जाकिबञ्जाले सजिलो पेमा राखेका थिए ‘डमी सीईओ’, कर्मचारीसँग आफैं गर्थे डिल



काठमाडौं । ‘हुन्डी किङ’ भनेर चिनिने सजिलो पेका अध्यक्ष सुनिल जाकिबञ्जाले कम्पनीमा ‘डमी सीईओ’ राखेर काम जति सबै आफैं गर्ने र अरु कर्मचारीलाई पनि आफैं निर्देशन दिने गरेको खुलेको छ । ६ महिनाअघि काश्यप मानन्धरलाई प्रमुख कार्यकारी अधिकृत नियुक्त गरे पनि सक्ने अवैध काम आफैं गर्ने र नसक्ने काम प्रमुख वित्त अधिकृतलाई गर्न लगाउने गरेको पाइएको हो ।

अध्यक्ष सुनिल जाकिबञ्जा सधैं कार्यालय जान्थे । जति पनि निर्णय गर्नुपर्ने विषय लगायतका दैनिक कार्य सबै जाकिबञ्जा नै निर्धारण गर्थे । जाकिबञ्जाको निर्देशनलाई सञ्चालक समितिकाे निर्णय गरेको मानेर कर्मचारीले खुरुखुरु मान्थे ।

काश्यप मानन्धर गत मंसिर १ गतेदेखिमात्र प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्य गर्न नियुक्त भएका थिए । त्यसअघि रश्मिना रञ्जित सीईओ थिइन् । अवैध काम गर्न जाकिबञ्जाले निरन्तर दबाब दिएपछि रञ्जितले जागिर छाेडेकी थिइन् ।

मानन्धरलाई कर्पोरेट बिजनेस बढाउने मुख्य जिम्मेवारी दिइएको थियो । अर्थात्, इकमर्स प्लेटफर्म, कर्पोरेट युटिलिटी पेमेन्ट, एपीआई सेलिङ र क्यूआर सेल्सको काम मानन्धर गर्थे । कम्पनीको आर्थिक पाटो, एजेन्टसँग सम्झौता गर्ने सम्बन्धी सम्पूर्ण काम चिफ फाइनान्स अफिसर (सीएफओ) रोशन बाबु मल्ल र विभागीय प्रमुख प्रविन खत्री, सन्तोष गुरुङ र प्रयास पछाईले हेर्थे ।

यी चारै जना जाकिबञ्जाले जे जे भन्यो सो सो काम मात्र गर्थे । केन्द्रीय अनुसन्धान ब्यूरोका अनुसार जाकिबञ्जाको खल्तीका मान्छे थिए उनीहरु ।

सजिलो पेका २३ कर्मचारीमध्ये खत्री अपरेसन र बिजनेस प्रमुख थिए । फाइनान्स, एकाउन्ट र अनुपालकको सबै काम मल्लले हेर्थे । प्रविन खत्री, सन्तोष गुरुङ र प्रयाश पचाईले खुद्रा व्यवसाय हेर्थे । उनीहरु नै एजेन्ट बनाउने काम गर्थे । भौचर, ई–मनिको स्वीकृत गर्ने काम फाइनान्स र एकाउन्ट शाखामा काम गर्ने कर्मचारीहरूले गर्थे ।

सजिलो पेको सेटलमेन्ट खाता कुमारी बैंकमा भएपनि अरु १६ वटा बैंकमा पनि खाता खोलिएको थियो ।

सजिलो पेले एप युजर, एजेन्ट र मर्चेन्टका लागी ई–मनी जेनेरेट गर्थ्याे । वालेट प्रयोगकर्ताले कम्पनीको सेटलमेन्ट खातामा पैसा पठाएर ई–मनी जेनेरेट गर्न सक्छन् । एजेन्टलाई कसरी लिमिट दिने भन्ने मल्ललाई थाहा थियो । मानन्धरले दिएको बयान अनुसार एजेन्ट बनाउने सम्झौता गर्ने र डिजिटल भुक्तानी गर्ने काम खत्रीको काम थियो ।

जाकिबञ्जाले सजिलो पे बैंक खातामा एप युजर, मर्चेन्ट र ऐजेन्ट बाहेकका व्यक्तिले नगद रकम निक्षेप जस्ता विषय हेर्ने अधिकार सीएफओ मल्ललाई दिएका थिए ।

मानन्धर सीईओ बन्नुअघि रश्मिना रञ्जितले राजिनामा दिएको ६ महिना भइसकेको थियो । राजीनामा दिएपछि उनले आफ्नो जिम्मेवारी मल्ललाई हस्तान्तरण गरेकी थिइन् ।

तर, जाकिबञ्जाले मानन्धरलाई सीईओ नियुक्त गरेपनि रञ्जितले पुरा गर्दै आएको जिम्मेवारी हस्तान्तरण गरेका थिएनन् ।

जाकिबञ्जा सधैं अफिस आउँथे र सबै कर्मचारीसँग आफैं काम कारबाहीको बारेमा अपडेट लिन्थे । मानन्धर ‘डमी सीईओ’ नियुक्त गरिएको अनुसन्धानको क्रममा खुलेको छ । कर्मचारीहरुले सबै रिपोर्टिङ जाकिबञ्जालाई नै गर्थे । मानन्धरलाई थाहै हुँदैनथ्यो । मानन्धर सीईओ हुनुअघि नै ती काम मल्ल, खत्री, गुरुङ, पछाई आदिलाई दिइको थियो ।

राष्ट्र बैंकलाई पठाउने विवरण सनिस श्रेष्ठले तयार गरी मल्लले प्रमाणीकरण गर्थे । सुपरीवेक्षकीय सूचना प्रणालीको रिपोर्टिङ सीईओलाई थाहै नदिइ हुने गरेको थियो ।

जाकिबञ्जाले कम्पनीको सम्पूर्ण शाखाका कर्मचारीहरूसँग प्रत्यक्ष सम्पर्क र सहकार्य गर्ने भएकाले पनि प्रमुख कार्यकारी अधिकृत मानन्धर ‘डमी’ रहेको पुष्टि हुन्छ । खासमा उनलाई सञ्चालक समितिबाट प्रमुख कार्यकारी अधिकृतका रुपमा नियुक्ति गरे तापनि के र कुन काम गर्ने भनी नतोकिएको थिएन । उनको सबै कामको जिम्मेवारी सीएफओ मल्ललाई दिएको अनुसन्धानबाट खुलेको छ ।

जाकिबञ्जाले एजेन्टको सम्बन्धमा सम्पुर्ण अधिकार लेखा शाखालाई दिएका थिए ।

सजिलो पेको सफ्टवेयर भेन्डर सिल्क इन्नोभेसनबाट प्राप्त विवरणअनुसार कम्पनीको कुल २ हजार ४८९ एजेन्टमध्ये १ हजार ४३९ वटा क्रियाशिल छन् । यस्तै ८४७ वटा मर्चेन्टमध्ये ४८४ वटा क्रियाशिल छन् भन २ लाख २५ हजार ९६० ग्राहकमध्ये १ लाख २६ हजार ९६३ मात्र क्रियाशिल छन् ।

प्रहरीले हालसम्म सजिलो पेका सुनिलबाहेक २ सञ्चालक र सीईओ मानन्धरलाई पक्राउ गरेको छ ।

कम्पनीका एक सञ्चालक सुशील जाकिवाञ्जा सुनिलका सहोदर भाइ हुन् । भाइलाई ५ हजार कित्ता सेयर दिन्छु भनी उनको शैक्षिक योग्यताको प्रमाणपत्र लिएका थिए सुनिलले ।

यस्तै अर्का सञ्चालक फुनसुक डाक्पा अथुपछाङ खम्पालाई वालेटमा गज्जब फाइदा छ भन्दै ३० प्रतिशत सेयर हाल्न लगाएका थिए । तर, कारोबार सबै सुनिलले नै गर्थे ।

*हालसम्म कम्पनीमा सुनिलसँग प्रत्यक्ष सम्पर्कमा रहेर जो जसले काम गरेका छन्, उनीहरूमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ । अध्यक्ष जाकिबञ्जासँगै सजिलो पेको सीएफओ रोशनबाबु मल्ल फरार छन् । अनुसन्धानको क्रममा प्रहरीले घटनासँग कम जोडिएका व्यक्तिहरु मात्र पक्राउ परेको खुलेको छ ।

ब्रेकशुमार्फत् ६१ किलो सुन तस्करी भएको घटनाको दोस्रो चरणको अनुसन्धानमा वालेट कम्पनीहरु सजिलो पे र पेवेल जोडिएका हुन् । सजिलो पेबाट हुने कारोबार सबै सुनिल जाकिवाञ्जा र उनका भरिया कर्मचारीबाट हुने गरेको खुलेको छ । यस्तै पेवेलबाट हुने कारोबारमा कम्पनीको सीईओ सत्येन्द्र श्रेष्ठ र मिलन भनिने मिन कुमार दुलालको प्रत्यक्ष संलग्नता रहेको खुलेको छ ।

अनुसन्धानको क्रममा प्राप्त भएको बयानको आधारमा प्रहरी सुनिल जाकिवाञ्जा र सत्येन्द्र नै नाइके रहेको देखिएको छ ।

*सच्याइएको


रोविन पौडेल