विदेशमा कार्यक्रम र खर्च गर्ने पर्यटन बोर्डको कार्यविधि ७ वर्षपछि स्वीकृत, अन्तर्राष्ट्रिय प्रवर्द्धनमा सहज हुने




काठमाडौं । नेपाल पर्यटन बोर्डको विदेशमा कार्यक्रम तथा खर्च गर्ने कार्यविधि ७ वर्षपछि स्वीकृत भएको छ । बोर्डको उक्त कार्यविधि नहुँदा अन्तर्राष्ट्रिय प्रवर्द्धन गर्न नसकिएको र खर्च गर्न समस्या भएको थियो । अब कार्यविधि स्वीकृत भएर आएपछि बोर्डलाई विगतमा भएको असहजता हटेको छ ।

पर्यटन बोर्डले ‘विदेशमा कार्यक्रम सञ्चालन तथा खरिदसम्बन्धी कार्यविधि’ ७ वर्ष अगाडि नै तयार पारेर सार्वजनिक खरिद अनुगमन कार्यालयको सहमतिका लागि पेश गरेको थियो । खरिद अनुगमन कार्यालयले सहमति नदिँदा रोकिएको कार्यविधिका कारण गत आर्थिक वर्ष २०८०/८१ मा भने पर्यटन बोर्डले विदेशमा प्रवद्र्धनको कामै गर्न सकेन । ऐतिहासिकरुपमा गत आवमा अन्तर्राष्ट्रिय प्रवद्र्धनको बजेट खर्चनमा बोर्ड कमजोर भएको थियो ।

बोर्डले पटक पटक गरेका प्रयासपछि दुई साता अगाडि मात्रै ‘विदेशमा कार्यक्रम सञ्चालन तथा खरिदसम्बन्धी कार्यविधि’ स्वीकृत भएको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले बताए । उनका अनुसार बोर्डको उक्त कार्यविधि स्वीकृत भएपछि अब अन्तर्राष्ट्रिय प्रवद्र्धनका गतिविधि सञ्चालन गर्नमा थप सहज हुने भएको उनको भनाइ छ ।

कार्यविधि स्वीकृत भएर आएकोले गत वर्ष जे कारणले बोर्डको प्रवद्र्धनको काम हुन नसकेको थिएन् त्यो समस्या यो वर्षदेखि हटेको नेपाल पर्यटन बोर्डका सहप्रवक्ता मणिराज लामिछानेले बताए । लामिछानेका अनुसार बोर्डले पेश गरेको कार्यविधिलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले सहमति दिएपछि कार्यान्वयनमा अगाडि बढेको हो ।

कार्यविधि रोकिँदा पर्यटन बोर्डको वार्षिक कार्यक्रम प्रभावित हुन पुगेको थियो अब बोर्डले गर्ने प्रमुख प्रवद्र्धनको कामलाई गति दिने भएको छ ।

कार्यविधि नहुँदा पछिल्लो ६ वर्षदेखि नै बोर्डले विगतमा गरिआएको अभ्यासका आधारमा हुने गरि अन्तर्राष्ट्रिय प्रवद्र्धको कार्यक्रम गर्दै आएको थियो । गत वर्ष पर्यटन बोर्डको बजेटले कार्यविधि स्वीकृत भएपछि मात्रै अन्तर्राष्ट्रिय प्रवद्र्धनको काम गर्ने भएको थियो । तर, कार्य विधि नै स्वीकृत गर्न नसकेका कारण असहजता उत्पन्न भएको थियो ।

सार्वजनिक खरिद ऐन २०६३ को दफा ६७ ले गरेको व्यवस्थाअनुसार पर्यटन बोर्डले विदेशमा हुने कार्यक्रमका लागि कार्यविधि बनाएको हो । सार्वजनिक खरिद ऐन २०७३ मा संशोधन भएर आएलगत्तै बोर्डले पनि अन्य संस्थानसरह नै कार्यविधि स्वीकृत गरेरमात्रै कार्यक्रम गर्नुपर्ने व्यवस्था छ । सोही व्यवस्थाअनुसार २०७४ मै बोर्डले उक्त कार्यविधि बनाएर सर्वजनिक खरिद अनुगमन कार्यालयमा पेस गरेको थियो ।

बोर्डले २०७४ मा पठाएको उक्त कार्यविधि खरिद अनुगमन कार्यालयमै रोकिदै आएको थियो । उक्त कार्यविधि ३ वर्षसम्म स्वीकृत नभएको र कुनै प्रतिक्रिया पनि नआएपछि बोर्डले पुनः २०७७ मा पर्यटन मन्त्रालयमार्फत् उक्त कार्यविधि दोहोर्याएर पठाएको थियो । पहिले पर्यटन बोर्डले सोधै पठाएको कार्यविधिलाई कुनै वास्ता नगरिएपछि फेरि आवश्यक संशोधनसहित पर्यटन मन्त्रालयमार्फत पठाएको पर्यटन बोर्डको भनाइ छ ।

बोर्डले २०७४ पछिका हरेक बजेटमा सार्वजनिक खरिद कार्यालयमा पठाएको कार्यविधि स्वीकृत भएर आएपछि कार्यान्वयन गर्ने व्यवस्था उल्लेख गर्दै आएको थियो । उक्त कार्यविधि स्वीकृत नहुँदासम्म अन्तर्राष्ट्रिय प्रवर्धनको कार्यक्रममा विगतमा गरिएका राम्रा अभ्यासअनुसार कार्यक्रम सञ्चालन गर्दै जाने व्यवस्था राख्दै प्रवद्र्धनकोक कार्यक्रम र खर्च गर्दै आएको थियो ।

नेपाल पर्यटन बोर्डले स्थापनादेखि गर्दै आएको वर्षेनी लन्डनमा हुने वल्र्ड ट्राभल मार्केट (डब्लूटीएम) बजेट नहुँदा र गत वर्ष कार्यविधि स्वीकृत नहुदा हुन सकेन । बोर्डले इतिहासमै पहिलोपटक डब्लुटीएमको कार्यक्रम गत वर्ष २०८०/८१ को कार्यक्रममा कार्यान्वयन गर्न नसकेको हो ।

अन्तर्राष्ट्रिय कार्यक्रममा जान कार्यविधिबिना कुनै पनि खर्च नहुने हुँदा गत आवमा भएको ससस्याबाट पाठ सिकेर पनि बोर्डले चालु आर्थिक वर्ष २०८१/८२ को बजेट स्वीकृत हुनु अगाडि उक्त कार्य विधि ल्याउन सफल भएको छ । बोर्डले १ खर्ब ८१ करोड रुपैयाँको बजेट चालु आर्थिक वर्षको लागि ल्याएको छ । यसमध्ये ६० प्रतिशतको बजेट प्रवद्र्धनमा खर्च गर्ने भएको छ ।


क्लिकमान्डु