पाथीभरा केबलकार ताप्लेजुङको विकास र समृद्धिमा कोसेढुङ्गो साबित हुनेछः अध्यक्ष ढकाल



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले ताप्लेजुङ जिल्लाको विकास र समृद्धिमा पाथिभरा केवलकार कोसेढुङ्गो साबित हुने बताएका छन् ।

ताप्लेजुङ सरोकार केन्द्रले शुक्रवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा अध्यक्ष ढकालले यस्तो बताए ।

उनले ताप्लेजुङको पाथिभरामा निर्माण हुने केवलकारले ताप्लेजुङ मात्र नभई समग्र कोशी प्रदेश तथा मुलुककै विकास र समृद्धिमा सहयोग पुग्ने बताउँदै यस आयोजनालाई समयमै सम्पन्न गर्न आवश्यक सहयोग गर्न सम्पूर्ण सरोकारवालालाई आग्रहसमेत गरे ।

उनले पाथीभरा केवलकारमा स्थानीयहरुलाई सतप्रतिशत रोजगारी दिन आफूहरू सकारात्मक रहेको बताए ।

संघर्ष समितिले ८० प्रतिशत स्थानीयलाई रोजगारीको ग्यारेन्टी माग गरे पनि केबलकारले रोजगारीमा स्थानीयलाई शत प्रतिशत प्राथमिकता दिने उनले बताए । उनले सरकार र निजी क्षेत्रले अर्बौं रुपैयाँ खर्च गरेर वैदेशिक लगानी भित्र्याउनका लागि काम गरी रहेको अवस्थामा मुलुकभित्रकै निजी क्षेत्रले लगानी गर्ने नसक्ने वातावरण बनाउने काम गलत हुने बताए ।

उनले स्वदेशी लगानी पहिलो प्राथमिकतामा राख्नसके मात्रै पर्यटन प्रवद्र्धनसँगै आर्थिक विकास हुने धारणा राखे । उनले पाथीभरामा केवकार निर्माण आफ्नो व्यक्तिगत फाइदाको लागि भन्दा पनि समग्र ताप्लेजुङ र मुलुकको पर्यटन प्रवद्र्धन र रोजगारी सिर्जनाको लागि काम गरिरहेको बताए ।

उनले स्थानीयहरुलाई केबलकारले दिने सेवा सुविधा सबै दिन तयार रहेको बताए ।

उनले एक ठाउँमा मात्रै नभएर सातै प्रदेशमा केवलकार निर्माण गरी मुलुकको पर्यटनको विकास रोजगारी सिर्जना गर्ने अभियानमा रहेको बताए ।

उनले पाथीभरा केबलकार निर्माणको लागि सबै प्रक्रिया पूरा भएको बताए । उनले केबकार निर्माण गर्ने काम शुरु भएको १५ महिना भित्र सम्पन्न गर्ने तयारी रहेको बताए ।

उनले पाथीभरा केबकार आयोजना आइएमई ग्रुप र चन्द्र ढकालको मात्रै नभएर पाथीभरा, ताप्लेजुङ ,कोशी प्रदेश र देशको पनि आयोजना भएकाले सबैको साथ सहयोगको अपेक्षा गरेको बताए ।

उनले पर्यटन पूर्वाधार निर्माण भयो भने मात्रै रोजगारी सिर्जना, व्यवसायीक गतिविधि र राजश्व वृद्धि हुने भन्दै पाथीभरा केबलकार बनाउन शुरुवात गरेको बताए ।

उनले भने ,‘पाथीभरा केवलकार बनाउँदा स्थानीयहरुलाई के गर्नुपर्छ । त्यो गर्न तयार छौं । स्थानीय मानिसहरुलाई के सुविधा दिनुपर्छ त्यो भन्नुपर्यो । केबलकारले स्थानीय, बालबालिका तथा वृद्धवृद्धाहरुलाई दिने सुविधाको बारेमा उल्लेख गर्दै थप सेवा सुविधा आवश्यक परे छलफल गर्न तयार छौं ।’


क्लिकमान्डु