पाथीभरामा केबलकार शिलान्यासका क्रममा झडप हुँदा ४ जना घाइते, कसरी निम्तियो विवाद ?



ताप्लेजुङ । ताप्लेजुङको फुङ्लिङ नगरपालिका–१० काफ्लेपाटीमा केबुलकारको विषयलाई लिएर झडप भएको छ ।

पाथीभरा दर्शन केबलकार निर्माणका लागि शिलान्यास गर्ने कार्यक्रममा स्थानीय पहिचान पक्षधरद्वारा अवरोध भएपछि शुक्रवार बनाउन हुने र नहुने पक्षबीच झडप भएको थियो ।

दुई पक्षबीच ढुंगा हानाहान हुँदा चार जना घाइते भएका छन् ।

ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार घाइते हुनेमा स्थानीय दमोदार अधिकारी, चन्द्र मादेन र कुमार लिम्बु छन् । उनीहरुलाई उपचारका लागि जिल्ला अस्पताल ताप्लेजुङ लगिएको छ ।

झडपका क्रममा सशस्त्र प्रहरीका इन्स्पेक्टर डिगेन्द्र ओली पनि सामान्य घाइते भएका छन् ।

केवलकार निर्माण भए प्राकृतिक स्वरुप बिग्रने भन्दै केहीले निर्माणको विरोध गर्दै आएका छन् । पाथीभरा लिम्वूहरुको मुन्धुमीस्थल भएकाले निर्माण गर्न नहुने भन्दै केही पहिचान पक्षधरहरुले केबलकारको बिरोध गर्दै आएका छन् ।

आज निर्माण सामग्री लिएर काफ्लेपाटी जाँदै गरेको टोलीलाई केहीले रोकेपछि मजदूर र स्थानीयबीच झडपको स्थिति बनेको हो।

शिलान्यास गर्न जाँदा प्रशासनले नै अवरोध गरेपछि ढुंगा हानाहानको स्थिति सिर्जना भएको फुङलिङ नगरपालिकाका मेयर अमिर मादेनले आरोप लगाए ।

निर्माण उपकरणसहित पुगेको टोलीलाई केबलकार बनाउन हुँदैन भन्ने समूहले अवरोध गरेपछि प्रहरीले उल्टै एक्जाभेटरको चाबी थुतेपछि समस्या भएको उनले बताए । यसले केबलकार बन्न हुँदैन भन्नेको मनोबल बढेको उनको भनाइ छ ।

काफ्लेपाटीदेखि पाथीभरा मन्दिरसम्म केवलकार निर्माणका लागि सरकारले अनुमति दिएको छ । ३ हजार ७ सय ९४ मिटर उचाइमा रहेको मन्दिर पुग्न पैदलयात्रीले जाँदा र फर्किंदा १० किलोमिटर हिड्नुपर्छ ।

पाथीभरा (मुक्कुमलुङ) दर्शन केबलकार प्रालि नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल नेतृत्वको व्यापारिक घराना आइएमई समूह अन्तर्गतको कम्पनी हो ।

विवादकाबीच केबलकार निर्माणको सिलान्याश भने सम्पन्न भएको छ ।


क्लिकमान्डु