८ महिनामा सरकारले उठायो ६ खर्ब ६१ अर्ब रुपैयाँ कर, संशोधित लक्ष्य अनुसार पनि राजस्व नउठ्ने निश्चित



काठमाडौं । चालु आर्थिक वर्षको ८ महिनामा सरकारले ६ खर्ब ६१ अर्ब राजस्व संकलन गरेको छ । गत वर्ष सोही अवधिमा ६ खर्ब १७ अर्ब रुपैयाँ राजस्व संकलन भएको थियो । 

सरकाले चालु आर्थिक वर्षको ८ महिना समाप्त हुँदा लक्ष्यको ४१ प्रतिशत मात्रै राजस्व संकलन गर्दा फागुन मसान्तसम्म गत वर्ष भन्दा ७.१३ प्रतिशत बढी राजस्व संकलन गरेको छ । 

महालेखा नियन्त्रण कार्यालयको तथ्यांक अनुसार सरकारले चालु आर्थिक वर्षको ८ महिनामा कर राजस्वबाट ५ खर्ब ७८ अर्ब रुपैयाँ र गैर कर राजस्वबाट ६० अर्ब ३७ करोड रुपैयाँ र अन्य प्राप्तिबाट संकलन गरेको छ । गत वर्ष सोही अवधिका कर राजस्वबाट ५ खर्ब १८ करोड रुपैयाँ, गैर कर राजस्वबाट ५६ अर्ब ८ करोड रुपैयाँ र अन्य प्राप्तिबाट ३५ अर्ब २० करोड रुपैयाँ संकलन भएको थियो । 

लक्ष्य अनुसार राजस्व संकलन गर्न नसकेको सरकारले चालु आर्थिक वर्षको ८ महिनामा ८ खर्ब १ अर्ब रुपैयाँ खर्च गरेको छ । जुन गत वर्षको सोही अवधि भन्दा २२ अर्ब रुपैयाँ बढी हो । गत वर्ष फागुन मसान्तसम्म ७ अर्ब ७९ करोड रुपैयाँ खर्च भएको थियो ।

महालेखा नियन्त्रण कार्यालयको तथ्यांक अनुसार यो वर्ष फागुन मसान्त सम्म चालु तर्फ ५ खर्ब ८२ अर्ब रुपैयाँ खर्च गरेको सरकारले पुँजीगत तर्फ ८१ अर्ब २१ करोड रुपैयाँ र वित्तीय व्यवस्थापन तर्फ १ अर्ब ३८ अर्ब रुपैयाँ खर्च भएको छ । 

गत वर्ष फागुन मसान्तसम्म चालु तर्फ ६ खर्ब ८ करोड रुपैयाँ, पुँजीगत तर्फ ८४ अर्ब २५ करोड रुपैयाँ र वित्तीय व्यवस्थापन तर्फ ८६ अर्ब १२ करोड रुपैयाँ खर्च भएको थियो ।

चालु आर्थिक वर्षमा सरकारले १७ खर्ब ५१ अर्ब रुपैयाँको बजेट ल्याउँदा चालु तर्फ ११ अर्ब ४१ करोड रुपैयाँ, पुँजीगत तर्फ ३ खर्ब २ अर्ब रुपैयाँ तथा वित्तीय व्यवस्थापन तर्फ ३ खर्ब ७ अर्ब रुपैयाँ विनियोजन गरेको थियो ।

फागुन मसान्तसम्म भएको आम्दानी र खर्च हेर्दा सरकारले संशोधित अनुमान अनुमान अनुसार पनि राजस्व संकलन गर्ने र बजेट खर्च गर्ने सम्भावना देखिँदैन । 

बजेटको अर्धवार्षिक समीक्षा मार्फत अर्थ मन्त्रालयले चालु आर्थिक वर्षमा १५ खर्ब ३० अर्ब ६२ करोड रुपैयाँ मात्रै खर्च हुने संशोधित अनुमान सार्वजनिक गरेको छ । जसमध्ये पुँजीगततर्फ ३ खर्ब २ अर्ब ७ करोड विनियोजन गरिएकोमा ८४ दशमलव १३ प्रतिशत मात्रै खर्च हुने, चालुतर्फ ११ खर्ब ४१ अर्ब ७८ करोड विनियोजन भएकोमा ८८ दशमलव ८४ प्रतिशत मात्रै खर्च हुने र वित्तीय व्यवस्थापनतर्फ ३ खर्ब ७ अर्ब ४५ करोड विनियोजन गरिएकोमा त्यसको ८७ दशमलव ३९ प्रतिशत मात्र खर्च हुने अर्थ मन्त्रालयको अनुमान छ । फागुन सम्म भएको खर्चको आधारमा संशोधित अनुमान अनुसार पनि लक्ष्य पुरा नहुने अर्थ मन्त्रालयका अधिकारीहरू बताउँछन् ।

यस्तै, सरकारले संशोधित अनुमान अनुसार राजस्व संकलन गर्ने सम्भावना पनि छैन ।  

सरकारले चालु आर्थिक वर्षमा १४ खर्ब २२ अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य निर्धारण गरेको थियो । तर, लक्ष्य अनुसार राजस्व संकलन नहुँदा यो वर्ष १२ खर्ब २ अर्ब रुपैयाँ मात्रै राजस्व संकलन हुने संशोधित लक्ष्य तय गरिएको छ । 

संशोधित लक्ष्य अनुसार राजस्व उठाउन पनि सरकारले आगामी ४ महिनामा ५ खर्ब ४१ अर्ब रुपैयाँ राजस्व संकलन हुनु पर्छ । गत वर्ष चैतदेखि असार मसान्तसम्म सरकारले ३ खर्ब ९३ अर्ब रुपैयाँ राजस्व संकलन गरेको थियो ।

संशोधित लक्ष्य पुरा गर्न आगामी ४ महिनामा गत वर्षभन्दा ३८ प्रतिशत बढी राजस्व संकलन हुनु पर्छ । 

यदि फागुन मसान्तसम्म अनुसार राजस्व संकलन भएमा चालु आर्थिक वर्षमा ११ खर्ब भन्दा कम राजस्व उठ्ने देखिन्छ ।


क्लिकमान्डु