दशैंमा हवाई यात्रुको चाप: भैरहवा र पोखरामा न्यारोबडी उडाउन निगम र हिमालय एयरलाइन्स तयार



काठमाडौं । भरहवास्थित गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले न्यारोबडी जहाजबाट उडान भर्न सकारात्मक भएका छन् ।

शुक्रबार पर्यटनमन्त्री बद्री पाण्डेसँग मन्त्रालयमा छलफल गर्दै सरकारी स्वामित्वको नेपाल वायुसेवा निगम र निजी क्षेत्रको हिमालय एयरलाइन्सले दुई विमानस्थलमा न्यारोबडी उडानका लागि सकारात्मक भएको बताएका हुन् ।

केही दिनको लगातारको वर्षापछि सडकमार्ग अवरुद्ध हुँदा हवाई क्षेत्रमा यात्रुको चाप छ । यात्रुको चाप हुँदा नेपाल नागरिक उड्डयन प्राधिकरणले रात्रिकालिन विमानस्थलमा राति १२ बजेसम्म र विहान ४ बजेबाट नै सञ्चालन गर्ने निर्णय गरेको छ । तर पनि विमानस्थलमा यात्रुको चाप उच्च छ भने काठमाडौं बाहिरिने यात्रुले विमानको टिकट पाउन सकेका छैनन् । देशको पश्चिमी भेगतिर जाने यात्रुले टिकट नपाएको गुनासो छ ।

दशैंको टीका अघिसम्म अधिकांश एयरलाइन्सहरुको टिकट बुक भइसकेको अवस्थामा सडकहरु अवरुद्ध भएपछि बाहिरिन चाहनेहरुले विमानको टिकट पाउन नसक्ने अवस्था बनेपछि मन्त्री पाण्डेले ठूला विमान उडाउन पहल गरेका हुन् ।
न्यारोबडीमा करिब १८० यात्रुले एकै पटक यात्रा गर्न मिल्छ ।

‘दुबै विमान कम्पनी न्यारोबडी उडानका लागि तयार छन्,’ स्रोतले भन्यो, ‘यात्रु तयार छन् भने उडानमा केही समस्या नभएको निगम र हिमालयको भनाइ छ ।’

प्राधिकरणले तोकेको भाडादरमा उडान भर्न दुई कम्पनीले मन्त्रीसँग प्रतिवद्धता जनाएका छन् ।

मन्त्री पाण्डेले पोखरा र भैरहवामा उडान भर्न प्रस्ताव गरेका थिए । दुबै कम्पनीका प्रतिनिधिले दुबै विमानस्थलमा उडान भर्न तयार रहेको बताए पनि पोखरा भन्दा उनीहरुको चासो भैरहवामा बढी भएको स्रोतको भनाइ छ ।


क्लिकमान्डु