँ स्टकका लागि हिमालयन स्टक एक्सचेञ्ज अफ नेपाल, नेसनल स्टक एक्सचेञ्ज र अन्नपूर्ण स्टक एक्सचेञ्जले आवेदन दिएका छन् ।
नयाँ स्टकको लाइसेन्स नदिन भन्दै सर्वोच्च अदालतमा पुस २२ गते रिट दायर भएको छ । उक्त रिट संवैधानिक इजलासमा माघ ९ गतेका लागि पेसी थियो । त्यस दिन हेर्न नभ्याइनमा परेसँगै उक्त रिट फागुन तेस्रो साताका लागि सरेको छ । रिट परे पनि बोर्डले नयाँ लाइसेन्स दिने प्रक्रिया अघि बढाउने भएको हो ।
नयाँ स्टक एक्सचेञ्जको लाइसेन्सका लागि हिमालयन, नेसनल र अन्नपूर्ण स्टक एक्सचेन्ज प्रतिस्पर्धामा छन् ।
बोर्डले स्टक एक्सचेञ्ज स्थापनाका लागि निवेदन दिएका तीन कम्पनी मध्ये धितोपत्र बजार सञ्चालनका लागि संगठित संस्था स्थापना गर्न बोर्डबाट सिफारिस प्रदान गर्ने सम्बन्धी निर्देशिका, २०७९ अनुसार बढी अंक प्राप्त गर्ने कम्पनीलाई अनुमति दिनेछ।
त्यसका लागि बोर्डले यसअघि नै मूल्यांकन समिति बनाएको थियो ।
मूल्यांकन समितिलाई धितोपत्र सम्बन्धी ऐन, धितोपत्र बजार संचालन नियमावली, २०६४ र निर्देशिकाअनुसार बढी अंक प्राप्त गर्ने कम्पनी एकिन गर्दै बोर्डमा सिफारिस गर्ने अधिकार दिइएको थियो ।
त्यही अधिकार अनुसार नेपाल धितोपत्र बोर्डले स्टक एक्सचेञ्ज र कमोडिटीज एक्सचेञ्ज स्थापना गर्न दिएका निवेदन अध्ययन गरि कम्पनी सिफारिस गर्नेछ ।
तत्कालीन समयमा धितोपत्र बोर्डको सञ्चालक समितिको बैठकले कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका तत्कालिन सहसचिव फणिन्द्र गौतमको नेतृत्वको मूल्यांकन समिति गठन गरेको थियो । त्यो समयमा गौतम धितोपत्र बोर्डका सञ्चालक समिति सदस्य थिए ।
समितिमा अर्थ मन्त्रालयबाट बोर्डमा सञ्चालक समिति सदस्य रहेका सहसचिव रितेशकुमार शाक्य, राष्ट्र बैंकबाट बोर्डमा सञ्चालक रहेका कार्यकारी निर्देशक मुकुन्द कुमार क्षेत्री सदस्य रहेका थिए । मूल्याकंन समितिमा धितोपत्र बोर्डका कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ र धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक अम्बिका गिरी सदस्य थिए ।
अब प्रक्रिया अघि बढाउँदा बोर्डले यसअघि बनाएको मूल्यांकन समितिलाई पुनर्गठन गर्नेछ ।
त्यो समितिले पहिला बनेको मूल्यांकन समितिले गरेको मूल्यांकनलाई हेर्नेछ र तीन वटा कम्पनीमध्ये अंकको आधारमा बोर्ड सञ्चालक समितिमा सिफारिस गर्नेछ ।
धितोपत्र बजार सञ्चालनका लागि संगठित संस्था स्थापना गर्न बोर्डबाट सिफारिस प्रदान गर्ने सम्बन्धी निर्देशिका, २०७९ अनुसार बढी अंक प्राप्त गर्ने कम्पनीलाई नयाँ स्टकका लागि अनुमति दिनेछ । त्यसका लागि कम्तिमा पनि १५ दिन लाग्ने बताइन्छ ।
मूल्यांकन समितिलाई धितोपत्र सम्बन्धी ऐन, धितोपत्र बजार संचालन नियमावली, २०६४ र निर्देशिकाअनुसार बढी अंक प्राप्त गर्ने कम्पनी एकिन गर्दै बोर्डमा सिफारिस गर्ने अधिकार दिइएको छ ।
नयाँ स्टकका लागि बोर्डमा आवेदन दिएकामध्ये हिमालयन स्टकले करिब ३ वर्षअघि नै मौरिसस स्टकसँग प्राविधिक सहायताका लागि सम्झौता गरिसकेको छ । बोर्डले जारी गरेको नियमावलीमा विदेशी स्टक एक्सचेन्जबाट प्राविधिक सहायता लिएमा बढी अंक दिने व्यवस्था छ ।
धितोपत्र बजार सञ्चालन नियमावलीको नियम (४) को (झ) मा धितोपत्र बजार संचालनका लागि कुनै पूर्वाधार तयार गरिसकेको भए तत्सम्बन्धी विवरण अनुमतिका लागि निवेदन दिनुपर्ने व्यवस्था छ ।
यस्तै धितोपत्र बजार सञ्चालनका लागि संगठित संस्था स्थापना गर्न बोर्डबाट सिफारिस प्रदान गर्ने सम्बन्धी निर्देशिका–२०७९ को अनुसूचीमा जाँचबुझ तथा मूल्यांकनका आधारहरुमा कारोबार प्रणाली तथा प्राविधिक सम्बन्धी व्यवस्था गर्दा २४ अंकले दिने व्यवस्था छ ।
उक्त निर्देशिकामा प्रस्तावित कारोबार प्रणाली तथा प्रविधि नेपालबाहेक अन्य मुलुकका कम्तीमा तीन वटा धितोपत्र बजार संचालनको लागि प्रयोग भएको भएमा १४ अंक दिने व्यवस्था छ ।
यस्तै प्रस्तावित कारोबार प्रणाली तथा प्रविधि नेपाल बाहेक अन्य मुलुकका चारदेखि सातवटा धितोपत्र बजार संचालनको लागि प्रयोग भएको भएमा थप ५ अंक दिने र प्रस्तावित कारोवार प्रणाली तथा प्रविधि नेपाल बाहेक अन्य मुलुकका ७ वटा भन्दा बढी धितोपत्र बजार संचालनको लागि प्रयोग भएको भएमा पुरै २४ अंक पाउने व्यवस्था छ ।
मौरिसस स्टकमा प्रयोग भइरहेको कारोबार प्रणाली ७ भन्दा बढी देशमा प्रयोग भइरहेकाले २४ अंकले नै लिन हिमालयनले सम्झौता गरेको हो । जसले गर्दा हिमालयन स्टक एक्सचेञ्जले प्रतिस्पर्धामा अब्बल हुन मौरिसस स्टकसँग सम्झौता गरेको हो ।
कुन स्टकमा को छन् लगानीकर्ता ?
हिमालयन स्टकको अध्यक्षमा नेपाल प्रहरीका पूर्वमहानिरीक्षकलाई प्रस्ताव गरेको छ । प्रस्तावित सीईओमा विजय सत्याल रहेका छन् । कम्पनीमा शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल र इन्फिनिटी होल्डिङसका दीपक भट्ट प्रमुख सेयरधनी छन् ।
प्रमुख सेयरधनीमा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्षहरु शेखर गोल्छा, पशुपति मुरारका र भवानी राणा, परिसंघका पूर्वअध्यक्ष तथा लक्की ग्रुपका प्रमुख शतिस मोर, ज्योति ग्रुपका सौरभ ज्योति र नेपालका लागि मित्सुबीसी कम्पनीको आधिकारिक बिक्रेता आषिश श्रेष्ठ, शिभम् सिमेन्टका सञ्चालक तथा सायोमी मोवाइलको नेपालका लागि आधिकारिक बिक्रेता रोहित गुप्ता, मेरियट होटलका सञ्चालक शशिकान्त अग्रवाल लगायत छन् । यस्तै सनराइज बैंकको अध्यक्ष मोतिलाल दुंगडका छोरा विवेक दुगड र खेतान समुहका राजेन्द्र खेतानले पनि लगानी गरेका छन् ।
यस्तै नेसनल स्टक एक्सचेञ्जमा सिद्धार्थ ग्रुप, दीपक तिमिल्सिना, गैरआवासीय नेपाली, अग्नि ग्रुपलगायतको मुख्य लगानी छ । नेसनलमा एनआरएनएका संस्थापक अध्यक्ष डा उपेन्द्र महतो, पूर्वअध्यक्ष जीवा लामिछाने, हालका अध्यक्षद्वय बद्री केसी र कुल आचार्यको लगानी छ ।
नेसनल स्टकको प्रस्तावित सञ्चालकमा दीपक तिमिल्सिना, महेशकुमार श्रेष्ठ, ऋषि अग्रवाल, अंकित केडिया र स्वतन्त्र सञ्चालकमा रामजी रेग्मी छन् ।
यस्तै अन्नपूर्ण स्टक एक्सचेन्जमा सुरेन्द्रराज वाग्ले, अनिल सापकोटा, प्रकाशकुमार श्रेष्ठ, गणेशकुमार श्रेष्ठ, शेखर सुवेदीलगायतको लगानी रहेको छ ।
प्रतिक्रिया