विदेशी कम्पनीलाई एकै वर्ष नाफासहित २० अर्ब लैजान प्रस्ताव, सूर्य नेपालबाट मात्रै ६ अर्ब



काठमाडौं । गत आर्थिक वर्षमा विभिन्न २३ वटा देशबाट ५४ अर्ब १५ करोड रुपैयाँ वैदेशिक लगानी प्रतिबद्धता जनाइएको थिए । कुनै पनि देशका नागरिकले नेपालमा विभिन्न क्षेत्रमा लगानी गर्न चाहेमा सरकारले तोकेको प्रक्रिया पूरा गरेको अवस्था विदेशी लगानी भित्र्याउन सकिने व्यवस्था रहेको छ ।

नेपालमा विश्वका विभिन्न देशबाट हरेक वर्ष अर्बौं रुपैयाँको लगानी प्रतिबद्धता जनाइने गरे पनि प्रतिबद्धताअनुसार भने लगानी भित्रिन नसकेको सरकारी तथ्याङ्कले देखाउँछ ।

उद्योग विभागकाअनुसार विदेशी लगानी प्रतिबद्धता जनाइएअनुसार नआएपछि गत कात्तिकमा विदेशी भीसामा कडाइ गरिएको छ । उक्त व्यवस्था कार्यान्वयनमा आएसँगै प्रतिबद्धता जनाइएको रकम भित्रिने अपेक्षा सरकारको छ ।

नेपालमा लामो समयदेखि वैदेशिक लगानी भित्रिए पनि उद्योगहरुबाट विदेशीले कति रकम बाहिर लगे भन्ने यकिन तथ्याङ्क छैन।

विभागका विदेशी लगानी शाखा तथा प्रविधि हस्तान्तरण शाखा निर्देशक शंकरसिंह धामी विभागमा विदेशी लगानीकर्ताले रोयल्टी र लाभांशबापत कति लगे भन्ने यकिन तथ्याङ्क नभएको स्वीकार गर्छन् । नेपालमा विदेशी लगानी भित्रिएको धेरै समय भइसके पनि सुरुवाती समयदेखिको तथ्यांक नभएको धामी बताउँछन् ।

तर, केही वर्षयता भने विदेशी लगानीकर्ताले उद्योग स्थापना गरि कति रिप्याट्रेशन फिर्ता लगे भन्ने विवरण केही वर्षयता राख्न थालिएको छ ।

गत एक आर्थिक वर्षमा मात्रै प्रतिबद्धताअनुसार लगानी भित्र्याएका विभिन्न कम्पनीले रोयल्टी र लाभांश गरी ठूलो रकम विदेश लैजान विभागसमक्ष प्रस्ताव गरेका छन् ।

नेपालमा गत वर्ष ५४ अर्ब रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आउँदा नेपालबाट विदेशी कम्पनीहरुले रोयल्टी र लाभांश गरी १९ अर्ब ९५ करोड ७४ लाख ५७ हजार रुपैयाँ फिर्ता लैजान प्रस्ताव गरेका छन् ।

विदेशी कम्पनीले रोयल्टीमार्फत् ६ अर्ब ५ करोड ९७ लाख ५६ हजार रुपैयाँ फिर्ता लैजान अनुमति मागेका छन् । जसमा ४ अर्ब ६७ करोड ३६ लाख २१ हजार नेपाली रुपैयाँ, २२ लाख १३ हजार अमेरिकी डलर (आजको विनिमयदरअनुसार नेपाली रुपैयाँ २९ करोड २८ लाख ९७ हजार रुपैयाँ), ५८ करोड ५८ लाख ५२ हजार भारतीय रुपैयाँ (९३ करोड ७३ लाख ६३ हजार नेपाली रुपैयाँ) र १७ लाख ४२ हजार ५८४ अष्ट्रेलियन डलर (१५ करोड ५८ लाख ७४ हजार रुपैयाँ) रहेको छ ।

त्यसैगरी, नेपालमा लगानी रहेको विभिन्न कम्पनीको नाफाबाट विदेशीले १३ अर्ब ८९ करोड ७७ लाख रुपैयाँ लाभांश लैजान विभागसमक्ष प्रस्ताव गरेका छन् । उक्त रकम हेर्दा प्रतिबद्धताको करिब ५० प्रतिशतभन्दा बढी रकम बाहिरिने गरेको पाइन्छ।

निर्देशक धामी नेपालमा वैदेशिक लगानीको तुलनामा नेपालबाट बाहिरिने रकम बढी हुने गरेको बताउँछन् ।

नाफा कमाउन थालेको विदेशी लगानीका कम्पनीहरुले भने वार्षिक अर्बौं रुपैयाँ लैजाने गरेको उनको भनाइ छ । ‘समग्रमा नेपालमा वैदेशिक लगानी भित्रिनेभन्दा बाहिरिने रकम धेरै देखिन्छ,’ उनले भने, ‘वैदेशिक लगानीबाट नेपालले कम मात्रै प्रतिफल पाइरहेको छ ।’ साथै, विदेशी लगानीले जुन तरिकाले नेपालको अर्थतन्त्रमा योगदान दिनुपर्ने हो सोअनुसार योगदान नदेखिएको उनको भनाइ छ ।

सूर्य नेपालबाट मात्रै ६ अर्ब लैजान प्रस्ताव, अन्य कम्पनीले कति ?

नेपालबाट गत वर्ष विभिन्न कम्पनीमा सेयर भएका विदेशी लगानीकर्ताले करिब १४ अर्ब रुपैयाँ नाफावापत लाभांश फिर्ता लैजान अनुमति पाएका छन् । त्यसमध्ये सूर्य नेपाल कम्पनीलाई सबैभन्दा बढी रकम लैजान प्रस्ताव गरेका छन् ।

नेपालमा सन् १९८६ देखि सुर्तीजन्य वस्तु, अगरवत्ती र चकलेटजस्ता वस्तु उत्पादन गरी नेपाली बजारमा बिक्री वितरण गर्दै आएको कम्पनीमा आईटीसी इन्डियन लिमिटेडको ५९ प्रतिशत र २ प्रतिशत हिस्सा ब्रिटिश अमेरिकन टोब्याको लिमिटेडको छ । त्यसबाहेक बाँकी ३९ प्रतिशत मात्रै नेपाली लगानीकर्ताको स्वामित्व छ ।

कम्पनीले सूर्य नेपाल ब्रान्डमा विभिन्न प्रकारका सुर्तीजन्य वस्तु उत्पादन गरी बिक्री वितरण गर्दै आएको छ । वार्षिक २५ अर्ब रुपैयाँको हाराहारीमा व्यापार गरेको कम्पनीबाट गत वर्ष विदेशी लगानीकर्ताले नै लाभांशबाट मात्रै ५ अर्ब ६८ करोड ५० लाख रुपैयाँ लैजान अनुमति मागेकाे छ । त्यसमध्ये ५९ प्रतिशत सेयर रहेको आइसीटी इन्डियालले ५ अर्ब ५० करोड ७० लाख रुपैयाँ र २ प्रतिशत सेयर रहेको अमेरिक टोब्याकोले १७ करोड ८० लाख रुपैयाँ लाभांश लैजान विभागसमक्ष प्रस्ताव गरेका छन्।

साथै, यो वर्षको मंसिरसम्ममा मात्रै सूर्य नेपाल कम्पनीले गरेको आम्दानीबाट कमाएको नाफासहित ६ अर्ब २ करोड ५० लाख रुपैयाँ लैजान उनीहरुले विभागसमक्ष प्रस्ताव गरेका छन् । त्यसमा आईसीटी इन्डियाले ५ अर्ब ८२ करोड ९० लाख रुपैयाँ लाभांश लैजान प्रस्ताव गरेको छ । अमेरिकन टोब्याको कम्पनीले भने १६ करोड ४० लाख रुपैयाँ रकम फिर्ता लैजान प्रस्ताव गरेकाे छ।

त्यसैगरी, एनसेल कम्पनीबाट पनि ठूलो रकम लाभांश लैजान विभागसमक्ष प्रस्ताव भएको छ । सन् २०२१ मा ४० अर्ब ४२ करोड रुपैयाँ, सन् २०२० मा ४६ अर्ब ८७ करोड रुपैयाँ र सन् २०१९ मा ५५ अर्ब ३९ करोड ८० लाख रुपैयाँ आम्दानी गरेको कम्पनीमा रिन्योल्ड होल्डिङ लिमिटेड अफ वेस्ट इन्डिजको लगानी छ ।

एनसेलमा ८० प्रतिशत लगानी नै विदेशी कम्पनीको छ भने बाँकी २० प्रतिशत सुनिभेरा क्यापिटल कम्पनी भेन्चर प्रालि लिमिटेडको छ । ८० प्रतिशत विदेशी लगानी रहेको एनसेलबाट रिन्योल्ड होल्डिङले ४ अर्ब ७७ करोड ७० लाख रुपैयाँ लाभांश लैजान प्रस्ताव पेस गरेका छन् ।

साथै, यो वर्षको मंसिरसम्ममा भने एनसेलले ३ अर्ब ६५ करोड ४० लाख रुपैयाँ लाभांश फिर्ता लैजान प्रस्ताव गरेका छन् ।

त्यस्तै, नेपाल डिस्टिलरीमा ८० प्रतिशत स्वामित्व रहेको सिंगापुरको एमसीकेटी कम्पनीले गत वर्ष २१ करोड ३० लाख रुपैयाँ रकम लाभांश नेपालबाट फिर्ता लैजान प्रस्ताव गरेको छ ।

त्यसैगरी, भारतीय कम्पनी वरुण वेभरेजको आधिकारिक बिक्रेता रहेको वरुण वेभरेज नेपालबाट भारतीय कम्पनीले गत वर्ष नाफावापत ४६ करोड १० लाख रुपैयाँ फिर्ता लैजान विभागसमक्ष प्रस्ताव गरेको छ ।।

गोर्खा ब्रुअरीमा लगानी रहेका विदेशी कम्पनीले भने गत वर्ष १ अर्ब ७२ करोड १० लाख रुपैयाँ लाभांश लैजान अनुमति माग गरेको छ । त्यसबाहेक अन्य कम्पनीमा अर्घाखाँची सिमेन्ट, हुवाईको आधिकारिक बिक्रेताको काम गर्दै आएको कम्पनीले गरेको आम्दानीबाट ठूलो रकममा लाभांश फिर्ता लैजान प्रस्ताव गरेका छन् ।

त्यस्तै, चालु आर्थिक वर्षको ७ महिनाको अवधिमा मात्रै १३ अर्ब १७ करोड १७ लाख ७० हजार विदेशी लगानीकर्ताले लाभांश फिर्ता लैजान विभागसमक्ष प्रस्ताव गरेका छन् ।

यसरी विदेशी लगानी रहेका कम्पनीहरुले लाभांश र रोयल्टी फिर्ता लैजान विभागसमक्ष गरेको प्रस्तावलाई स्वीकृत गरि राष्ट्र बैंकसमक्ष पठाउनु पर्ने व्यवस्था छ ।


अरिष्मा मोक्तान