त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ४० प्रतिशत उडान कटौती हुने, पोखरा र भैरहवाबाट उडान अनिवार्य




काठमाडौं । आगामी असोज ११ देखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थबाट हुने ४० प्रतिशत उडान बाहिरी विमानस्थलबाट गर्नुपर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले आइतबार आन्तरिक र अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवा कम्पनीहरुलाई परिपत्र गर्दै काठमाडौं बाहिर ४० प्रतिशत उडान गर्न परिपत्र गरेको हो ।

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार ११ असोज (२७ सेप्टेम्बर)बाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ट्याक्सी वे मर्मतका कारण विमानस्थल राती १० बजेदेखि विहान ८ बजेसम्म बन्द हुने छ । यो समयमा काठमाडौं विमानस्थलबाट हुने कम्पनीमा ३३ प्रतिशत उडान कटौती गर्नुपर्ने भएको छ । त्यसका लागि यो विमानस्थलबाट उडान गर्ने सबै वायुसेवालाई पत्राचार गरेर ४० प्रतिशत उडान रिसेड्युल गर्न अनुरोध गरेको छौं ।

काठमाडौंमा कटौती गर्नुपर्ने उडानमध्ये पोखरा र भैरहवाबाट गर्न आग्रसहित पत्राचार गरेको भुलले बताए । उनले भने ‘उक्त समयमा धावनमार्ग अवरुद्ध हुने भएकोले सञ्चालन समय समेत घट्ने छ । त्यो समयमा काठमाडौंबाट हुन नसक्ने उडानमध्ये कम्तिमा १० प्रतिशत पोखरा र २० प्रतिशत भैरहवाबाट गर्ने गरी उडान व्यवस्थापनको तालिका मिलाउन पनि सम्बन्धित वायुसेवालाई प्राधिकरणले पत्रचार गरेको छ ।

हाल २१ घण्टासम्म सञ्चालन हुने गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान १० घण्टासम्म बन्द गर्नुपर्ने भएको छ । यो भनेको हालको उडान संख्याको ६६ प्रतिशत काठमाडौंबाट हुन सक्छ भने ३३ प्रतिशत बाहिरबाटै गर्नुपर्न हुन्छ ।

धावनमार्ग बन्द हुँदा ४ वटा उडान तालिका भएका वायुसेवाले २ वटा काठमाडौं बाहिरबाटगर्नुर्ने हुन्छ । प्राधिकरणका अनुसार अब ११ असोजदेखि कम्तिमा ५ महिना काठमाडौंबाट हुने उडान अवतरणको लागि सम्बन्धित वायुसेवाले रिसेड्युल गर्नुपर्छ ।

यो अवधिमा काठमाडौंबाट हुने चार्टर र हाल नियमित उडान गरिरहेका वायुसेवाको लागि अतिरिक्त उडानसमेत बन्द हुने छ । प्राधिकरणले काठमाडौं विमानस्थलको चाप घटाउन र पोखरा तथा भैरहवा विमानस्थल सञ्चालन गर्न काठमाडौं बाहिर उडान गराउनैपर्ने बाध्यात्मक अवस्था आएकाेले उडानमा सहजीकरण गर्न खोजेकाे हो । यो बाध्यात्मक उडानसँगै प्राधिकरणले पोखरा र भैरहवाबाट हुने उडानमा शतप्रतिशत छुट दिएर उडान गराएर ती दुबै विमानस्थसमेत सञ्चालन गर्ने रणनीति बनाउने भएको छ ।


क्लिकमान्डु