२ करोड घुस खाएको आरोपपछि पर्यटन मन्त्रीले भने: करोड होइन कौडी खाएको दिन पशुपतिनाथ पुगेर प्राण त्याग्छु (भिडियो)



काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले आफूले स्वार्थ समूहहरुसँग कुनै पनि खालको सम्झौता नगर्ने बताएका छन् ।

मंगलबार पशुपति क्षेत्र विकास कोषको कार्यक्रममा मन्त्री पाण्डेले काम गर्ने क्रममा स्वार्थ समूहका मतियार र विचौलियाहरु बलशाली देखेको उल्लेख गर्दै उनीहरुसँग कुनै पनि सम्झौता नगरी अघि बढ्ने बताए ।

मन्त्री पाण्डेले स्वार्थ समूहहरुकै कारण आफूमाथि पनि करोडौँ घुस खाएको अफवाह फैल्याउने काम गरेको भन्दै आक्रोश व्यक्त गरे ।

आफूले निष्ठाको राजनीति गरिरहेको र मन्त्रीको रुपमा कौडी पनि दुरुपयोग नगर्ने उनको भनाइ थियो ।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आफूलाई मानमर्दन गराउने गरी घुस खाएको आरोप लगाउनेहरुसँग प्रतिवाद गर्दै अघि बढ्ने पनि बताए ।

‘पहिले राजनीतिक व्यक्तिहरु शक्तिशाली हुनुहुन्थ्यो, अहिले स्वार्थ समूहहरु शक्तिशाली भएको मैले देखिराखेको छु । स्वार्थ समूहका मतियारहरु, विचौलियाहरु बलिया भएको देखिरहेको छु,’ उनले भने, ‘ मैले ३/४ महिनाको यो कामको अनुभवमा निष्ठापूर्वक काम गरिरहँदा केही स्वार्थ समूहका मतियारहरुले मलाई मानमर्दन गर्नेगरी, मेरो मनोबल र आत्मविश्वासलाई गिराउने गरी केही प्रचारबाजी गरेको देखेको छु । म यो राष्ट्रदेव पशुपतिनाथको अगाडि उभिएर म के कसम खान सक्छु भने कुनै पनि नाममा मैले मन्त्री भएर घुस खाएको सुन्नुपर्‍यो । अथवा घुस खाएको देख्नुपर्‍यो भने मेरो त्यहीबेला नाश होस भन्ने त्यो संकल्प म यो राष्ट्रदेव पशुपतिनाथको अगाडि उभिएर म गर्न सक्छु । त्यो आत्माविश्वासका साथ म राजनीतिमा आएको छु ।’

उनले आफूले करोड खाएको भन्दै विचौलियाका मतियारहरुले प्रचार गरेकोले कौडी खाएको दिन पशुपतिनाको ढोकामा गए आत्महत्या गर्ने उल्लेख गरे ।

‘करोड खाएको कुरा केही विचौलियाका मतियारहरुले प्रचार गरेका छन् । करोड होइन कौडी खाएको दिन म पशुपतिनाथको ढोकामा आएर आत्महत्या गर्न, त्यो आत्मविश्वास र प्रतिज्ञासँग राजनीतिमा आएको मानिस हुँ,’ उनले भने, ‘म स्वार्थ समूहको मतियारहरुसँग, बिचौलियासँग कदापि सम्झौता गर्ने छैन । म देशको हितको निम्ति, राष्ट्रको हितको निम्ति, हाम्रो आफ्नो हितको निम्ति जस्तोसुकै कठोर कदम चाल्न, त्यस्ता मतियारहरुसँग लडन, भिडन, जस्तोसुकै प्रतिवाद गर्न पनि त्यो आत्मविश्वास पनि मसँग छ ।’

आफूले राजनीतिलाई सेवाको रुपमा बाहेक, राष्ट्रलाई योगदान दिने भूमिका बाहेक अन्य रुपमा नबुझेको उनले बताए ।

राजनीतिक विकृति र विसंगतितिर गएको उनको भनाइ छ ।


क्लिकमान्डु