प्रभुको नाफा १५ गुणा बढी, लाभांश क्षमता ५.२ प्रतिशत



काठमाडौं । प्रभु बैंकको खुद नाफा १५ गुणाले बढेको छ । बैंकले प्रकाशन गरेको अपरिस्कृत वित्तीय विवरणअनुसार बैंकले आर्थिक वर्ष २०८०/८१ मा ४ अर्ब ४८ करोड रुपैयाँ नाफा गरेको हो । यो नाफा अघिल्लो आवमा गरेको २८ करोडभन्दा ४ अर्ब ५२ करोड अर्थात् १५०० प्रतिशत बढी हो ।

बैंकको खुद ब्याज आम्दानीमा बढोत्तरी हुँदा नाफामा सुधार आएको छ । निष्क्रिय कर्जामा गिरावट आउँदा नोक्सानी व्यवस्थाका लागि छुट्याउनुपर्ने रकममा पनि उल्लेख्य कमी आएको छ । फलस्वरुप बैंकको नाफा बढेको हो ।

बैंकले प्रकाशन गरको वित्तीय विवरणअनुसार ब्याज आम्दानी ७.१६ प्रतिशतले बढेर ३२ अर्ब ३ करोड र खुद ब्याज आम्दानी १९.४३ प्रतिशतले वृद्धि भइ १२ अर्ब २ करोड रुपैयाँ कायम भएको छ । यस अवधिमा बैंकले अघिल्लो आव छुट्याएको नोक्सानी व्यवस्थाभन्दा ८९.३१ प्रतिशत कम अर्थात् ५५ करोडमात्र प्रोभिजन थप गरेको छ । बैंकको सञ्चालन नाफा साढे ३ गुणाले बढेर ७ अर्ब ५ करोड पुगेको छ ।

नाफामा भारी वृद्धि हुँदा बैंकको वितरणयोग्य नाफा १ अर्ब २२ करोड रुपैयाँ छ । बैंकको वक्यौता ब्याज ६ करोड रुपैयाँ नियमनकारी कोषमा छुट्याएको छ ।

बैंकले २०८१ असार मसान्तसम्म ३ खर्ब ५ अर्ब १ करोड रुपैयाँ बराबरको निक्षेप परिचालन गरी २ खर्ब २५ अर्ब १९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको चुक्तापुँजी २३ अर्ब ५४ करोड र जगेडा कोषमा ११ अर्ब ६७ करोड छ । रिजर्भको रकम १६.१५ प्रतिशतले बढेको हो ।

गत आवको वित्तीय विवरणअनुसार बैंकको प्रतिसेयर आम्दानी १९.०३ रुपैयाँ, नेटवर्थ १५४.७६ रुपैयाँ र पीई रेसियो ८.६ छ ।

यस अवधिमा प्रभुको निष्क्रिय कर्जा ४.९८ प्रतिशतबाट घटेर ४.७८ प्रतिशत कायम भएको छ । बैंकले गरेको कुल प्रोभिजन निष्क्रिय कर्जाको अनुपातमा १२०.४७ प्रतिशत छ जुन अघिल्लो आवको अन्त्यसम्म १०७.३२ प्रतिशतमात्र थियो । बैंकको निक्षेप कर्जा अनुपात ७४.६६ प्रतिशत रहेको छ ।


क्लिकमान्डु