४ बैंकको अनुभव वालेटमा दुरुपयोग, चतुर सत्येन्द्रले सोझा तिमल्सिनालाई यसरी फसाए

सुन तस्करी र हुण्डीको रकम भुक्तानीमा संलग्न पेवेलका सीईओ श्रेष्ठ कर्मचारीलाई भन्थेः राष्ट्र बैंक र कुमारी बैंकमा कुरा भइसकेको छ, भनेको काम खुरुखुरु गर्नु !



काठमाडौं । तस्करी गरिएको सुनको भुक्तानी दुई वालेटमार्फत हुने गरेको निष्कर्ष प्रहरी अनुसन्धानले निकालेसँगै पछिल्लो समय चर्चामा आएका दुई मास्टरमाइन्ड हुन्, सुनिल जाकिबञ्जा र सत्येन्द्र श्रेष्ठ ।

ब्रेकशुमार्फत् ६१ किलो सुन तस्करीबारे दोस्रो चरणको अनुसन्धानका क्रममा पेवेल र सजिलो पे नामक दुई वालेट कम्पनी जोडिएका थिए । त्यसक्रममा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले यी कम्पनीका केही सञ्चालकसहित कर्मचारीलाई पक्राउ गरेपनि यी दुईलाई प्रहरीले समात्न त परै जाओस् उनीहरुको स्थितिबारे पनि अवगत हुन सकेको छैन ।

जाकिबञ्जाले सजिलो पेमा नियुक्त गरेको प्रमुख कार्यकारी अधिकृत काश्यप मानन्धरलाई बाइपास गरी कर्मचारीसँग आफैं रिपोर्टिङ लिने गरेको अनुसन्धानको क्रममा खुलेको छ । सजिलो पेबाट गैरकानुनी काम गराउन चिफ फाइनान्स अफिसर रोशनबाबु मल्ललगायत कर्मचारीको सहयोग लिएको बयान मानन्धरले दिएका छन् ।

तर, सजिलो पेभन्दा बढी रकम अवैध रकम भुक्तानी गर्ने रेमिट्यान्स कम्पनी हो, पेवेल ।

पेवेल नेपालमा अध्यक्ष भिमप्रसाद तिमल्सिनासहित विभिन्न व्यक्तिको लगानी रहेपनि नाफा कमाइदिने भन्दै प्रमुख कार्यकारी अधिकृत सत्येन्द्र श्रेष्ठले हदैसम्मको अवैध काम गरेको अनुसन्धानको क्रममा खुलेको छ । यस्तो कामका निमित्त उनी सकेसम्म सञ्चालक समितिको स्वीकृति लिन्थे, नभए कर्मचारीलाई आफूखुसी नै काम अह्राउँथे ।

सत्येन्द्रले काम गर्न सबैभन्दा बढी विश्वास गर्ने पात्र कम्पनीका चिफ फाइनान्स अफिसर मिलन भनिने मिनकुमार दुलाल थिए । दुलाललाई सत्येन्द्रले आफूबराबर हैसियत दिएका थिए । यतिसम्म कि एजेन्टहरुको लिमिट बढाउने अधिकार सीएफओ मिलनलाई पनि दिएका थिए ।

सत्येन्त्द्रले अवैध काम गरेर कारोबार रकमका हिसाबले देशकै नम्बर वान वालेट कम्पनी बनाएका थिए । पेवेल कारोबार रकमका आधारमा देशकै ठूलो कम्पनी बनिसकेको चर्चा साथी भाइकहाँ गर्थे । यति मात्र होइन, आफ्नो बिजनेस मोडालिटीअनुसार रेमिट्यान्सको कारोबार गरे अर्को कम्पनीलाई पनि नाफा पु¥याइदिने प्रस्ताव समकक्षी अन्य कम्पनीका कर्मचारीसामु पनि गर्थे ।

वालेट बिजनेस गरेर नाफा नै नहुने गरेका बेला पेवेलले नाफा गरेको सुनेर अरु कम्पनी चकित हुन्थे । तर, नाफा कसरी भयो भन्ने रहस्य कोहीसामु खुलेको थिएन ।

जेठ २१ गते नेपाल राष्ट्र बैंकले एकाएक पेवेल र सजिलो पेको सबै बैंक खाता रोक्का गरेपछि यो रहस्य खुल्याे । सीआईबीले खोज्न थालेपछि उनको मोबाइल अफ भयो । पेवेलका अध्यक्ष तिमल्सिना पक्राउ परेको दिन कार्यालयमा मिटिङ गर्न बोलाइए पनि उपस्थित भएनन् ।

त्यसयता सत्येन्द्र फरार छन् ।

सत्येन्द्रलाई नजिकबाट चिन्नेहरु ‘उनको दिमाग भिन्दै तरिकाले चल्थ्यो’ भन्छन् । किनकि उनी ज्यादै चतुर थिए ।

पूर्वाञ्चल विश्वविद्यालयबाट बीएससी गरेका श्रेष्ठले भारतको मणिपाल विश्वविद्यालयबाट एमबीए गरेका हुन् । त्यसपछि उनले सिटिजन्स बैंकमा सहयोगीको रुपमा जागिर प्रवेश गरे । बैंकिङ क्षेत्रमा उनको १२ वर्षको अनुभव छ ।

त्यसक्रममा ५ वर्ष तत्कालीन सेञ्चुरी कमर्सियल बैंकमा काम गरे । त्यहाँ उनी ग्लोबल रेमिट्यान्स प्रमुखका रुपमा रहे । तत्पश्चात जनता बैंकमा रेमिट्यान्स बिजनेस प्रमुखका रुपमा २ वर्ष काम गरे । जनता बैंक ग्लोबल आईएमईमा मर्ज भएपछि उनी पुगे, एनआईसी एशियामा । एनआईसी एशियामा ट्रान्ज्याक्सन बैंकिङ प्रमुख रहेर उनले साढे २ वर्ष काम गरे ।

बैंकिङ जागिरका क्रममा रेमिट्यान्सबारे राम्रै ज्ञान बटुलेर श्रेष्ठले पैसा कमाउने तरिका सिकेका थिए । सोही अनुभव र ज्ञानलाई उनले पेवेलमार्फत् दुरुपयोग गरेका हुन् ।

यतिसम्म कि पैसा कमाएर दिने सपना देखाएर उनले अध्यक्ष भिमप्रसाद तिमल्सिनासमेतलाई कन्भिन्स गराएका थिए । उनी आएपछि पेवेल उनकै मास्टमाइन्डमा सञ्चालन भयो ।

यतिसम्म कि कम्पनीको सञ्चालक समितिको बैठक सत्येन्द्र श्रेष्ठले बोलाएको बेलामा मात्र बस्थ्यो र कर्मचारीले श्रेष्ठको मौखिक निर्देशन र आदेश अनुरूप काम गर्थे ।

पेवेलको सेटलमेन्ट वा प्राइमरी खाता ई–मनी जेनेरेट गर्न खोलिएको थियो भने अन्य बैंकमा रहेका खाता एजेन्टहरूलाई पैसा डिपोजिटमा सहज बनाउन र बैंकहरुसँगको सम्बन्ध राम्रो बनाउन खोलिएको थियो ।

पेवेलले वालेट प्रयोगकर्ता, मर्चेन्ट र एजेन्टहरुका लागी ई–मनी जेनेरेट गर्दा कुमारी बैंकमा रहेको खाता प्रयोग हुन्छ । वालेट प्रयोगकर्ताले कम्पनीको कुमारी बैंकमा रहेको खातामा पैसा पठाएपछि स्वतः ई–मनी जेनेरेट हुन्छ । एजेन्टले भने बैंक खातामा पैसा पठाएर भौचर अपलोड गरेपछि कम्पनीका कर्मचारीले प्रमाणीकरण गरेर ई–मनी पाउँछन् ।

यो काममा प्रवेश हुन्छ, सत्येन्द्रका खास कर्मचारी मिनकुमार दुलाल अर्थात् मिलनको । मिलनले अन्तिम प्रमाणीकरण गरेपछि जम्मा भएको उक्त रकम सेटलमेन्ट खातामा कनेक्ट आईपीएसमार्फत् ट्रान्स्फर गरिन्थ्यो । यसरी सिर्जना भएको ई–मनी एजेन्टको वालेटमा लोड गरिन्थ्यो ।

यसैगरी वालेट प्रयोगकर्ता ग्राहकले पनि पेवेलको खातामा पैसा जम्मा गरेर एजेन्टकहाँ पुगेर ‘क्लेम’ दाबी गर्न पाउँथे । पेवेलको फाइनान्स टिमले प्रमाणीकरण गरेपछि ई–मनी एजेन्टलाई उपलब्ध गराइन्थ्यो भने एजेन्टले सो रकम ग्राहकलाई भुक्तानी गरिदिन्थे ।

एजेन्ट नियुक्तीका लागि दुलालकै नेतृत्वमा एजेन्ट टिम थियो । दुलाले एजेन्ट कम्पनीलाई फोन गरी कम्पनीको सिस्टमबारे जानकारी गराएपछि एजेन्टले आवेदन दिन्थे । र, प्राप्त निवेदनअनुसार दुलालले नै एजेन्ट नियुक्त गर्थे ।

एजेन्ट भएपपछि उनीहरुले युटीलिटी पेमेन्ट, बैंक ट्रान्स्फर र रेमिट्यान्स पेमेन्ट गर्न पाउँथे ।

एजेन्ट र प्रयोगकर्तामात्र होइन, जोकोही जसलार्ई पेवेलको खाता नम्बर थाहा छ, उसले पेवेलको खातामा पैसा जम्मा गरिदिएर एजेन्टकहाँ आफ्नो पैसा दाबी गर्न पाउँथ्यो । पेवेलका कर्मचारीले एजेन्टलाई जस्तोसुकै पैसा पनि स्वीकार्नु भन्ने निर्देशन दिएका थिए । सोहीअनुसार शंकास्पद कारोबारको रिपोर्टिङ गर्नुनपर्ने १० लाख रुपैयाँभन्दा कम रकम बैंकमा जम्मा गर्थे । र, भौचर लगेर एजेन्ट सामु आफ्नो पैसा दाबी गर्थे । एजेन्टले भौचरलाई सिस्टममा अपलोड गरेपछि दुलालले भुक्तानी गरिदिने निर्देशन दिन्थे ।

भौचर अपलोडको सम्पूर्ण कारोबारको रेखदेख गर्ने, भौचर स्वीकार गर्ने वा नगर्ने भन्ने जिम्मेवारी सत्येन्द्रले दुलाललाई सुम्पिएका थिए । दुलाल यससम्बन्धमा सीधै सत्येन्द्रलाई रिपोर्टिङ गर्थे ।

एजेन्ट र एप प्रयोगकर्ता बाहेकका व्यक्तिले पेवेलको खातामा निक्षेप जम्मा गर्न पाउनेबारे सम्पूर्र्ण जानकारी दुलालको टिमलाई हुन्थ्यो । यतिसम्म कि एजेन्ट, ग्राहक र गैरग्राहकलाई कति लिमिट छ भन्नेबारे पनि सत्येन्द्र र मिलनलाई मात्र थाहा हुन्थ्यो ।

यही माध्यमबाट रेमिट्यान्स भन्दै हुण्डी भुक्तानी पनि हुन्थ्यो । पेवेल रेमिट्यान्सको सुपरएजेन्ट भएकाले कम्पनीका एजेन्ट रेमिट्यान्सका एजेन्ट हुन्थे । जसअनुसार भुक्तानी लिन आउन ग्राहकले दिएको कन्ट्रोल पिन अनुसार १ लाख रुपैयाँभन्दा कम भए नगद र बढी भए बैंक खातामा भुक्तानी गरिदिन्थे ।

तर, हुण्डीको भुक्तानीमा यस्तो कन्ट्रोल पिन नहुने भएकाले पेवेल नेपालले पेवेलकै खातामा पठाएको पैसाको भौचर राखेर एजेन्टमार्फत् क्लेम गरिन्थ्यो । यस्ता कारोबारको रिपोर्ट सीएफओ दुलालले बनाउँथे भने एकाउन्टेन्ट सुरज सम्शेर जबराले पठाउँथे ।

जबराले राष्ट्र बैंकमा मर्चेन्ट र ग्राहकको मात्र ई–मनीबारे जानकारी गराउँथे तर एजेन्टको रिपोर्टिङ हुँदैन थियो ।

यो काम सीईओ सत्येन्द्रकै निर्देशनमा हुन्थ्यो । उनी कर्मचारीलाई यसबारे सेटलममेन्ट अकाउन्ट रहेको कुमारी बैंकसँग कुरा भइसकेको र राष्ट्रबैंकलाई पनि एजेन्टको रिपोर्टिङ गर्नु नपर्ने विषयमा कुरा भइसकेको बताउँथे । कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत प्रज्ज्वल आचार्यले रिपोर्टिङबारे सत्येन्द्रलाई पटकपटक प्रश्न गरेपनि सीईओको निर्देशन मान्नुपर्ने हुँदा चुप बस्ने गरेको बयान सीआईबी समक्ष दिएका छन् ।

आचार्यले सत्येन्द्रकै निर्देशनमा दुलालले यी काम गरेको आरोप लगाएका छन् । आचार्यका अनुसार पेवेलबाट एजेन्टको वालेटको लिमिट बढाउन सकिन्छ र लिमिट बढाउन पनि सीईओ सत्येन्द्रकै अनुमति चाहिन्छ ।

प्रज्जवलका अनुसार कुनै पनि एजेन्ट तथा मर्चेन्टले ई–मनी बनाउनुपर्ने बापतको रकम पेवेलको कुनै पनि बैंक खातामा निक्षेप नै नगरेको अवस्थामा उनीहरुलाई ई–मनी जारी गर्न मिल्दैन । लिमिट बढाएर ई–मनी जारी गर्ने काम श्रेष्ठ र दुलालले हेर्थे । एजेन्टले भौचर अपलोड गर्न समस्या भएको बेला लिने सिस्टम एड फन्डकोे दुरुपयोग गरेको आचार्यले बयानका क्रममा बताएका छन् ।

सेटलमेन्ट एकाउन्टमा रहेको रकम भन्दा बढी इ–मनी जारी गरी क्रेडिट लिमिट दिने प्रयोजनको लागि प्रयोग गरिनु गलत रहेको उनको भनाइ छ ।

राष्ट्र बैंकको व्यवस्थाअनुसार एजेन्टमार्फत गरिने वालेट कारोबार सम्बन्धमा भुक्तानी सेवा प्रदायकले सञ्चालन गरेको वालेटमा ग्राहकले सम्बन्धित भुक्तानी सेवा प्रदायकबाट नियुक्त आधिकारिक एजेन्टमार्फत प्रतिदिन अधिकतम २५ हजार रुपैयाँसम्म र प्रतिमहिना अधिकतम १ लाख रुपैयाँसम्म जम्मा गर्न सक्ने तथा ग्राहकले माग गरेको अवस्थामा एजेन्टमार्फत प्रतिमहिना २५ हजारभन्दा बढी नहुने गरी प्रति दिन ५ हजारसम्म नगद प्राप्त गर्न सक्ने व्यवस्था छ ।

यसबारे आचार्यले सत्येन्द्रलाई बताउँदा सत्येन्दैले एजेन्टलाई केही पनि लिमिट नलाग्ने भन्दै यसबारे राष्ट्र बैंकमा समेत बुझेको जवाफ दिएका थिए । त्यसपछि प्रज्ज्वलले केही बोलेनन् ।

सत्येन्द्र अन्य वालेटहरु समेतले भौचरबाट नै रकम भुक्तानी गर्ने गरेको कर्मचारीलाई भन्थे । कर्मचारी पनि सोही अवधारणा अनुसार भौचर कै माध्यमबाट रकम भुक्तानी गर्थे ।

कम्पनीका एकाउन्टेन्ट जबराका अनुसार गैरग्राहकले नगद जम्मा गरेर पैसा दाबी गर्दा यस्तो कारोबारलाई शंकास्पद कारोबार भनी आन्तरिक रुपमा राष्ट्र बैंकलाई रिपोर्टिङ गर्नुपर्ने हो । यस्तो रिपोर्टिङ गर्ने काम दुलालको भएपनि किन नगरेको भन्नेबारे आफूलाई थाहा नभएको बयान दिएका छन् ।

यतिसम्म कि राष्ट्र बैंकमा गर्नुपर्ने रिपोर्टिङको विवरण दुलाल बनाउँथे । अनि १०.१.९ को विवरण खाली राखी पठाउँथे । तर, राष्ट्र बैंकको प्रणालीमा जबरा नै अपलोड गर्थे ।

यस किसिमले सीईओ सत्येन्द्र श्रेष्ठ पेवेलबाट अवैध धन्दा गर्ने गरेको अनुसन्धानका क्रममा खुलेको छ । यस कार्यमार्फत् उनले अध्यक्ष भिमप्रसाद तिमल्सिनासमेतलाई नाफाको प्रलोभन देखाएर फसाएका हुन् ।

तिमल्सिनालाई नजिकबाट चिन्नेहरु उनी ‘सोझो मान्छे’ भएको बताउँछन् । पेवलमा उनको ५ करोड ३९ लाख रुपैयाँ लगानी छ । सत्येन्द्रले कम्पनीलाई नाफामा लगेर पैसा कमादिने प्रलोभन देखाएपछि उनी सोहीअनुसार निर्णय गर्न राजी भएको अनुसन्धानको क्रममा खुलेको छ ।

सञ्चालक समितिको वैठकको एजेन्डा सत्येन्द्र नै बनाउँथे । एजेन्डा पास गराउनुपर्ने छ भनेमात्र सञ्चालक समितिको वैठक बस्थ्यो । बाँकी सबै काममको जिम्मा सत्येन्द्रलाई दिएका थिए तिमल्सिनाले ।

तिमल्सिनाले प्रहरीलाई दिएको बयानअनुसार सत्येन्द्रले पैसा कमाएर दिने भनेर काम गर्ने अनुमति पाएपछि केके गरे भन्नेमा उनी अनभिज्ञ छन् ।

पछिल्लो समय राष्ट्र बैंकले पेवेलका सबै बैंक खाता रोक्का गरेपछि स्पष्टीकरण सोध्न तिमल्सिनाले सत्येन्द्रलाई बोलाएका थिए । तर, उनी स्वास्थ्य अवस्था ठीक नभएको भन्दै आएनन् । तिमल्सिना पक्राउ परेको दिन पनि उनलाई कुरा गर्न बोलाए पनि आउँछु भने तर उपस्थित भएनन् ।

पेवेल वालेट र सजिलो पे प्रकरणले नेपालमा वालेटको आडमा कसरी हुन्डी मौलाउन र सुनलगायत अवैध कारोबारका रकम च्यानलाइज गर्न सहज छ भन्ने एकातिर देखिन्छ भने नियामक निकाय नेपाल राष्ट्र बैंकसँग वालेटहरुलाई नियमन गर्ने दक्ष जनशक्ति तथा अन्य संयन्त्रको पनि आवश्यकता छ भन्ने पनि स्पष्ट गर्दछ ।

आशा छ, यी प्रकरणबाट शिक्षा लिएर राष्ट्र बैंकले वालेट नियमनमा कडाइ गर्नेछ ।


रोविन पौडेल