गजामा युद्धविराम घोषणा, हमासले यी ३३ बन्धक छाड्ने, नेपालका विपिन जोशी परेनन्



काठमाडौं । गाजामा युद्धविराम लागू भएको छ । इजरायली प्रधानमन्त्री कार्यालयले एक विज्ञप्तिमा जारी गर्दै युद्धविराम स्थानीय समयअनुसार बिहान ११:१५ बजे (पूर्वी समय ४:१५ बजे) सुरु भएको जनाएको छ । तर, यो करिब तीन घण्टा ढिला गरि सुरु भएको छ । हमासले आइतबार इजरायललाई रिहा गर्नुपर्ने तीन बन्धकहरूको नाम ‘प्राविधिक समस्या’का कारण समयमा उपलब्ध गराउन नसकेको जनाइएको छ ।

युद्धविरामको सुरूवात पूर्व निर्धारित समय बिहान ८:३० (पूर्वी समय १:३०) पछि इजरायली आक्रमणमा कम्तीमा १३ जना प्यालेस्टिनीको मृत्यु भएको र ३० जना घाइते भएको अस्पताल र नागरिक सुरक्षा अधिकारीहरूले जानकारी दिएका छन्।

इजरायलले आफ्नो आधिकारिक सामाजिक सञ्जाल ह्यान्डलमा हमाससँगको युद्धविरामको पहिलो चरणमा मुक्त गरिने ३३ जना बन्दीहरूको नामको सूची सार्वजनिक गरेको छ ।

इजरायलको आधिकारिक एक्स अकाउन्टमा पोस्ट गरिएको तस्वीरमा ती ३३ बन्दीहरूको नाम र तस्बिर समावेश छ।

यस सूचीअनुसार, ती बन्दीहरूमा महिला, कम उमेरका बालबालिका र वृद्धवृद्धा छन् ।

१५ महिना अघिको, २०२३ अक्टोबर ७ मा इजरायलमाथि भएको हमलाका क्रममा हमासका लडाकूहरूले यी मानिसहरूलाई बन्धक बनाएका थिए ।

कफिर बिबासलाई जब पहिलो पटक बन्धक बनाइएको थियो, उनी नौ महिनाका थिए, र बन्धक बस्दा दुईवटा जन्मदिन मनाइसकेका छन् ।

हमासले दिएको सूचीअनुसार, ८६ वर्षका श्लोमो मन्त्जुर सबैभन्दा वृद्ध बन्धक हुन्, र उनी मुक्त गरिने पहिलो समूहमा हुने अपेक्षा गरिएको छ।

यसअघि आइतबार, हमासले सबैभन्दा पहिले मुक्त गरिने तीन जना महिला बन्धकहरूको नाम सार्वजनिक गरेको थियो।

नेपालका विपिन जोशी पनि हमासको कब्जामा रहेका छन् । तर पहिलो चरणमा हमासले रिहा गर्नेको सूचीमा उनको नाम भने समावेश छैन ।

अहिलेको युद्धविराम सम्झौता तीन चरणमा लागू हुनेछ । पहिलो चरण ४२ दिनसम्म जानेछ र त्यस अवधिमा हतियारहरू चलाइने छैनन् । हमासले डेढ वर्षअघि बन्दी बनाएकामध्ये ३३ जना इजरायलीहरूलाई रिहा गर्नेछ र त्यसको बदलामा इजरायलले एक हजारजना प्यालेस्टाइनी बन्दीहरूलाई थुनामुक्त गर्नेछ । यसका अतिरिक्त, इजरायली सेना युद्धविरामको पहिलो दिन गाजापट्टिको घना बस्तीबाट पछि हट्नेछ र सातौं दिन विस्थापित प्यालेस्टाइनीहरूलाई उत्तरी गाजामा फर्किन दिइनेछ । अनि इजरायलले खाद्यान्न र औषधि बोकेका ६०० ट्रकहरू दैनिक रूपमा गाजामा प्रवेश गर्न दिनेछ ।

इजरायलले सार्वजनिक गरेको सूची


क्लिकमान्डु