भैरहवामा राति उडान अनुमति नपाएपछि जजिराले बुझायो बिहान उडान गर्ने नयाँ प्रस्ताव



काठमाडौं । कुवेतको जजिरा एयरलाइन्सले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कुवेत उडान गर्ने गरी नेपाल नागरिक उड्डयन प्राधिकरणमा नयाँ उडान तालिका पेस गरेको छ ।

गत साउन २९ गते गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट राति २ बजे अवतरण तथा ३ बजे उडान गर्ने गरी जजिराले बुझाएको उडान तालिका नेपाल नागरिक उड्डयन प्राधिकरणले अस्वीकृत गरेपछि नयाँ उडान तालिका बुझाइएको हो ।

जजिराले अक्टुबर २८ गतेदेखि सातामा ४ दिन बिहान ६ बजेर २५ मिनेटमा भैरहवा अवतरण गर्ने तथा ७ बजेर १० मिनेटमा उडान गर्ने गरी नयाँ तालिका स्वीकृतिको लागि सोमबार प्राधिकरणलाई प्रस्ताव पेस गरेको स्रोतले जानकारी दियो ।

प्राधिकरणले उडान तालिका स्वीकृत गरेको अवस्थामा आफूहरु अक्टोबर २८ गते भैरहवाबाट उडान र अवतरण गर्ने गरी तयारी अवस्थामा रहेको जजिराका अधिकारीहरु बताउँछन् ।

भैरहवामा विमानस्थल बिहान ६ बजेदेखि राति १२ बजेसम्म खुला हुने भएकाले सोहीअनुसार उडान र अवतरण तालिका पेस गर्न प्राधिकरणले निर्देशन दिएको थियो ।

दिनभर खुला भएको बेला पनि शून्य आम्दानी भएको विमानस्थललाई अतिरिक्त खर्च गरेर रातभरी खुला गर्न नसकिने भन्दै २ बजे उडान गर्न गरी यसअघि जजिराले पेस गरेको प्रस्ताव अस्वीकृत गरिएको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिएका थिए ।

सरकारले बिभिन्न शुल्कमा छुट दिएकोले विमानस्थल खुला हुने समयमा नै उडान तालिका पेस गर्नु पर्ने प्राधिकरणको भनाइ थियो । ‘रातिको समयमा एउटा वायुसेवाले उडान माग्यो भन्दैमा थप ५०/६० लाख खर्च गर्न सकिँदैन,’ भुलले भनेका थिए ।

भैरहवा र पोखरा विमानस्थलमा नेपाल वायुसेवा निगमले ग्राउण्ड ह्याण्डलिङ (यात्रु तथा सामानलाई जहाजसम्म लाने ल्याउने सुविधा) बापत २५ प्रतिशत मात्रै शुल्क लिन्छ । यस बाहेक सरकारले उडान, अवतरण, एयर नेभेसेसन शुल्कमा समेत छुट दिएको छ ।

तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गरेपछि २०७९ जेठ २ बाट जजिरा एयरवेजले भैरहवा र कुवेत सिधा उडान सुरु गरेको थियो । तर, जजिरा एयरले २०७९ पुसबाट निरन्तर खराब मौसम भएको कम भिजिबिलिटीमा प्रविधिको सहायताले उडान र अवतरण हुन नसकेको भन्दै उडान स्थगित गरेको थियो ।

भैरहवास्थित विमानस्थलमा रेडियो नेभिगेशन प्रणालीबाट उडान र अवतरण हुने इन्स्टुमेन्ट ल्यान्डिङ सिस्टम (आईएलएस) जडान गरिएको छ ।

आईएलएस प्रणाली प्रयोग गर्न भारतीय वायुक्षेत्र समेत प्रयोग गर्नुपर्छ । त्यहीँ हुँदा भैरहवामा जडान भएर पनि आईएलएस कार्यान्वयनमा आउन सकेको छैन।

आईएलएस प्रणाली प्रयोगमा आएको भए विमानहरु ८०० मिटरको भिजिविलिटीमा उडान र अवतरण गर्न सक्थे । तर, हाल भिओआरडीएमई विधिबाट भैरहवामा उडान र अवतरण गर्न १८०० मिटर भिजिविलिटी आवश्यक हुन्छ ।

भैरहवामा ८०० मिटर भिजिबिलिटीमा उडान र अवरत गर्ने गरी आरएनपीएआर एप्रोचको बनाउन आफूले प्रयास गरिरहेको गौतम बुध्द अन्तर्राष्ट्रय विमानस्थलका महाप्रवन्धक प्रतापबावु तिवारी बताउँछन् ।

‘आरएनपीएर एप्रोचको उडान अवतरण विधि तयार गर्न हामीले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई अनुरोध गरेका छौं,’ तिवारीले भने, ‘आरएनपीएर एप्रोचबाट ८०० मिटरमा विमान उडान र अवतरण हुन सक्ने भए पनि त्यसका लागी विमान कम्पनीले पाइलटलाई तालिम दिनु पर्छ ।’

मौसमका कारण स्थागन भएको उडान जजिराले २०७९ फागुन २५ देखि भैरहवाबाट पुनः उडाउन सुरु गरेको थियो । तर उक्त उडान पनि लामो समय जान सकेन । कम्पनीले २०८० वैशाखदेखि भैरहवा विमानबाट हुने उडान र अवतरण बन्द गरेको थियो।

भैरहवा विमानस्थल कार्यालयका अनुसार जजिराले यसअघि १० महिनामा १६ हजार ६२५ यात्रुलाई सेवा दिएको थियो ।

विसं २०२१ मा घाँसे हवाई मैदानबाट सुरु भएको भैरहवाको विमानस्थल विसं २०२३ मा आन्तरिक विमानस्थलको रुपमा हालको स्थानबाट सञ्चालनमा आएको थियो ।

तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले २०७१ माघ १ गते भैरहवास्थित गौतमबुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल शिलन्यास गर्दा तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको थियो ।

त्यसबखत ठूलो आकारको अन्तर्राष्ट्रिय विमानस्थलभन्दा भारतका विभिन्न सहरमा उडान गर्ने गरी क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनाउने योजनाअनुसार भैरहवा विमानस्थल बिस्तारको काम सुरु गरिएको थियो ।

तर, भैरहवालाई दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल बनाउने नीति सरकारले लियो । जसले गर्दा भैरहवालाई अन्तर्राष्ट्रिय विमानस्थल नै बनाइएको थियो ।

पूर्वनिर्धारित मितिभन्दा साढे ४ वर्ष ढिलो निर्माण सम्पन्न भएको विमानस्थल २०७९ जेठ २ बाट व्यवसायीक सञ्चालनसमेत आयो । तर, भैरहवाबाट अन्तर्राष्ट्रिय उडान दिगो हुन सकेन।

एसियाली विकास बैंकको करिब ८ अर्ब रुपैयाँ ऋण लगानीमा विमानस्थल निर्माण गरिएको हो । विमानस्थल बिस्तारका लागि २२ अर्ब ४७ करोड रुपैयाँ खर्च गरेर जग्गा अधिग्रहण गरिएको थियो । यस्तै, करिब कार्गो भवन र अन्य पूर्वाधार विकासमा करिब २ अर्ब रुपैयाँ खर्च भइसकेको छ ।

हालसम्म करिब ३३ अर्ब रुपैयाँ खर्च भएको आयोजनाले आर्थिक लाभ कहिलेबाट दिन्छ यकिन छैन । २०७९ जेठ २ गते तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाले विमानस्थल उद्घाटन गर्दै भैरहवालाई हब बनाएर उडान गर्न वायुसेवा कम्पनी आग्रह गरेका थिए ।

निजी वायुसेवा कम्पनीलाई नयाँ विमानस्थलबाट उडान गर्न आग्रह गरेका प्रधानमन्त्री देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीलाई भने सोही दिन भैरहवा विमानस्थलमा स्वागत गर्ने वातावरण बनाउन सकेनन् ।

२०७९ जेठ २ गते बुद्ध पूर्णीमाको अवसरमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गरियो । त्यसैदिन लुम्बिनी भ्रमणमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भैरहवा विमानस्थल आएनन् । मोदी सिधैं हेलिकोप्टरबाट सिधै लुम्बिनी पुगे ।

आठ सय बिघा क्षेत्रफलमा फैलिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा तीन किलोमिटर लामो रनवे छ । फोर ई क्याटेगरीको विमानस्थलमा नवौ क्याटेगरीका दमकल छन् ।

सञ्चालनमा आउन नसकेको विमानस्थलमा करिब ४ अर्ब रुपैयाँ खर्च गरेर समानान्तर ट्याक्सी वे बनाउने काम जारी छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सरहको उडान र अवतरणको क्षमता रहेको भैरहवा विमानस्थलमा चारवटा न्यारोबडी र एउटा वाइडबडी गरी पाँच वटासम्म विमान पार्किङ गर्न सकिन्छ ।


क्लिकमान्डु