
काठमाडौं । ‘सगरमाथा संवाद’ मा विश्वका ३ सय ५० भन्दा बढी राष्ट्र प्रमुखहरुलाई निमन्त्रणा गरिने भएको छ ।
सगरमाथा संवाद हुन करिव दुई महिना बढीको समय बाँकी रहँदा आईतवार सरकारले सगरमाथा संवादबारे जानकारी गराएको हो । आगामी वर्ष २०८२ को जेठ २-४ गतेसम्म सगरमाथा संवाद कार्यक्रम हुँदैछ ।
परराष्ट्र मन्त्रालयका सचिव अमृत राईले सगरमाथा संवादमा विभिन्न ३ सय ५० भन्दा बढी देशका सरकार प्रमुखहरुलाई निम्तो पठाइने जानकारी दिए । सरकारले निम्तो पठाइएकामध्ये डेढ सय भन्दा बढी देशका राष्ट्र प्रमुखहरु सहभागी हुने अपेक्षा गरेको उनको भनाइ छ ।
निम्तो दिनका लागि विदेशस्थित नेपाली राजदूतावास र नेपालमा रहेका सम्बन्धित मुलुकका राजदुतावासलाई प्रयोग गरिएको उनको भनाइ छ ।
नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्यालले हिमालको मुद्दाको नेतृत्व नेपालले लिनेगरी सगरमाथा संवादलाई अघि बढाएको बताए। जलवायु परिर्वतनबाट भएको हानी तथा नोक्शानीबारे आवाज उठाइरहेको उनको भनाइ छ ।
वातावरण विनाशको क्षयिकरण नेपालले भोगिरहेको र यसबाट बच्नका लागि विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरुमा समेत आवाज उठाइरहेको भन्दै सगरमाथा संवादलाई प्रभावकारी बनाउने गरी सरकार अघि बढिरहेको उनले बताए । यस वर्षको सगरमाथा संवादमा जलवायु परिवर्तनको मुद्दा राखिएको उनले जानकारी दिए ।
मुख्यसचिव अर्यालले सगरमाथा संवादलाई सरकारले उच्च महत्वका साथ अघि बढाएको बताए । सगरमाथा संवादको पहिलो दिन हिमनदी संरक्षणका विषयमा तत्काल गर्नुपर्ने कामबारे छलफल हुनेछ । पहिलो दिन नै टापुहरूलाई उच्च पहाडी क्षेत्रसँग जोड्नेबारे संवाद हुनेछ ।
खाद्य सुरक्षा तथा कृषि पुनरोत्थान, पहाडी क्षेत्रमा समुदायद्वारा प्रवद्र्धन गरिने क्रियाकलापबारे पनि छलफल गरिनेछ । सगरमाथा संवादको दोस्रो दिन जलवायुजन्य प्रकोपः जोखिम न्युनिकरण र पुनरोत्थानबारे छलफल हुनेछ ।
हिमालको जोखिमका लागि भएका अनुगमन र यसको उपलब्धि, हिमालमा भएका क्षतिलाई न्युनिकरण गर्दा भएका प्रयासबारे छलफल हुने जानकारी दिनुभयो । सगरमाथा संवादको तेस्रो दिन संवादमा सहभागी हुन आएका पाहुनालाई हवाइफ्लाइटमार्फत सगरमाथा क्षेत्र अवलोकन गर्न लगिने कार्यक्रम रहेको जानकारी दिए ।
प्रतिक्रिया