भैरहवामा उडान गर्ने जजिराको प्रस्ताव अस्वीकृत, दिनभर रित्तो रहने विमानस्थलमा रातिका लागि किन आयो प्रस्ताव?



काठमाडौं । उडान अवतरणमा सम्पूर्ण छुट पाउँदा पाउँदै पनि कुवेतको बजेट एयरलाइन्स जजिराले राति उडान गर्ने प्रस्ताव गरेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले उक्त प्रस्ताव अस्वीकार गरेको छ ।

विहान ६ बजेदेखि राति १२ बजेसम्म खुला हुने विमानस्थल जतिबेला पनि खाली हुँदाहुँदै जजिराले भैरहवा विमानस्थलमा राति उडान गर्ने प्रस्ताव गरेको छ । जजिराले भैरहवा विमानस्थलमा राति २ बजे आउने र ३ बजे फर्कने गरी गरेको प्रस्तावलाई उड्डयन प्राधिकरणले अनुकुल समय नभएको भन्दै अस्वीकार गरेको छ ।

उड्डयन प्राधिकरणका सूचना अघिकारी ज्ञानेन्द्र भुल भैरहवा विमानस्थल दिउँसोको समयमा कुनै अन्तर्राष्ट्रिय वायुसेवाको उडान नभएर बसिरहुनपरेको बताए । दिनभर खुला भएको बेला पनि शून्य आम्दानीको अवस्थामा रहँदा अतिरिक्त खर्च गरेर रातभरी खुला गर्न नसकिने भन्दै जजिराको प्रस्तावलाई अस्वीकार गरेको भुलले बताए । ‘शून्य आम्दानी भएको विमानस्थलमा रातिको समयमा एउटा वायुसेवाले उडान माग्यो भन्दैमा थप ५०/६० लाख खर्च गर्न सकिँदैन,’ उनले भने ।

भैरहवामा हाल भएको कर्मचारीको अतिरिक्त रात्रि सिफ्टको कर्मचारी राख्नुपर्ने, भन्सार, प्रहरी, यात्रुलाई चाहिने सेवा सुविधासहितमा हुने खर्च करिब ५० देखि ६० लाख रुयैयाँ थप गर्नुपर्ने प्राधिकरणको भनाइ छ ।

भैरहवा र पोखरा विमानस्थलमा नेपाल वायुसेवा निगमले लिने २५ प्रतिशतको ग्राउण्ड ह्याण्डलिङ (यात्रु तथा सामानलाई जहाजसम्म लाने ल्याउने सुविधा) शुल्क मात्रै लिन्छ भने यो बाहेक अरु थप खर्च वायुसेवा कम्पनीले गर्नु नपर्ने निर्णय सरकारले गरिसकेको छ ।

सरकारले यी दुई विमानस्थलमा सञ्चालन गर्न उडान अवतरण, एयर नेभेसेसन, ग्राउण्ड ह्याण्डलिङसहित सबैजसो शुल्क छुट दिएको छ । यी दुई विमानस्थल सञ्चालन गर्दा कुनै लाभ नहुने भएकोले विमानस्थल सञ्चालन गर्नको लागि मात्रै पनि सरकारले इच्छुक वायुेवालाई छुट दिएको पनि प्राधिकरणको भनाइ छ ।

‘दैनिक १० वटै उडान भए पनि प्राधिकरणको आम्दानी नहुने भएकोले रातिको २ बजे आएर ३ बजे जान्छु भन्दा शून्य आम्दानीमा यति धेरै खर्च गर्न सकिदैन’, उनले भने ।

प्रहरी कस्टम, कर्मचारी राखेर अहिले आएको एउटा उडानको लागि मात्रै प्राधिकरणले थप खर्च गर्न नसक्ने भएकोले उडान तालिका संशोधन गर्न आग्रह गरेको पनि भुलले बताए ।

प्राधिकरणको आग्रहपछि जजिराले उडान समय तालिका रि सेड्युलअ गर्छु भनेको पनि उनले बताए । अहिले पनि काठमाडौंको तुलनामा एउटा एयरवसको ३२० जहाज भैरहवा र पोखरामा २५ प्रतिशत मात्रै खर्च गरे पुग्छ । काठमाडौं आउने ५ हजार डलर खर्च हुने थियो भने अब भैरहवाबाट उडान गर्दा १२५० डलर मात्रै हुन्छ ।

प्राधिकरणले चार्ज नतिरेको कारण ५ हजार डलर र अन्य प्राधिकरणसहिको खर्च ३ हजार डलर खर्च हुन्थो भने जम्मा १५ सय डलर तिरे पुग्ने हुन्छ । काठमाडौंबाट बाहिर जान कुनै पनि विदेशी वायुसेवाले मानिरहेको छैनन् । कसैले मौसम, कसैले कार्यालय नहुने कसैले आइएलएस नभएको भन्दै उडान गर्न मानेका छैनन् । एउटा वायुसेवाले प्रस्ताव गरेको भए पनि अनुकुल समयमा नभएको प्राधिकरणको भनाइ छ ।

त्रिभुवन विमानस्थलको ट्याक्सी वे मर्मतको तयारी भएकोले आगामी कात्तिकबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने ४० प्रतिशत उडान अनिवार्य कटौती गर्नुपर्ने र त्यसको विकल्पमा पोखरा र भैरहवामा उडान गर्न प्राधिकरणले सम्बन्धित वायुसेवालाई परिपत्र गरिसकेको छ ।

एकातर्फ पोखरा र भैरहवा विमानस्थल घाटामा रहेको अर्कोतर्फ सरकारले आफैं कमाएर चल्नुपर्ने उड्डयन प्राधिकरण र नेपाल वायुसेवा निगमलाई दिनुपर्ने राहतका विषयमा समेत वेवास्था गरेको छ । सरकारले निर्णय गरेर छुट दिएको भएको भए पनि प्राधिकरणलाई भएको घाटा चाहिँ व्यवहोर्ने व्यवस्था सरकारले गर्नुपर्ने प्राधिकरणका अधिकारी बताउँछन् । यसका लागि सरकारले सोधभर्ना दिने व्यवस्था हुनुपर्ने थियो । प्राधिकरण र निगम आफैंले कमाएर खाने संस्था भएकोले पनि यसको विकल्प नदिँदा एकातर्फ विमानस्थल घाटामा जान्छ भने अर्कोतर्फ सम्बन्धित सेवाप्रदायकलाई घाटा हुन्छ ।

प्राधिकरणले यात्रु सेवा शुल्क चाहिँ लागू गरेर अरु छुट दिन सकिने विषय चाहिँ दिन गरेको प्रस्ताव सरकारले अस्वीकार गरेको थियो । सम्बन्धित विमानस्थलको प्रशासनिक खर्च धान्नको लागि भए पनि सरकारले नै उपयुक्त निर्णय गर्न सक्नुपर्ने भनाइ सम्बन्धित सेवाप्रदायकको छ ।

यस अघि याे वायुसेवाले विहानकै राति उडान गरेकाे थियाे । त्यातिबेला प्राधिकरणले उडान अवतरण शुल्कमा छुट दिएको थियाे भने ग्राउण्ड ह्याडिलङमा छुट पाएकाे थिएन । यात्रु सेवा शुल्कसमेत छुट थिएन् । अहिले भने सरकारले सबै छुट भनेकाे र ग्राउण्ड ह्याडिलङमा जम्मा २५ प्रतिशत मात्रै तिरे पुग्ने निर्णय सरकारले गरेकाे छ । यस अघि रातिकाे उडानलाइ व्यवस्थापन गरेकाे प्राधिकरणले प्रशासनिक खर्च धान्न नसकेपछि यसपटक भने विहानदेखि राति १२ बजे भित्रै उडान गर्न आग्रह गरेको उल्लेख छ।


क्लिकमान्डु