तरलताको छताछुल्ल स्थिति कम हुँदै, ब्याजदर बढ्ने पक्का



काठमाडौं । बैंकिङ क्षेत्रमा अत्यधिक मात्रामा रहेको तरतला कम हुन थालेको छ । १ वर्षदेखि अधिक मात्रामा रहेको तरलता अहिले कम हुन थालेको हो ।

नेपाल राष्ट्र बैंकले तरलताको मात्रा हेरी आवश्यक मात्रामा प्रशोचन तथा प्रवाह गर्न खुला बजार कारोबार गर्ने गर्छ । जसअनुसार अधिक तरलता खिच्न स्थायी निक्षेप सुविधा र नियमित निक्षेप संकलन गर्ने गर्छ । तर, पछिल्लो समय यस्तो प्रक्रियामा बैंकहरुको सहभागिता घटेको कारण बजारमा अधिक तरलता कम हुँदै भएको देख्न सकिन्छ ।

असोजमा राष्ट्र बैंकले परिस्थिति हेरि ३ पल्ट नियमित निक्षेप संकलन गर्ने गरी बोलकबोल आह्वान गरेको छ । कुल ७५ अर्ब रुपैयाँ निक्षेप संकलनका निमित्त आह्वान गरेको भए पनि बैंकहरुले ४० अर्ब १० करोड रुपैयाँ बराबर राख्ने इच्छा व्यक्त गरे । र राष्ट्र बैंकले पनि उनीहरुले कबोल बराबर नै निक्षेप संकलन गरी तरलता खिच्यो ।

त्यसअछि भदौ ३१ गते पनि केन्द्रीय बैंकले ५० अर्ब रुपैयाँको निक्षेप संकलन गर्न कबोल माग गरेकामा २७ अर्ब १५ करोडको मात्र कबोल परेको थियो ।

राष्ट्र बैंकले आह्वान गरेको आधा पनि आवेदन नपर्नुले अधिक तरलताको मात्रा घटेको बुझिन्छ ।

नियमित निक्षेप संकलन मात्र होइन,अन्तर बैंक ब्याजदरलाई ३ प्रतिशत भन्दा तल जान नदिन राष्ट्र बैंकले प्रदान गर्ने गरेको स्थायी निक्षेप सुविधा लिने क्रम पनि ह्वात्तै घटेको छ । भदौसम्म बैंकहरुले हरेक दिन डेढ खर्ब रुपैयाँभन्दा बढीको स्थायी निक्षेप सुविधा लिने गर्थे । तर असोज लागेपछि दैनिक ४० अर्बभन्दा कममा झरेको छ ।

भदौ ३१ गते बैंकहरुले साढे ६६ अर्बको स्थायी निक्षेप सुविधा लिएकामा ४ गते साढे ४७ अर्ब, ६ गते ३४ अर्ब ३५ करोड, ८ गते ३६ अर्ब ३० करोड, १० गते ४१ अर्ब ७० करोड र १३ गते ४६ अर्ब ९० करोड रुपैयाँको सुविधा लिएका छन् ।

यता असोज १३ को तथ्य अनुसार बैंकिङ प्रणालीमा ७८ अर्ब रुपैयाँ अधिक तरलता छ ।

कर्जा प्रवाह गर्न नेपाल राष्ट्र बैंकले गरेको सहजीकरणले प्रणालीमा तरलता कम हुन थालेको देखिन्छ । तरलता घट्दै गएको प्रमाण स्थायी निक्षेप सुविधा (एसडीएफ) लिने क्रममा कमी र बोलकबोलबाट निक्षेप संकलन गर्दा पर्ने कबोलको परिमाणले दिन्छ ।

आर्थिक वर्ष २०८१/८२ सुरु हुँदा एसडीएफमा बैंकहरुले दिन बिराएर करिब पौन ४ खर्ब रुपैयाँसम्म राख्ने गरेका थिए । यसैगरी बोलकबोलमार्फत् निक्षेप संकलन गर्दा बैंकहरुले राष्ट्र बैंकले माग गरे भन्दा दोब्बरसम्मको कबोल गर्ने गरेकामा अहिले आधामा झरेको छ ।

केन्द्रीय बैंकले ब्याजदर कोरिडोरको तल्लो सीमा ३ प्रतिशतभन्दा तल जान नदिने हेतुले एसडीएफ सुविधा दिने गरेको छ । अन्तर बैंक कारोबार निकै तल जाँदा बैंकको ब्याजदर पनि घट्ने भएकाले ब्याजदरलाई बान्छित सीमाभित्र राख्न केन्द्रीय बैंकले यस्तो सुविधा दिन थालेको हो ।

यो सुविधाले बैंकहरुलाई अन्तर बैंक कारोबार गर्नुभन्दा राष्ट्र बैंकमा पैसा राख्न प्रोत्साहन गर्दछ । एसडीएफमा पैसा राख्दा राष्ट्र बैंकले ३ प्रतिशत ब्याज दिन्छ । तसर्थ, सो दरभन्दा कममा अन्तरबैंक कारोबार गर्न बैंकहरुलाई निरुत्साहन गर्दछ ।

यसैगरी एडीएफमा राखेको रकम भन्दा थप अधिक तरलता रहेको खण्डमा बैंकहरुले राष्ट्र बैंकले आह्वान गरेअनुसार बोलकबोलमा निक्षेप राख्छन् । यसरी बोलकबोलमा निक्षेप संकलन गर्दा ब्याजदर बोलकबोलकै माध्यमबाट निर्धारण हुन्छ।

राष्ट्र बैंकका अनुसार भदौ ५ यता अन्तर बैंक ब्याजदर ३ प्रतिशत कायम छ ।

पछिल्लो सेयर बजार र अटो कर्जा बढ्दा तरलता घट्न थालेको हो । गत आवको अन्त्यसम्म पनि स्पेस रहेर पनि कर्जा प्रवाह गर्ने क्षमता नभएका कारण बैंकमा अत्यधिक मात्रामा तरलता थुप्रिएको थियो ।

राष्ट्र बैंककाअनुसार असार मसान्तमा बैंकहरुको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ७९.३७ प्रतिशत थियो । यसैगरी प्राथमिक पुँजी अनुपात १०.१० प्रतिशत रहेका कारण धेरै बैंकहरु सँग अत्यधिक दरमा कर्जा प्रवाह गर्ने क्षमता थिएन ।

अहिले सीडी रेसियो ७८.८० प्रतिशत छ । तर, स्थायी निक्षेप सुविधा र नियमित निक्षेपमा उनीहरुको सहभागिताले बैंकमा यो अनुपात घट्ने संकेत गर्दछ ।

केन्द्रिय बैंकले मौद्रिक नीतिमार्फत् कर्जा वृद्धिको उपायस्वरुप विभिन्न उपाय अबलम्बन गरेपछि पछिल्लो समय कर्जाको प्रवाह बढेको छ ।

बैंकमा तरलताको उपलब्धता छताछुल्लको स्थितिबाट टाइट हुँदै गर्दा ब्याजदर बढ्नेछ । राष्ट्र बैंकले दिने एसडीएफ र निक्षेपको बोलकबोलमा बैंकहरुको सहभागिता कम भए उनीहरु ३ प्रतिशतभन्दा बढीमा अन्तर बैंक कारोबार गर्नेछन् । साथै तरलता कम भए पछि उनीहरुले निक्षेपको ब्याजदर बढाएर सर्वसाधारणबाट बढी निक्षेप आकर्षित गर्नेछन् । यसरी कोषको लागत महँगिदा कर्जाको ब्याजदर पनि बढ्न थाल्नेछ ।

घट्दै गएको तरलताको मात्राले तत्कालै ब्याजदर नबढाउने भए पनि १–२ महिनापछि ब्याजदर बढ्ने अनुमान लगाउन सकिन्छ।

ब्याजदर बढ्ने अनुमान बैंकहरुले ब्याजदर घटाउन नदेखाएको सक्रियताले पनि इंगित गर्दछ । असोजका लागि १० वटा वाणिज्य बैंकले मात्र ब्याजदर घटाएर नयाँ दर प्रकाशन गरेका थिए । भदौको लागि ब्याजदर प्रकाशन गर्दा १२ बैंकले अघिल्लो महिनाको तुलनामा ब्याजदर घटाएका थिए ।


क्लिकमान्डु